आफ्ना हरेक सिर्जनामा एउटा राजु सिंह जन्माउन चाहन्छु : राजु सिंह, वरिष्ठ संगीतकार

कृष्ण भुसाल
Read Time = 19 mins

नेपाली गीतसंगीतमा राजु सिंहको एउटा छुट्टै विशिष्ट स्थान रहेको छ । उहाँले संगीत भर्नुभएका धेरै गीत श्रोता\दर्शकको मनमस्तिष्कमा बस्न सफल भएका छन् । प्राध्यापनसँगसँगै नेपाली संगीत क्षेत्रमा उचाइ चुम्न सफल हुनुभएका सिंह संगीत सिर्जनालाई पूजा भन्न रुचाउनुहुन्छ । नेपाली संगीतका एक धरोहर राजु सिंहसँग हिमालय टाइम्सको हिँडदा हिँडदैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

अहिले के गर्दै हुनुहुन्छ ?

प्राध्यापन र संगीतमै व्यस्त छु । संगीतका धेरै विधामा काम गरिरहेको छु । अग्रजदेखि नयाँ पुस्तासम्मको विश्वासले सबै पुस्ताका गीतकार, गायकगायिकाहरूसँग काममा व्यस्त छु । साथै केही चलचित्र, गीतकार वसन्त वित्यासी थापासँगको ३० वर्षको सहकार्य पूरा भएकोमा ‘तिमी मेरो साथी’, गीतकार आनन्दरत्न बज्राचार्यसँग समाजका चेतनामूलक गीतहरूको संगालो ‘राजु-आनन्द’, नाट्यकर्मी अशेष मल्लसँग र गीतकार गीता खत्रीको गीति नाटक ‘सपना अनेक अनेक’, गीतकार तथा गजलकार रुवी सत्यालको एल्बम र विज्ञापन, स्वरलिपि लेखन, संगीत परिचालकको भूमिकामा व्यस्त छु । यस्तै थुप्रै कलेक्सन एल्बममा पनि त्यसरी नै व्यस्त छु ।

राजु सिंह को हो ?

राजु सिंह एक नेपाली संगीतको साधनारत, इमानदार, मिहिनेती, सक्रिय, नेपाली संगीतको पहरेदार बन्न हिँडेको संगीतको साधक हो ।

यति धेरै काम एकैपटक कसरी गर्नुहुन्छ ?

म यसलाई कामभन्दा पनि पूजा भन्न रुचाउँछु । जुन अग्रजदेखि भावी पुस्तासम्मका गीतकार, गायकगायिका, श्रोता, दर्शक, सञ्चार जगत्को साथ पनि हो । यसमा मेरो संगीतमात्र नभएर निरन्तरता, लगनशीलता, अध्ययन, मिहिनेत, इमानदारिता, सबैको साथ, विश्वास, सम्मान पनि मिसिएको छ । मेरो जीवनको अन्त्य पनि संगीत गर्दागर्दै, यसरी नै व्यस्त हुँदाहुँदै होस् भन्न चाहन्छु । म संगीतमा व्यस्तभन्दा पनि सक्रिय छु ।

यहाँलाई राजधानीमा हुने विभिन्न कार्यक्रममा अतिथिका रूपमा पनि देखिन्छ, गीतसंगीतमा पनि त्यत्तिकै चापाचाप छ, अर्कोतर्फ कलेज पनि छ, समयलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ म समयलाई एकदम व्यवस्थित गरेर हिँड्न मन पराउँछु । र, सबैलाई म त्यति नै विश्वास, सम्मान गर्दछु । हरेक ठाउँमा काम गर्दा, पुग्दा, हरेक व्यक्तिको, हरेक कार्यक्रममा सिक्न र बुझ्न पाइरहेको हुन्छु । मैले धेरै आफ्नो कुरा त्यागेर राजु सिंह हुने प्रयास गरेको छु ।

नेपाली सुगम संगीतमा राजु सिंहको नाम छुट्टै स्थानमा छ, यसको कुनै खास भित्री कुरा केही छ कि ?

मैले भन्दा पनि त्यो हजुरले (नेपाली संगीतले) मूल्यांकन गर्ने कुरा हो । मैले पहिला नेपाली संगीतको अध्ययनदेखि विश्वविख्यात ट्रिनिटी कलेज अफ म्युजिक लन्डनमा संगीतको आठ लेबलको डिप्लोमा गरेँ पाश्चात्य संगीतमा । हरेक विधाको अध्ययन गरेँ । जसमा स्वरलिपि, वाद्यवाद्यन, अध्यापन, संगीत परिचालक पनि पढेँ । र, अर्थशास्त्रमा एमए पनि गरेँ । मैले यसो भन्नुको पछाडि म हरेक आफ्नो नयाँ गीत सिर्जनामा एउटा राजु सिंह जन्माउन चाहन्छु । मेरो संगीत सुन्न, गाउन, कपी गर्न पनि संगीत पढ्न, बुझ्न परोस् भन्ने आशय पनि हो ।

जब गीतमा संगीत भर्न बस्नुहुन्छ, त्यसबेला यहाँको प्राथमिकतामा के पर्छ ?

