कोरोनाले आर्थिक असमानता उत्कर्षमा

Read Time = 13 mins

कोरोनाले विगत दुई वर्षदेखि विश्वभरि आफ्नो साम्राज्य फैलाइरहेको छ । यसको साम्राज्यले विश्वलाई तहसनहस बनाइरहेको छ । यो महामारीले मानव स्वास्थ्यलाई मात्र होइन विश्व अर्थतन्त्रलाई समेत डामाडोल बनाएको छ । जसका कारण आर्थिक असमानताको खाडल झन् डरलाग्दो देखिन पुगेको छ । यो संकटको समयमा विश्वका १० धनाड्यले भने सन् २०२० मार्चदेखि २०२१ नोभेम्बरसम्म आफ्नो कूल सम्पत्ति दोब्बर पुर्‍याएको ‘इनइक्वालिटीकिल्स’ प्रतिवेदनमा उल्लेख छ । 

यो संकटको समयमा दक्षिण अफ्रिकामा जन्मिएका, अधिकांश समय क्यानाडामा बिताएका, प्रविधिको उद्यमीका रूपमा जिप टु र एक्स डट कम जस्ता कम्पनीमा सफलता प्राप्त गरेका अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने र अन्तरिक्षयान निर्माण गर्ने कम्पनी स्पेस एक्स तथा कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्क २६८ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् । मस्कको सम्पत्ति महामारीको बीचमा १ हजार प्रतिशतभन्दा बढीले बढेको छ ।

कोरानाबाट विश्वका धनाढ्य झन् धनी बनेका छन् भने विपन्न झन् चरम गरिबीमा धकेलिएका छन् । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील परोपकारी संस्था अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार सबैभन्दा गरिबको न्यूनआय भएकै कारण प्रतिदिन २१ हजार जनाले ज्यान गुमाउनुपरेको छ । तर विश्वका १० धनाड्यको सम्पत्ति ७ सय अर्ब अमेरिकी डलरबाट १५ खर्ब डलरसम्म पुगेको छ । यसबाट विश्वमै असमानता बढेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

दिनभर काम गरेर साँझबिहानको छाक टार्नुपर्ने वर्ग कोभिड लकडाउन कामविहीन भयो । आर्थिक गतिविधि ठप्प हुँदा भएको रोजगारी गुमाउनु पर्‍यो । कोभिडबाट बच्न मास्कलगायत स्वास्थ्य सामग्रीमा थप ब्ययभार गर्नुपर्ने भयो । लैंगिक हिंसा र भोकमारी व्यहोर्नु पर्‍यो । चरम आर्थिक अभाव र भोकमरीका कारण सन्तानलाई पेटभरी खान दिन सकेनन् । राज्यले गरिब नागरिकलाई पर्याप्त राहत दिन सकेन । गरिबलाई झन्झन् गरिब बनायो, विश्वव्यापी कोभिडले ।

अक्सफामले उद्धृत गरेको फोब्र्सको तथ्यांकअनुसार महामारीमा सम्पत्ति दोब्बर बनाएको भनी उल्लेख गरेका व्यक्तिमा इलोन मस्क, जेफ वेजोस, वर्नाल्ड अरनाल्ट एण्ड फेमिली, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेन, सरजीब्रिन, मार्क जुकरवर्ग, स्टिमब्लामर र वारेन बफेट छन् । अक्सफामका अनुसार विश्वको ९९ प्रतिशत जनसंख्या लकडाउनले झन् नाजुक अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार र पर्यटनको क्षेत्रमा कमीले विश्वको १६ करोड झन् गरिबीतर्फ धकेलिएको छ । लकडाउनले धेरैले रोजगारी गुमाएका छन्, हातमुख जोर्ने ससाना व्यापार र व्यवसाय ठप्प छन् । 

