आज फागु पर्व मनाइँदै

Read Time = 6 mins

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरूमा फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदैछ । यस वर्ष पहाडी तथा हिमाली जिल्लामा ३ चैत (बिहीबार) र तराईका जिल्लामा ४ चैत (शुक्रबार) मा होली  मनाउन लागिएको हो । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्षअघिसम्म उपत्यकामा अभद्र रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।

नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । विगत दुई वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण सार्वजनिक स्थलमा होली मनाउन रोक लगाइएको थियो भने यो वर्ष सजगताका साथ होली मनाउन अनुरोध गरिएको छ ।

त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रहृलादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान् विष्णुको प्रतापले प्रहृलादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ ।

हिन्दूहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रंगहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागु पूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् बताउँछन् । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चीर विशेष रूपले सजाएको लिंगो गाडेपछि फागु सुरु भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । यस्तै, फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग (लग)लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुनःमन्दिरको पाटीमा राखिने परम्परा छ ।

फागुमा प्रयोग गरिने रङको आ-आफ्नै महत्वपूर्ण रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, दलका प्रमुख नेतासहित विभिन्न नेताहरूले शुभकामना दिएका छन् ।

उपत्यकामा एक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व मनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो । महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

यता, जिल्ला प्रशासन कार्यालयले पनि होली फागु पूर्णिमा लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरीत रङ नदल्न आग्रह गरिएको छ । होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उच्छृंखल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो ।

सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?