मेरो पहिलो प्राथमिकता गीत हो । यसबाट मेरो गीतकार, संगीतकार, गायकगायिकाको नेपाली संगीतमा बेग्लै पहिचान बनोस् भन्ने कुरामा ध्यान दिन्छु । मेरो प्रतिस्पर्धा म आफैँसँग छ । त्यो गीतको शब्दअनुसार कुन वर्गलाई समेट्न खोजेको छ, कुन भूगोलमा लान खोजिएको छ, कस्तो आवाजले गाउँदै छ ? भन्नेमा ध्यान दिने गर्दछु । मेरो संगीतको म आफैँ हाकिम पनि र पिउन पनि हुँ भन्ने लाग्छ । मेरो गीतको परिचय दिन नसकुन्जेल म संगीत गर्न बसिहाल्दिनँ ।

यहाँ तीन दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, अहिलेको संगीतलाई कसरी हेर्नुहुन्छ, यो क्षेत्रमा विकृति आयो पनि भन्ने गरिन्छ, मौलिक संगीत हराइसक्यो भन्ने गरेको पनि यदाकदा सुनिन्छ नि ?

मलाई चाहिँ नेपाली संगीतमा विकृति आयो भन्नेमा विश्वास छैन । नेपाली संगीतमा यस्ता सर्जक स्रष्टाहरू पनि हुनुहुन्छ जो एक्लैले विश्व संगीत हाँक्ने दिन छिट्टै आउँदैछ । अबको पुस्तामा त्यो संकल्प देखेको छु । एउटा सफल संगीतकारले परिचय, राम्रो चर्चित लोकप्रिय गीत तयार गर्नुमात्र होइन, उसले श्रोता, दर्शक, सञ्चार जगत् र संगीतको माध्यमले सिंगो देशलाई संसारमाझ पुर्‍याउनु पनि हो । जसलाई नेपालीमाझ लोकप्रियता, चर्चा र पहिचान चाहिएको छ । त्यसले राम्रो सिर्जना गर्न सक्तैन भन्ने होइन तर ज्यादै कम छ । त्यस्ता संगीतको नाममा विकृति र सस्तो लोकप्रियता खोज्नेहरूलाई म नै भए पनि नेपाली संगीतको इतिहासले माफ दिने छैन ।

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्रमा तपाईंले एकछत्र राज गर्नुभएको छ मौलिक संगीत पस्कनेमा भन्नेहरू पनि छन्, आफ्नो करिअरको टर्निङ प्वाइन्ट आउने गीत चाहिँ कुन मान्नुहुन्छ ?

कृष्णजी मैले भनिसकेँ, आदरणीय श्रोता तथा दर्शक, सञ्चार जगत्, गायकगायिका, संगीत संयोजक, वाद्यबाधक, रेकर्डिस्ट, भिडियो निर्देशक, कलाकारको मिहिनेत पनि हो । मलाई आजको स्थानमा पुर्‍याउनेहरू सबैलाई सम्झिन चाहन्छु । मेरो एकल प्रयासले हुँदैन । जसमा मेरो संगीतलाई राम्रो होला भन्ने मैले सोचेझैँ यी सम्पूर्ण व्यक्तिहरूले पनि सोचिदिनुभइरहेको छ । सदैव यो साथ हजुरहरूबाट पाइरहेको छु । मैले हरेक विधाका गायक-गायिकासँग सहकार्य पनि गरेको छु । जसमा म अहिले पनि नियमितरूपमा संगीतको साधारण विद्यार्थी भएर संगीत सिक्ने गरिरहेको छु । प्रायः संगीत बेलुका गर्छु । मलाई एउटा गीतमा संगीत गर्दा एक हप्तादेखि तीन वर्षसम्म लागेको थुप्रै उदाहरण छन् । त्यस्ता गीतहरू अझै रेकर्डिङ हुन बाँकी छन् ।

संगीत क्षेत्रलाई नै किन रोज्नुभयो ?

