एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

Read Time = 5 mins

म्याड्रिड । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले पुनरागमन जित निकाल्दा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-२ गोलले हरायो । सेभियाले सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एट्लेटिकोले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो । एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गर्नुभयो । भ्यालेन्सियाका युुनुस मुसाह र हृयुगो डुरोले गोल गर्नुभएको थियो ।

खेलमा सुरुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो । २५औँ मिनेटमा युनुस मुसाहले गोन्कालो गुइडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाउनुभयो । ४४औँ मिनेटमा हृयुगो डुरोले टोनी लाटोको पासमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

दोस्रो हाफपछि खेलमा फर्किएको एट्लेटिकोले ६४औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । म्याथिअस कुन्हाले यान्निक कारास्कोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एन्जल कोरेआले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउनुभयो । लगत्तै मारियो हर्माेसोले म्याथिअस कुन्हाको पासमा गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाउनुभयो ।

घरेलु मैदानमा ६५ प्रतिशत बल पोसेसनमा राख्दै भ्यालेन्सियालाई कडा दबाब दिएको एट्लेटिकोलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा २-० ले पछि परेको एट्लेटिकोले अन्तिममा जित निकालेरै छाड्यो ।

एट्लेटिकोका एन्जल कोरेआ ‘म्यान अफ दि म्याच’ हुनुभयो । जितसँगै २१ खेलबाट ३६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा यथावत् छ । पराजित भ्यालेन्सिया २९ अंकसहित नवौँ स्थानमा छ ।

यसैगरी अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभियालाई उसैको मैदानमा रोक्न सेल्टा भिगोका फ्रान्को सर्वीले ३७औँ र इगो आसपासले ४०औँ मिनेटमा गोल गर्नुभयो । पहिलो हाफमै दुई गोलले पछि परेको सेभियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

७१औँ मिनेटमा पुपु गोमेजले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ओलिभर टोरेसले ७४औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि थप गोल नहुँदा सेभिया अंक बाँड्न बाध्य भयो । बराबरीसँगै दोस्रो स्थानमा यथावत् रहेको सेभियाको २२ खेलबाट ४६ अंक छ । सेभिया शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा तीन अंकले पछाडि छ ।

एक खेल कम खेलेको रियलको ४९ अंक छ । सेभियालाई रोकेको सेल्टा भिगो २७ अंकसहित ११औँ स्थानमा छ । ला लिगाकै अन्य खेलमा भिल्लारियलले मालोर्कालाई ३–० र काडिजले लिभान्तेलाई २–० गोलले पराजित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?