तरल राजनीतिमा उर्लँदो दलबदलको भेल

Read Time = 15 mins

✍️  इन्द्रबहादुर बराल
स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढ्दो छ । गाउँ शहर सबैतिर चुनावकै चर्चा परिचर्चाले दुई- चारजना मानिस जुटे कि त कुरा चुनावकै । स्थानीय निर्वाचनको महत्वका बारे धेरै नेपालीले यस पटक बल्ल बुझ्न थालेजस्तो अनुभव गरिँदै छ । अलिकती घोत्लिएर सोच्यो र हे¥यो भने वास्तवमै सिंहदरबारको अधिकारी गाउँ पुगेको छ भन्न सकिन्छ । यद्यपि त्यति नै प्रयाप्त नहुन सक्छ र थप अधिकारको आवश्यकता पनि देखिन्छ । नेपालको संविधान २०७२ जारीपछिको पहिलो स्थानीय निर्वाचनपछि मात्र को यो पाँच वर्षको अनुभवले स्थानीय तहमा समग्रमा वडाको महत्व विशेष रूपमा बढी नै देखियो ।

त्यसैले यो वैशाख ३० गते सम्पन्न हुने चुनावमा खास गरेर सत्तारूढ दल र प्रतिपक्ष दलमा वडाध्यक्षका आकांंक्षीको लामै पंक्ति थामी नसक्ने गरी लामबद्ध भएर देखापरेको छ । सर्वसाधारण जनताका लागि वडा नै काफी रहेछ । पालिकासम्म पुग्न परे पनि प्रारम्भिक कामकारबाही वडाबाट टुंगिने हुँदा वडा औचित्य र आवश्यकाको बोध हुँदै गएको छ । सिंहदरबारको अधिकार गाउँ नपुगेको अवस्थामा राज्यको पुनर्संरचनापश्चात् अधिकार सेवा आज प्रत्येक नागरिकले आफ्नै घरआँगनबाट प्राप्त गर्ने अवसर मिलिरहेको सन्दर्भमा संघीय प्रणालीको औचित्य पुष्टि गर्ने आधारसमेत खडा भएकै हो र छ पनि ।

नियालेर विगतको पाँच वर्षको कामकारबाहीमालाई हेर्दा जनताले अधिकांश आफ्ना दैनिकीहरू वडाबाट प्राप्त गरिरहेको स्थिति छ । यो यथार्थतालाई नजरअन्दाज गर्दै व्यवस्थामाथि नै अझै आक्रमण हुनु एउटा ठूलो षड्यन्त्रको तानाबाना बुनिरहेको अनुमान यसै पनि छर्लंग छ । लामो समय एकात्मक राज्यप्रणालीमा हुर्किएका हामी संघीय पद्धतिमा रूपान्तरित हुन केही असहज हुने नै भयो ।

यस्तो अवस्थामा यो व्यवस्था नै उल्ट्याउन खोज्नेहरू अहिले जोडतोडले लागेका छन् र केही परिवर्तनकारी तप्का यदाकदा बहकिन थालेको आभाष पाइन्छ । जुन अत्यन्तै खतरनाक संकेत हो । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई बदनाम गराउन लोकतन्त्रको मानौं दुरूपयोग भइरहेको छ । लोकतान्त्रिक व्यवस्था मूलतः नैतिक र चारित्रिक मूल्य र मान्यतामा चल्ने यवस्था जहाँ मानिसहरू आफ्नो अधिकार र कर्तव्यबोध गर्दछन् त्यहाँमात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्छ । त्यसैले हाम्रो समाजमा लोकतन्त्रको महत्व र औचित्यका बारेमा अझै थप प्रशिक्षणको आवश्यकाता देखियो ।

राजनीतिक पार्टीमा आबद्ध व्यक्तिहरू विचार, सिद्धान्त र आदर्शभन्दा पनि स्वार्थमा निर्लिप्त देखिनुले लोकतन्त्रको भविष्यमा कुनै बेला कालो बादल मडारिने खतरा टड्कारो रूपले अगाडि तेर्सिएर रहेको प्रष्ट चित्र झल्किरहेको छ । यसर्थ अब निकट भविष्यमा सम्पन्न हुने स्थानीय निर्वाचनले हामी नेपालीलाई विस्तारै जिम्मेवार र जवाफदेही बनाउँदै लानुपर्नेछ । तर पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि केही सन्देहपूर्ण छन् र पुराना विचारका पक्षधरलाई मोहोरी बनाएर पुनः राजतन्त्र फर्काउने चेष्टा गरिरहेको कही कतै छिपेको छैन ।

त्यसैले नेपाली समाजले अहिले आर्थिक, राजनीतिक र सामाजिक रूपले रूपान्तरणको चरणमा रहेको र सो रूपान्तरणको क्रममा भएका कमिकमजोरीलाई सच्याउनुको सट्टा व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भइरहेका केही लक्षण देखिँदै छन् । त्यसैले परिवर्तनका पक्षधर सत्ताको छिनाझपटीभन्दा पहिले पद्धतिलाई सुदृढ गर्न तिर लाग्नु उपयुक्त हुन्छ ।