महामारीले अल्पविकसित मुलुकलाई राष्ट्रिय ऋण बढ्दै जाँदा सामाजिक खर्च घटाउन बाध्य पारिरहेको छ । लैंगिक असमानता उत्कर्षमा पुर्‍याएको छ । सन् २०१९ को तुलनामा अहिले १ करोड ३० लाख कम महिला काममा छन् । अझ डरलाग्दो तथ्यांक के छ भने २ करोडभन्दा बढी किशोरी कहिल्यै विद्यालय नफर्किने जोखिममा छन् । यतिमात्र होइन जातीय अल्पसंख्यक समूहहरू महामारीबाट सबैभन्दा बढी प्रभावित छन् । जसमा बेलायत, बंगलादेश र अमेरिकाका काला वर्णका जनसंख्या समावेश छन् ।

भाइरस संक्रमण बढेसँगै विश्वका केन्द्रीय बैंकले आर्थिक वृद्धिलाई जीवित राख्न अर्थतन्त्रमा ९ विलियन डलर रकम हालिसकेका छन् । यसमध्ये अधिकांश रकम वित्तीय बजारमा गएको छ र त्यहाँबाट अन्ततः त्यो रकम विश्वका ठूला धनाड्यहरूको सम्पत्तिमा गएर थपिएको छ । एलन मस्कको सम्पत्ति १ हजार प्रतिशतभन्दा बढीले बढेको छ । गेट्सको सम्पत्ति ३० प्रतिशतले बढेको जनाइएको छ । अक्सफामले घतलाग्दो कुरा के गरेको छ भने आर्थिक असमानता बढ्नुमा कोरानामात्रै जिम्मेवार छैन वर्तमान विश्वव्यापी पुँजीवादी अर्थव्यवस्था बढी जिम्मेवार छ । कोराना नहुँदा आर्थिक असमानताको खाडल हिजो बढेकै थियो तर अहिले महामारीको कारणले थप बढ्न गएको मात्र हो । पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थाले धनाड्यलाई थप धन आर्जन गर्न सक्षम बनाएको छ भने करोडौं मानिसको जीवन नरकतुल्य यही व्यवस्थाले गराएको छ । अब यस व्यवस्थाको विकल्प खोज्नुपर्दैन ? भनी प्रश्नवाचक चिहृन खडा गरेको छ ।

अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीशकन्दराजाले धनी र गरिबबीचको खाडललाई केही न्यूनीकरण गर्न केही सुझाबहरू दिएका छन् । उनी भन्छन्, ‘नयाँ सम्पत्ति कर लगाएर अर्बपतिले कमाएको लाभलाई फिर्ता लिनुपर्छ । त्यस्ता रकमलाई स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, जलवायु परिवर्तन अनुकूल र लैगिक हिंसा रोकथाम कार्यक्रममा खर्च गर्नुपर्छ । महिला जातीय र अन्य उत्पीडित समूहलाई सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । धनी राष्ट्रका सरकारहरूले महामारीको अन्त्यका लागि थप देशलाई सुरक्षित र प्रभावकारी खोपहरू उत्पादन अनुमति दिन कोरोना खोपमाथिको बौद्धिक सम्पत्ति अधकिार तुरुन्तै खारेज गर्नुपर्छ ।’

हरेक वर्ष स्विजरल्याण्डको डाभोस शहरमा जनवरी २१ देखि २४ तारिखसम्म विश्व आर्थिक मञ्चको बैठक हुनेगर्दछ । धनी राष्ट्रका सरकार प्रमुख बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि हरेक वर्ष त्यहाँ भेला हुने गर्छन् तर त्यहाँ असमानता घटाउने बारे छलफल हुँदैन । यिनीहरू अझै कसरी स्रोतसाधन आफ्ना पक्षमा पार्न सकिन्छ भन्नेबारे मन्थन गर्छन् । अझ स्पष्ट भन्नुपर्दा उनीहरूको प्रयास विश्वमा व्याप्त असमानताको खाडल अझै कसरी बढाउन सकिन्छ भन्नेमा केन्द्रित हुन्छ ।

