स्याउको बिमा गरेका एक हजार बढी किसानले पाए क्षतिपूर्ति

Read Time = 2 mins

विजय रावत

जुम्ला । स्याउको बिमा गरेका जुम्लाका एक हजार ४२० जना किसानले दाबी भुक्तानी पाएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मौसमी सूचकांकमा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका एक हजार ४२० जना किसानलाई दुई करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो ।

जिल्लाका आठवटा स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिइएको हो । कर्णालीका अन्य जिल्लाका दुई हजार ४८ जना किसानले दाबी भुक्तानी पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इन्चार्ज पाण्डेले बताउनुभयो । कर्णालीमा यो वर्ष चार करोड ४७ लाख रकम दाबी भुक्तानी दिइएको शिखर बिमा कम्पनीले जनाएको छ । मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् ।

एउटा बिरुवाको ४२ रुपैयाँमा बिमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको शिखर बिमा कम्पनी जुम्लाले जनाएको छ । फागुनदेखि चैत १५ सम्म किसानले बिमा गराइसक्नुपर्ने हुन्छ । मौसमी स्याउको बिमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति दिने गरेको शिखर बिमा कम्पनी जुम्लाले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?