महिलालाई एक्लै हिँड्दा सुरक्षित राख्ने प्रविधि

Read Time = 3 mins

काठमाडौं । विशेष गरी महिलाहरू अँध्यारोमा एक्लै हिँड्न खोज्दैनन् । आफू असुरक्षित भएको महसुस गर्ने भएकाले कोही साथीसँग हिँड्न रुचाउँछन् । यस्तोमा महिलाको सुरक्षालाई लक्षित गरेर बेलायतमा बनेको ‘वाकसेफ’ नामक एप निकै लोकप्रिय बनेको छ । बेलायतमा दुई महिलाको हत्याकाण्डपछि लोकप्रिय बनेको यो एपको प्रयोग बढ्दो छ ।

कम्पनीकी संस्थापक एम्मा केइ हिंसामा परेपछि एपको अवधारणासहित आउनुभएको हो । स्मार्टवाचमा मुटुको धड्कन नाप्ने एप (हार्टविट) फिचरबाट प्रभावित भएर ‘वाकसेफ’ बनाएको उहाँले बताउनुभएको छ । 

उहाँले भन्नुभएको छ, ‘यदि स्मार्टवाचले मुटुको धड्कन जाँच्न मिल्छ भने अप्रत्यासित घटना घट्दाको मानसिक अवस्थितिलाई मापन गर्ने एप बनाउन पनि त सम्भव छ भन्ने लाग्यो ।’

आगामी वर्ष नयाँ फिचरसहित ‘स्याट–नाभ’ आउनेछ, जसअन्तर्गत आफ्नो परिवार र साथीले ‘लाइभ म्याप’ ट्र्याक गर्न मिल्नेछ । यो एप पृथक् यसकारण पनि छ कि यसमा यात्रा गर्नुअघि रुटको क्राइम रेटलाई हेरेर सुरक्षित बाटो छान्न सकिन्छ । यो एपको प्रयोग बढाउनका लागि उहाँहरूले अन्य प्लेटफर्ममा जोड्ने प्रयत्न गरिरहेको केइले बताउनुभएको छ । 

अहिले बेलायतमा मात्र उपलब्ध यो एप गत मार्चयता पाँच लाख ६० हजार पटक डाउनलोड भइसकेको छ । स्मार्टफोनका लागि ‘बिसेफ’ एप बनाएका संस्थापक रिच लार्सन आफूले प्रयोग गरेको प्रविधिले आपराधिक गतिविधिहरू कम गर्न मद्दत गर्ने विश्वास गर्नुहुन्छ । उहाँले बनाएको एपमा अडियो एक्टिभेट भएको अलार्म फिचर छ, जसले घटनाको अडियो र भिडिओ रेकर्डिङ प्रयोगकर्ताले छानेको व्यक्तिसम्म जान्छ । जुन घटनाको बलियो प्रमाण बन्न सक्छ । उहाँले यो एप आफ्नी छोरी हिंसामा परेपछि सुरू गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?