चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण : कति सफल, कति असफल ?

Read Time = 13 mins

डिबी शर्मा
काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार स्वदेश फर्किनुभएको छ । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आउनुभएको थियो ।

भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व-प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेग्लाबेग्लै भेट्नुभएको थियो । चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा बिआरआइ (एण्ड रोड इनिसियटिभ)बारे कुनै प्रगति हुने अपेक्षा थियो । तर, सरकारी तवरबाट यसबारे कुनै समझदारी हुन सकेन ।

बिआरआईबारे ओली-प्रचण्डको चासो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिआरआईबारे चासो राख्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा उहाँहरूले बिआरआईबारे चासो राख्नुभएको हो । बिआरआई अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन ओली र प्रचण्डले अनुरोध गर्नुभएको छ ।

प्रचण्डले नेपालको आर्थिक र सामाजिक विकासका ती आयोजना महत्वपूर्ण मानिएको बताउनुभयो । उहाँले आयोजना अगाडि बढ्दा सकारात्मक प्रभाव पर्ने भएकाले पहल गरिदिन चीनसँग आग्रह गर्नुभयो । त्यस्तै, कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रूपमा सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरिएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभएको उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले पनि बिआरआईबारे चासो राख्नुभयो । एण्ड रोड इनिसियटिभ अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन ओलीले आग्रह गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको शिष्टाचार भेटमा अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको हो । एमाले नेता राजन भट्टराईका अनुसार भेटवार्तामा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रूपमा फर्कने वातावरण बनाइदिन पनि आग्रह गरिएको छ ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले पनि चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो ।

करिब ५० मिनेट भएको भेटमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरू खोल्न, कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरूले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिडको नियन्त्रणका लागि सहयोगको निरन्तरताका विषय उठाउनुभएको थियो । जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सबै विषयलाई सकारात्मक रूपमा लिएको र समाधानका लागि प्रयास जारी रहने जानकारी गराउनुभएको थियो ।

बिआरआईबारे कुनै प्रगति हुने अपेक्षा थिएन : डा. केसी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितलगत्तै भएको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई विशेष चासोका साथ हेरिएको थियो । ती चासो र चिन्तालाई वाङ यीको भ्रमणले चिरेको राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसीको भनाइ छ । वाङको भ्रमण सफल भएको उहाँले बताउनुभयो । वाङको भ्रमण पराम्परागत भएको उहाँको टिप्पणी छ । ‘नौ बुँदे समझदारीमा हस्ताक्षर भयो । त्यसमा आपत्ति मान्नुपर्ने केही कुरा छैन,’ उहाँले भन्नुभयो, ‘यो भ्रमण पूर्व–योजनाअनुसार नै भएको मान्न सकिन्छ । गृहकार्य पनि भएको जस्तो देखिन्छ । भ्रमणअघि एजेण्डाबारे प्रष्ट नपारिएकाले एमसिसीबारे केही चासो हो कि भन्ने थियो । ती चासो र चिन्ता भ्रमणपछि हटेका छन् । भ्रमण परम्परागत नै भएको मान्न सकिन्छ ।’

भ्रमणमा बिआरआईबारे कुनै छलफल नहनुलाई पनि उहाँले स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो । ‘बिआरआईबारे कुनै प्रगति हुने कुरा थिएन । यी एमसिसीवादी हुन्,’ उहाँले भन्नुभयो, ‘यिनले बिआरआईबारे केही गर्ने कुरै थिएन । तर, वामपन्थी भनिएकाहरूले पनि चासो देखाएनन् । यसमा चिन्ता गर्नुपर्ने कुरा छैन ।’

चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न सकेन : डा. झा

नेपाल-चीन सम्बन्धका जानकार डा. राजीव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताउनुभएको छ । चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको उहाँको भनाइ छ । बिआरआई सम्बन्धीका कुनै पनि योजनाहरू नपर्नु अनौठो भएको उहाँले बताउनुभयो । यसले नेपाल पक्षले बिआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि उहाँले बताउनुभयो ।

‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन । नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन,’ उहाँले भन्नुभयो, ‘द्विपक्षीय वार्ता भयो, त्यसमा विभिन्न सम्झौताहरू हस्ताक्षर गर्ने कुराहरू थिए । त्यसमा बिआरआई सम्बन्धीका योजनाहरू एउटा पनि परेको देखिएन । यो अचम्मको कुरा भयो । नेपाली पक्षले तयार नगरेको पनि देखियो । गर्न नचाहेको हो कि जस्तो पनि देखियो । नेपालले यो भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन ।’

भ्रमणमार्फत चीनले दिन खोजेको सन्देश

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सम्पन्न भएसँगै भ्रमणलाई लिएर विभिन्न बुझाइहरू सार्वजनिक हुने क्रममा छन् । भ्रमणअघि विभिन्न अड्कलाबाजीहरू भए पनि भ्रमणपछि चीनले दिन खोजको सन्देश प्रष्ट भएका छन् । यस्ता सन्देशमा अन्तर्राष्ट्रिय परिदृश्य र आन्तरिक परिस्थिति जस्तोसुकै भए पनि चीनले नेपालप्रतिको मित्रवत नीतिलाई निरन्तरता दिनेछ भन्ने रहेको छ ।

यस्तै, नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्रीले केही दिनअघिको तीक्ततालाई बिर्संदै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पारस्परिक हित हुने सहयोगलाई बढावा दिने र चीन–नेपाल समुदायको निर्माणलाई अगाडि बढाउने कुरामा जोड दिनुभयो । त्यसैगरी, वाङले नेपाललाई आफ्नो राष्ट्रिय परिस्थितिअनुरूप विकासमा सहयोग गर्ने भन्नुभयो । उहाँले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘चीनको सहयोग नेपाली जनताप्रति केन्द्रित हुनेछ ।’

यस्तै, नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा सघाउन चीन इच्छुक रहेको उहाँले बताउनुभएको छ । त्यस्तै, अर्को महŒवपूर्ण के छ भने चीनले जहिले पनि साना वा ठूला सबै राष्ट्रको समान सम्मान गर्ने र सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई सधैँ सम्मान गर्नेछ । ‘नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक खेल खेल्ने प्रयासको विरोध गर्छ,’ चिनियाँ विदेशमन्त्री वाङले स्पष्ट शब्दमा भन्नुभएको छ ।

यस्तै, उहाँले भेटवार्ताहरूमा सांस्कृतिक आदानप्रदान, हिमालयलाई दुई देशबीचको मैत्रीपूर्ण सहयोगको बन्धन बनाउन ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?