प्रकृतिले विश्वका मानव जातिका लागि जल, जंगल, जमिन, पूर्णरूपमा निःशुल्क उपहार दिएको थियो । तर, आज निश्चित मानिसले आफ्नो कब्जामा लिई त्यसको भरपुर उपयोग गरेका छन् । आज राष्ट्र राष्ट्रबीचमात्र होइन, एउटै देशमा नागरिकबीच असमानताको खाडल चरम उत्कर्षमा छ । यसो हुनुको प्रमुख कारण धनी मानिसहरू नै राज्यको सत्ता सञ्चालन तहमा पुग्नु र यिनीहरूले नै मुलुकको स्रोतसाधन विनियोजन र उपयोगसम्बन्धी नीति निर्माण आफ्नो हितअनुकूल हुनेगरी लागू गर्ने देखिन्छ । अनि ठूलो संख्यामा रहने बाँकी जनताको भागमा भने दयामुखी र रहलपहल स्रोतमात्र पर्ने गर्छन् ।

आज विश्वमा धनी र गरिबबीचको खाडल बढ्नुमा लोकतान्त्रिक शासनभित्रको पुँजीवादी अर्थव्यस्था हो । यो असमानताको बढ्दो खाडल पुर्न यो व्यवस्थाबाट सम्भव छैन किनभने पुँजीवादले खुलाव्यापार नीतिको समर्थन गर्दछ । यस नीतिमा जसले जति जसरी कमाउन सक्छ । राज्यले खासै त्यसमा अंकुश लगाउन मिल्दैन । जब निश्चित मान्छेहरू अझै आराम र मोजमस्तीमा बस्छन् बाँकी ठूलो हिस्साले गरिबी, बेरोजगारी, भोकै मर्नु पर्ने अवस्था आउँछ । तब थोरै मानिसको हित रक्षाका लागि स्थापना गरिएको यो पुँजीवादी राज्यव्यवस्था टिक्दैन अर्थात् जनता आफैंले यो व्यवस्था फ्याक्नेछन् । एकातिर लोकतान्त्रिक शासनको दायरा फराकिलो बन्दैगएको छ भने, अर्कोतिर धेरैले उत्कृष्ट अर्थात् अब्बल मानेको लोकतन्त्रमा असमानता तीव्र गतिमा बढ्दो छ । यो असमानताले लोकतन्त्रको महत्वपूर्ण गुण राजनीतिक स्वतन्त्रतालाई बेइमान बनाइरहेको छ । लोकतन्त्र राजनीतिक व्यवस्थामात्र नभएर यसलाई जीवन पद्धतिको रूपमा पनि लिइएको छ तर यो लोकतन्त्र फगत वाक र पे्रसमात्र नभएर सम्पत्ति थुपार्न पाउने स्वतन्त्रतामा सीमित भएको छ । कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झैँ विश्वमै लोकतन्त्रले गरिब, निमुखा तथा सर्वसाधारण जनतालाई खासै छुन सकेन । 

त्यही भएर होला दार्शनिक भोल्तेयरले भनेका थिए : ‘यो सत्य हो कि स्वतन्त्रताले तिम्रो पेट भर्न सक्दैन, न त लोकतन्त्रको ऊर्जाबाट तिम्रो कलकारखाना चल्न सक्छन् । तर सँगसँगै निरंकुशताको कालकोठरीमा कुनै राजनीतिक बन्दीले बत्ती बाल्न सक्दैन ।’ यो भनाइ विश्वकै धेरै गरिब अर्थात् विकासशील राष्ट्रहरू त्यसमा पनि अहिले हाम्रो मुलुकको सन्दर्भमा बढी सान्दर्भिक हुन आउँछ । (खरेल अर्थ राजनीतिक विश्लेषक हुनुहुन्छ ।) 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?