मेरो घरको पृष्ठभूमि संगीत हो । बुबा वरिष्ठ वाद्यबाधक भगत सिंहज्यू । त्यतिबेला उहाँ शिक्षा मन्त्रालयमा उच्च पदमा हुनुहुन्थ्यो । उहाँले संगीतलाई सौख बनाउनुभयो, आफ्नो पेशा बनाउनुभएन । घरपरिवारले दुःख गरेर उहाँलाई एमएसम्म (अर्थशास्त्रमा) पढाउनुभयो । हाम्रो परिवारले शिक्षाको महत्व बुझेर पनि हामीले पढ्यौँ । म बैंकमा जागिरे हुनुपर्ने तर मैले प्राध्यापन रोजँे । जुन अहिले पनि जारी छ । अहिले पनि म पूर्ण व्यावसायिक संगीतकार भएर पनि मैले सौखको संगीतकार पनि भन्न पाएको छु । जसको कारणले गर्दा संगीतमा त्यति सम्झौता गर्दिनँ पनि । राम्रो संगीत गर्नका लागि बिना हिचकिचाहट गर्वले संगीत गर्ने गरेको छु ।

तपाईंको क्रिएसनको पहिलो श्रोता को हो भन्न मिल्छ ?

मेरो संगीतको पहिलो श्रोता मेरो मन हो । यो संगीत अब बाहिर सुनाउन हुन्छ भन्ने लागेपछि बाहिर गुनगुनाउँछु । अनि आफूलाई ठीक लागेपछि मेरी जीवनसंगिनी रीता सिंह जो राम्रो श्रोता हुन् उनलाई सुनाउँछु । त्यसपछि भाइ कल्याण सिंह, बुहारी पूजा सिंह गुरुङ, छोरा सोखिन, समृद्ध र मुख्य स्रष्टाहरू पर्नुहुन्छ । मेरो गीतको संगीतमा म छु कि छैन भन्ने गर्छु । अब राजुको संगीत जस्तो भयो भन्ने भएपछि मात्र रेकर्डिङमा लाग्छु ।

देशले नेपाली गीतसंगीतलाई कुन रूपमा लिएको पाउनुहुन्छ ?

नेपाली गीत संगीतलाई सरकार वा सत्ताले मनोरञ्जनका रूपमा मात्र लिएको छ । भन्नुको अर्थ जे पनि संगीत हो तर त्यसो होइन । देश, समाज, राजनीतिक, आर्थिक, जीवन, संघर्ष, समर्पण र त्याग, बलिदान, संकल्प, अठोट व्यक्तित्व लुकेको छ कि छैन भनेर बुझे पनि नबुझेझैँ गरे जस्तो लाग्छ । अभिभावकबिनाका छोराछोरीझैँ जथाभावी छोडिदिएझैँ लाग्छ । राम्रो संगीत गर्नेलाई राज्यले सम्मान र विकृति फैलाउनेलाई सजाय र नियन्त्रण गर्न चुक्नुहुँदैन । डाक्टर, पाइलट, इन्जिनियरलाई छात्रवृत्ति दिएर विश्वका राम्रा देशका विश्वविद्यालयमा पढ्न पठाएझैँ नेपाली संगीतकारलाई पनि विश्वका ठूला पूर्वीय, पाश्चात्य विश्व संगीत महाविद्यालयमा पढ्नका लागि छात्रवृत्ति दिलाउनुपर्छ । नेपाली संगीत र अग्रजलाई अपमान गर्ने, सम्मान नगर्नेलाई कडा कानुनी प्रावधान हुनुपर्छ र राज्यले निरन्तररूपमा लगानी गरेर उत्कृष्ट गीतसंगीत, साहित्य, कला, फिल्म, नाटक, वाद्यबाधन, आकेष्ट्रा, सिम्फोनिक तयार गर्नुपर्छ । जबसम्म व्यक्तिगत स्रष्टाको लगानी भइरहन्छ तबसम्म ढुक्क भएर संगीतकर्मीले संगीत गर्न र उल्लेखित विधामा उत्कृष्ट सिर्जना, अझै परिस्कृत हुन समय लाग्छ । राज्यले विश्व संगीतसमक्ष सांस्कृतिक रूपमा आदान-प्रदान गर्नुुपर्छ ।

वर्तमान समयमा आएका गीतसंगीत पहिलाजस्तो पाइँदैन भन्ने गरिन्छ नि ?