माथिको पृष्ठभूमिमा राजनीतिक दलहरू अलि गम्भीर नहुने हो भने नरहे बाँस नबजे बाँसुरी भन्ने स्थिति नआउला भन्न सकिँदैन । नेपालको संविधान २०७२ जारीपछि पहिलो निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमतको नेकपा (नेकपा) को सरकार आफ्नै पार्टीको आन्तरिक मनोमालिन्यलाई यथा समयमा व्यवस्थापन गर्न नसक्दा प्रतिक्रियावादीले मुन्टो उठाउने मौका पाए । आज तिनै प्रतिक्रियावादीको बैसाखीमा दम्भ देखाउनु अर्को विडम्बना हो । केपी शर्मा ओलीले हिजो आफैंले काँध थापेको राजेन्द्र लिङ्देन आज बडो फुर्ती ढाँचा देखाउँदै छन् भने भोलि कमल थापाले पनि त्यसै नगर्लान् भन्ने के छ ?

तसर्थ लोकतन्त्रलाई आत्मसात नगर्ने शक्ति लाई धेरै पुल्पुल्याउने काम प्रतिउत्पादक हुने खतरा पनि छँदैछ भन्ने हेक्का रहन जरुरी छ । त्यसै पनि नेपालको लोकतन्त्रमाथि जोखिम छ । कम्युनिष्ट ओरिजनली लोकतन्त्रवादी होइनन् । उनीहरू पनि माक्र्सवाद र लेनिनवादलाई आदर्श मान्दै आएका शक्तिहरू हुन् भने रा.प्र.पा.राजाको नायकत्व चाहान्छन् । यस्तो स्थितिबाट गुज्रिराखेको छ यहाँको लोकतन्त्र । लोकतान्त्रिक व्यवस्था समाजको कसी हो । कुनै पनि समाजको वास्तविक स्थिति के छ भनेर त्यसको मापन गर्ने माध्याम नै लोकतन्त्र हो । जहाँ नागरिकका मौलिक एवं मानव अधिकारको प्रत्याभूत गरिएको छ त्यहाँ लोकतन्त्रको भविष्य सुनिश्चित हुन्छ ।

यद्यपि अहिले विश्वमा केही अपवादवाहेक सबैले लोकतन्त्रको अभ्यास गर्दै आएका पनि छन् र त्यसैको परिणाम नेपालमा पनि कम्युनिष्टको बहुमत भएर पनि परिस्थितीजन्य कारणले लोकतन्त्रका विरुद्ध जान सक्ने स्थिति छैन भने अन्यहरूको अवस्था पनि उस्तै छ । तथापि लोकतन्त्रविरुद्ध कुनै पनि बेला षड्यन्त्र नहोला भनेर ढुक्क हुने स्थिति अझै देखिँदैन । भूकम्पले थिलथिलिएको अर्थतन्त्र तंग्रिन नपाउँदै कोभिड-१९ को अर्को महामारी केही मत्थर हुनै के लागेको थियो रूस र युक्रेन युद्धले फेरि सकस थपिदियो ।

त्यसमा पनि हाम्रो राजनीति यति घटिया हुँदै गयो कि कुनै आयोजनाको काम सम्पन्न हुन नपाउँदै उद्घाटनको हतारो । अनि यस्ता गतिविधिले प्रतिक्रियावादी उत्साहित नहुने कुरै भएन । त्यसैले प्रतिक्रियावादीहरू यो व्यवस्थामाथि नै धावा बोलिरहेका छन् । यस्तो स्थितिमा निकट भविष्यमा सम्पन्न हुन लागिरहेको स्थानीय निर्वाचनसमेतलाई नकारात्मक प्रभाव पर्न सक्नेतर्फ पनि सचेत रहन जरुरी देखिन्छ ।

अतः वर्तमान राजनीतिक परिस्थितिलाई सकारात्मक दिशामा राखिरहन वा अरू सुदृढ बनाइराख्नु अग्रगामी राजनीतिक शक्तिहरूमा एकता आवश्यक छ । तर, स्थानीय चुनावको मुखमा दलबदलको लहर पनि तीव्रताका साथ अघि बढेका खबर आइरहेका छन् जुन स्वाभाविक पनि हो । विभिन्न राजनीतिक दलमा आबद्ध नेता/कार्यकर्ता किन दलबदल गरिरहन्छन् भन्ने प्रश्न निरुत्तरित हुनु हुँदैन । सामान्यतया अधिकांश पार्टीका नेता/कार्यकर्ता आफू रहिरहेको पार्टीबाट सन्तुष्ट हुन् नसकेर दल परिवर्तन गर्ने गरेको पाइन्छ ।

