विभाजनको संघारमा ‘विप्लव’ नेतृत्वको नेकपा

Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजनको संघारमा पुगेको छ । स्थानीय तहको निर्वाचनबारे मतान्तर हुँदा पार्टी विभाजनको संघारमा पुगेको हो । निर्वाचनबारे नेताहरूबीचको मतान्तर बढ्दै गएपछि निर्वाचन पक्षधर र विपक्षीहरू छुट्टिने तयारीमा लागेका हुन् । महासचिव विप्लवले बुधबार दुईजना सचिवालय सदस्यलाई जिम्मेवारीमुक्त गरेपछि नयाँ पार्टी गठन गर्ने तयारीमा इतर समूह लागेको हो । विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धमेन्द्र बास्तोला ‘कन्चन’ले गुटगत र अराजक गतिविधि गरेको भन्दै पदमुक्त गर्नुभएको छ । दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं । तर, विभिन्न तत्वहरूको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको बितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि उहाँहरू निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधानअनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’

केन्द्रीय समिति बैठकबाट चुलिएको थियो विवाद
गत वर्ष सरकारसँग चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेसँगै पार्टीमा विवाद उत्पन्न भएको थियो । उक्त विवाद गत चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा छताछुल्ल भयो । केन्द्रीय समिटी बैठकमा महासचिव विप्लवले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेपछि मतान्तर चुलिएको थियो । बैठकले विप्लवकोे प्रस्ताव अस्वीकृत ग¥यो । विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए सचिवालय सदस्य कञ्चन र सुदर्शन । नेताद्वयलाई बहुमत केन्द्रीय सदस्यलेसमेत साथ दिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए । विप्लवलाई साथ दिनेमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका केही नेता मात्रै थिए ।

तर, चुनावबारे भने दोधारे नीति लियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसिसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो । चुनाव नलड्ने नीतिविपरीत विभिन्न ठाउँमा पार्टीका केन्द्रीय सदस्य नै उम्मेदवार बनेपछि विवाद थप बढेको थियो । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाउनुभएको थियो । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको थियो ।

विप्लव-प्रकाण्डले पार्टी डुबाउनुभयो भन्दैमा डुब्न दिने कुरा हुँदैन : बास्तोला
नेकपा सचिवालय सदस्य सचिवालय धर्मेन्द्र बास्तोलाले पार्टीलाई डुब्न नदिने बताउनुभएको छ । महासचिव विप्लवले जिम्मेवारी मुक्त गरेपछि सचिवालय सदस्य बास्तोलाले आफूहरू पार्टी बचाउने अभियानमा रहेको बताउनुभयो । अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्ने उहाँको भनाइ छ । ‘यसबारे छलफल गरेर निष्कर्षमा पुग्छौँ । उहाँहरू (विप्लव–प्रकाण्ड)ले पार्टी डुबाउनुभयो भन्दैमा डुब्न दिने कुरा हुँदैन,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘सकेसम्म पहिलाझैं पनि पार्टीलाई एक ढिक्का बनाएरै लैजानुपर्छ भन्ने हाम्रो भनाइ हो । सुधारेर लैजाने भन्ने नै हो । अब हामी छलफल गर्छौँ । केही न केही त गर्नुपर्छ ।’

महासचिव र प्रवक्ता केन्द्रीय समिति बैठकको निर्णयविपरीत जाँदा अहिलेको समस्या आएको उहाँले जिकिर गर्नुभयो । ‘पार्टीको निर्णय चुनावमा भाग नलिने र पार्टी दर्ता पनि नगर्ने भन्ने नै हो । चुनावका लागि महासचिव र प्रवक्ता आफैँ दौडादौड गरेपछि यस्तोे स्थिति पैदा भयो,’ उहाँले भन्नुभयो, ‘जसले केन्द्रीय समितिको स्पिरिट बचाउन मेहनत गर्नुपथ्र्यो । मैले बृहत् छलफल गरौँ भनेको थिएँ । उहाँहरू आउनुभएन । नआएर विज्ञप्ति जारी गर्नुभयो ।’ नयाँ पार्टी दर्ता गरेर जाने आफूहरूको तयारी नभए पनि अब त्यसबारे छलफल गर्नुपर्ने बाध्यता आएको उहाँले सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?