नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम : अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक, १५ देशमा देखियो

Read Time = 17 mins

काठमाडौं । दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम नेपालमा पनि देखिएको छ । तीव्र गतिमा विश्वभर संक्रमण फैलिनु र नेपाल भारत खुल्ला सिमानाका कारण नेपालमा जोखिम देखिएको हो । अहिले दैनिक औसतमा डेढ सयदेखि दुईसयसम्म कोरोना संक्रमति फेला परिरहेको नेपालमा नयाँ भेरियन्ट आए समस्या थपिने स्वास्थ्य विज्ञहरू बताउँछन् । विश्वभरि संक्रमणको गति बढिरहेका बेला संक्रणमको जोखिम नियन्त्रणका लागि पूर्व–तयारी सरकारले सुरु गरेको छ । 

विगतमा कोरोना नियन्त्रणका लागि निर्माण भएका पूर्वाधारको भरपरेको सरकारले स्थलमार्ग र हवाईमार्ग भएर आउने नागरिकहरूबाट हुन सक्ने जोखिम हुन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरू दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशका सँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरूलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो । कूटनीतिक र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो । अध्यागमन विभागले समेत आफू मातहतका कार्यालयहरूलाई मन्त्रालयको निर्देशनको परिपत्र गरिसकेको छ । 

प्रवक्ता पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनुभएको छ । उहाँले नेपालमा कोरोना संक्रमण कायमै रहेकाले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरूलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरूलाई निर्देशन दिइसकेको बताउनुभयो । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकी अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकाले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनुभयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनुभयो ।

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’को बारेमा सिसिएमसीमा पनि छलफल भइरहेको बताउनुभयो । उहाँले नेपाल भित्रिने नाकाहरूमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पु¥याउन निर्देशन दिएको बताउनुभयो । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले थप चुनौती बढेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ ।

खुल्ला सिमाना र राजनीतिक दलहरूका महाधिवेशन भइरहेकाले संक्रमण थप सक्रिय हुनसक्ने चिन्ता पनि बढेको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई अनिवार्य क्वारन्टिनमा राख्ने निर्णय गरेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले दक्षिण अफ्रिकी देशहरूसँग नेपालको सिधा उडान नभए पनि त्यो क्षेत्र भएर आउने वा ट्रान्जिट भएर आउनेलाई एकहप्ता क्वारेन्टिन बस्नैपर्ने नियम बनाइएको बताउनुहुन्छ । 

सरकारी तयारी फितलो भएकाले संक्रमण जोखिमपूर्ण हुन सक्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहिसक्नुभएका प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम नयाँ भेरियन्टले विगतको भन्दा जोखिमपूर्ण अवस्था ल्याउन सक्ने चेतावनी दिनुहुन्छ । यो भेरियन्टलाई रोक्ने अवस्था नभएको गौतमको भनाइ छ । गौतमले भारतमा यो भेरियन्ट फेलापरेपछि नेपालमा पनि आउने र थप जोखिम हुने बताउनुहुन्छ । दक्षिण अफ्रिकाका विभिन्न देशहरूमा देखिएको यो भाइरसलाई रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको गौतमको भनाइ छ । 

स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘दक्षिणी अफ्रिकन देशहरूमा देखिएको कोभिड नयाँ भेरियन्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको छ । यो भारत छिरेपछि नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुको कुनै विकल्प छैन, आफू बचौँ र अरूलाइ पनि बचाऔँ ।’

दक्षिण अफ्रिकामा नोभेम्बरमा पुष्टि भएको नयाँ भेरियन्ट ओमिक्रोन अर्थात् (बी.१.१.५२९) तीव्र रूपमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले आग्रह गरेको छ । उसले भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरिसकेको छ । 

कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १५ मुलुकमा फैलिएको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १५ मुलुकमा फैलिएको डब्लुएचओले जनाएको छ । ओमिक्रोन भेरियन्ट फेला परेका देशहरूमा दक्षिण अफ्रिका, बोत्सवना, बेल्जियम, हङकङ, इजरेल, युनाइटेड किङडम (युके), नेदरल्यान्ड, जर्मनी, चेक रिपब्लिक, अष्ट्रिया, डेनमार्क, अष्ट्रेलिया, इटाली, क्यानडा र फ्रान्स रहेका छन् ।