त्यस्तै अर्का थरि अवसरका लागि दल परिवर्तन गर्ने गर्छन् । जस्तै : अहिले नेकपा एमालेले केही नवप्रवेशीहरूलाई स्थानीय निर्वाचनमा अवसर दिन लागेको आभास पाइएको छ । उदाहरणका लागि वीरगञ्ज महानगरपालिकामा नवप्रवेशी सराबगी थरका व्यक्तिलाई मेयरको उम्मेदवार अघि सार्दै छ भन्ने समाचार आइरहेको छ । यसरी एकथरि असन्तुष्टिका कारण दलबदल गर्दछन् भने अर्कोथरि लोभलालच र अवसरका लागि आफ्नो राजनीतिक आस्थामा फेरबदल गर्दछन् । त्यस्तै तेस्रो कारण के हुनसक्छ भने दलहरूका कामकारबाही हेरेर पनि दलबदल गरेका हुन्छन् ।

यद्यपि यस्तो संख्या भने अत्यन्तै न्यून देखिन्छ । तर अहिले नेपालको राजनीति चरम अवसरवादले गाँजेर राखेको छ । यही अवसरवादी चरित्र र प्रवृत्तिले सिंगो लोकतान्त्रिक प्रणालीलाई गिज्याइरहेको छ । अन्यथा यति छिट्टै परिवर्तनकारी शक्तिहरूमाथि यत्रो नकारात्मक टिप्पणीहरू आउने थिएनन् होला । यसर्थ दलबदलदेखि लिएर प्रतिक्रियावादी पनि यति साह्रो चुरिफुरी गर्ने मौका पाउने थिएनन् । यो तथ्यलाई विशेष गरेर वर्तमान सत्ता गठबन्धनका सहयात्री दलहरू बढी गम्भीर र संवेदनशील हुन आवश्यक छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अहिलेको गतिविधि हेर्दा साँच्चै गतिछाडा जस्तै देखिएको छ । भुइँको टिप्न खोज्दा आफ्नो पोल्टाको पोखिएको थाहा नै नपाए जस्तो देखिन्छ र कमल थापा र एकनाथ ढकालले नेतृत्व गरेका पार्टीलाई बटुलेर दम्भ गर्दैछ । यद्यपि यो पनि एमालेले एउटा क्षणिक आत्मतुष्टिको बाटो अपनाएको हुनसक्छ । तथापि हरेक चुनावको मुखमा राजनीतिक पार्टीका केही नेता÷कार्यकर्ता आपूm भइरहेको पार्टी परित्याग गरी नयाँ पार्टीमा प्रवेश गर्ने एउटा सामान्य र निरन्तर प्रक्रिया पनि हो ।

दलीय पद्धतिमा दलबदलको कुरा त्यति नौलो मानिँदैन । बहुलवादमा आधारित राजनीतिक पद्धतिमा यस्ता कुरा भइरहने पद्धतीय गुणअवगुण के भन्ने हो त्यो भइरहने हुन्छ । नेकपाको करिब दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकार आफ्नै कारणले ढलेपछि तत्कालीन नेकपा (नेकपा)मा ठूलो हलचल आयो । सम्भवतः त्यत्रो उथलपुथल आउला भनेर कसैले सोचेका थिएनन् होला तर अनपेक्षित रूपमा नेकपाको सरकारमात्रै ढलेन सिंगो पार्टी छिन्नभिन्न हुन पुग्यो । त्यसपछि पार्टीका नेता/कार्यकर्ता कुनै मेला छुटेका मानिस जस्तै हुलका हुल तितरबितर हुँदै गए ।

त्यही क्रममा धेरै मानिस जो विशेष गरेर तत्कालीन नेकपा भएका मझौला र तल्लो तहका कार्यकर्ता विक्षिप्त हुँदै अन्य पार्टीतिर लागे भने पुनर्जीवित एमालेले पनि पुनजीवित माओवादी र नवगठित माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)मा लागेका नेता÷कार्यकर्ता फकाउँदै मूलधारमा ल्याउन लागेदेखि नै दलबदलको मौसमी बाढी नै आयो । यस्तो दलबदल क्रमलाई आफ्नो पोल्टामा पार्न नेपाली कांग्रेसले संगठन विस्तार र सुदृढीकरण गर्ने कामलाई तीव्रता दिँदै गयो ।

फलस्वरूप झण्डै दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट पार्टी झल्यामझुर्लुम हुँदा कांग्रेसले त्यसबाट भरमज्दुर राजनीतिक लाभ लिने अवसर पायो र नेकपा (नेकपा)बाट असन्तुष्टलाई आफ्नो पार्टीमा भित्र्याउने काम गर्‍यो र गर्दै पनि छ । तथापि वर्तमान राजनीति परिदृश्यले अझै अन्योल नै देखाउँछ । यसरी विद्यमान अवस्थामा दलबदल मौसम श्रावणको भेल झैं देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?