म चाहिँ संगीत र स्रष्टालाई पहिला र अहिले भनेर तुलना गर्न त्यति रुचाउदिनँ । हाम्रा अग्रजको संगीतमा आफ्नै विशेषता छ । र, अहिलेका पुस्ताको संगीतमा आफ्नै विशेषता छ । पहिला अति नै सामूहिक काम र वर्षौँ लगाएर संगीत तयार हुन्थ्यो अहिले दुई, चार घण्टामै बनाइन्छ । अहिले म एकदम राम्रो संगीत गर्छु समय दिनुहोस् भन्दा बजार र संगीत जगत्मा टिक्न गाह्रो हुन्छ । केही धेरै गरेका पनि संगीतकार भनेर चिनिन अझै सकेका छैनन् । हाम्रा अग्रजहरूले नेपाली संगीतलाई जुन मापदण्ड र उत्कृष्ट खाका तयार पारेर जानुभएको छ, हरेक विधामा त्यसमा हामी र नयाँ पुस्ता चर्चा र सस्तो लोकप्रियताका लागि केही विचलित भएको चाहिँ पक्कै हो । फेरि यसो भनिरहँदा नेपाली संगीतलाई विश्व संगीतसम्म डोर्‍याएर लाने जमात पनि तयार भइसकेको महसुस गरेको छु । जसमा सबै पुस्ताले एक भएर लाग्नुपर्छ । तर, नेपाली संगीतको मूल आधार लोक र शास्त्रीय नै हो । जे होस् नेपाली संगीत नेपालको पहिचान जुनसुकै विधामा विकृति आए पनि समग्ररूपमा नेपाली संगीतको र स्रष्टाको प्रतीकसँग जोडिएको हुन्छ ।

गीतसंगीतको चोरीको कुरा पनि आउँछ नि बेला-बेला ?

नेपाली संगीत यति विस्तृत छ कि हामीले चोर्नुपर्छ भन्ने छैन । जो संगीतकारको आफ्नो क्षमता र अध्ययन छैन, संगीत गर्न पनि पढ्नुपर्छ, साधना र आफ्नोपन ल्याउन समय कुर्नुपर्छ भन्ने धारणाको विकास गर्न सकेनौँ, त्यसैले त्यो कुरा चलिरहन्छ । चोरी नहुनलाई आफ्नो संगीतलाई साधना, अध्ययन र नयाँपनका साथै मिहिनेतको ताला लगाएर साँचो आफ्नो थैलीमा सुरक्षित राख्नुपर्छ । चोरेको, ढाँटेको कुरा एक न एकदिन अवश्य बाहिर आउँछ ।

जीवन र संगीतलाई कसरी बुझ्ने ?

मेरा लागि संगीत जीवन र प्रतिष्ठा हो । म चाहिँ मेरो संगीतको पहिलो गीतको स्थायी सुन्दा नै यो राजु सिंहको संगीतजस्तो छ भन्ने दिन आएको हुँ । कति गायक-गायिका, संगीतकार र गीतकारले राजुले संगीत होइन संगीतको व्याकरण गर्छ भन्ने आरोप लगाउने गरेको पनि पाउँछु म । उहाँहरूलाई म भन्छु, त्यसैले संगीत पढ्नुपर्‍यो । जो गायक-गायिका संगीत संयोजक, रेकर्डिङ प्रविधिले तथा लक्ष्मीले बन्नुभएको छ उहाँहरूको नामलाई विस्थापित गर्न नआनुहोस् भन्न चाहन्छु । म उत्कृष्ट संगीतकार, साधनारत संगीतकारलाई यस क्षेत्रमा निरन्तर लागिरहन विनम्र अनुरोध गर्दछु । जसले गर्दा संगीत र संगीतकारको गरिमा बढोस् ।

यो क्षेत्रमा आउने नयाँ र करिअर बनाउँदै गरेकालाई के भन्नुहुन्छ ?

यो क्षेत्रमा आउन चाहनेहरूलाई स्वागत गर्दछु, भित्री मनदेखि । तर, संगीतमा राम्रो गर्न सक्नुहुन्न भने नआउनुहोस्, विदेशको नागरिकता लिन पनि नआउनुहोस्, व्यापार गर्ने भए अर्कै व्यवसाय गर्नुहोस्, हरेक विधाको संगीतलाई विश्वास, सम्मान, इज्जत गरेर आउनुहोस् । छेपारोले जस्तै कलाकार भएर रूप फेर्नलाई नआउनुहोस् । संघर्ष गरेर बिक्न र टिक्न आउनुहोस्, आफ्नो मौलिक पहिचान बनाउन आउनुहोस्, अग्रजलाई सम्मान र नयाँ पुस्तालाई माया, सहयोग गर्न आउनुहोस्, आफ्नो संगीतले नै परिचय दिनुहोस्, लक्ष्मीको साथले भन्दा सरस्वतीको माया गर्न आउनुहोस् । हामी सबै मिलेर विश्व संगीतमाझ नेपाली संगीतको छुट्टै उचाइ कायम गर्न काँधमा काँध मिलाउन आउनुहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?