नयाँ भेरियन्ट भन्दैमा तर्सिनु हुँदैन, सतर्कता भने अपनाउनुपर्छ : डा. पुन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन नयाँ भेरियन्ट देखियो भन्दैमा तर्सिन नहुने बताउनुहुन्छ । म्युटेसन स्वाभाविक र प्राकृतिक हुने भएकाले नतर्सिन आग्रह गर्दै उहाँले सतर्कता भने अपनाउनुपर्ने बताउनुभयो । अहिले देखिएको भेरियन्ट विगतको भन्दा संक्रामक हुनसक्ने बताइएकाले स्वास्थ्य मापदण्डहरू पालना गर्नमा कडाइ गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘संक्रमण देखिरहेकोमा नयाँ आयातित र स्वयम् स्थानीय खालको म्युटेसन भएर आउने सक्ने सम्भावनालाई पनि मध्यनजर गर्नपर्ने हुन्छ । नयाँ भेरियन्ट देखियो भन्दैमा तर्सिने गरी नसोचौँ । म्युटेसन स्वाभाविक र प्राकृतिक हो । तर, यो अलि संक्रामक हुन सक्ने बताइएको छ । हामी अहिले धेरै हुलमुलमा बसिरहेका छौँ । मास्क लगाइएन भने त सहज रूपमा छिटोछिटो फैलिन सक्छ भाइरस ।’

संक्रमण फैलिनुमा आम मानिसमा नै सबै कुरा भरपर्ने भएकाले सचेत रहनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फैलिने कुरा हामीमा नै भरपर्ने हो । मास्क लगाउने, दूरी कायम गर्ने, साबुन पानीले हात धुन नछोडौँ । नआत्तिऔँ तर सजग हुनैपर्छ ।’

विभिन्न देशमा उच्च सतर्कता

कोरोनाको नयाँ भेरियन्ट फेला परेपछि विभिन्न देशमा उच्च सतर्कता अपनाइएको छ । अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो । संकटकाल लागू गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ । उता, न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको छ । लकडाउनका समयमा पसलहरू बन्द रहने न्युजिल्याण्ड सरकारले जनाएको छ ।

यता, दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स यात्रा गरेका यात्रुहरूमध्ये ६१ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि नेदरल्याण्ड्सको विमानस्थल नजिकको होटलमा क्वारेन्टिनमा राखिएको छ । दक्षिण अफ्रिकाबाट दुईवटा विमानस्थलबाट उडान भरेका ६ सय यात्रुमध्ये ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले पनि आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुको स्वास्थ्य परीक्षण गर्दा पहिलोपटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथवेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जिनोमिक परीक्षण उक्त संक्रमण भेटिएको जनाएका छन् ।

त्यस्तै, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बेलायतमा पनि फेला परेको छ । बेलायतमा दुईजनामा नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएको बेलायती स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिंगममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गर्नुभएको हो । नयाँ भेरियन्टको कोरोना महामारी फैलन सक्ने भन्दै बेलायतले यसअघि नै ६ वटा मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको थियो ।

यस्तै, एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राखेको छ । रेडलिष्टअन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्नेछ । बेलायतबाहेक बेल्जियममा पनि यो भाइरस देखिन थालेपछि यात्रामा थप कडाइ गर्न थालिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलन गरेर मुलुकबाट बेलायत आउने सबैलाई अबदेखि पिसिआर टेष्ट अनिवार्य हुने घोषणा गर्नुभएको छ । जसअनुसार बेलायत भित्रिएको दोस्रो दिनमा अनिवार्य रूपमा पिसिआर टेष्ट गर्नुपर्नेछ भने उक्त टेष्टमा नेगेटिभ नतिजा नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ ‘भेरियन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको हो ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाई सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभयो । भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरूको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?