साहित्य समाजको दर्पण हो, जहाँ विचारको सार्वभौमसत्ता निर्माण हुन्छ । विचारको सम्प्रेषण गर्दा हार्दिकता, बौद्धिकताबाट नै समाजसापेक्ष वस्तुनिष्ठतालाई रचनाले व्यक्त गरेका हुन्छन्– कतै अलिक बौद्धिक, कतै सरल– कतै प्रतीकात्मकरूपमा भन्नुहुने स्रष्टा खिमानन्द आचार्यका कविता, गीत, कथा, लघुकथा विधामा आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । अर्घाखाँची जिल्ला, डिभर्ना स्थायी घर भई हाल विगत लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आउनुभएका आचार्यले ‘आमा’ कविताबाट लेखनयात्रा सुरु गर्नुभएको हो । उहाँका प्रकाशित भएका कृतिमा ‘धर्तीका माकुरा’ कवितासंग्रह, ‘नारी संसार’ (प्रधानसम्पादक), ‘अनेक डायस्पोराका कवितासंग्रह’ (प्रधानसम्पादक), ‘आस्थाका प्रतिबिम्बहरू’ कवितासंग्रह, ‘पागल साथी’ कथासंग्रह, ‘मनका तरंगहरू’ गीतसंग्रह र ‘पश्चाताप’ लघुकथासंग्रह रहेका छन् । यस्तै प्रकाशोन्मुख कृतिमा कवितासंग्रह, ‘तक्दिर’ उपन्यास र पद्यसंग्रह रहेका छन् । स्रष्टा आचार्य शरीर जहाँ भए पनि मन भने जन्मभूमिप्रति आकर्षित हुँदोरहेछ, जस्तोसुकै भौतिक सुख, सुविधा भए पनि त्यो सुखभन्दा जन्मेको ठाउँको ममता र स्नेह, उकाली, ओराली, लेक, बेंसी, पहाड-पर्वतको आकर्षण आँखाभरि नाच्दोरहेछ भन्नुहुन्छ । आफ्नो लेखनको बानी गोरखापत्रको जागिरे जीवनबाट परेको बताउनुहुने स्रष्टा खिमानन्द आचार्यसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
अहिले के गर्दै हुनुहुन्छ ?
अमेरिकाको १३ वर्ष बसाइपछि नेपाल आएको हुनाले इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, साथीभाइसँगको भेटमा नै दिनहरू रमाइलोसँग बितिरहेका छन् । सबै मित्रजन, जन्मभूमिको नियास्रो मेट्ने, आँखाले चुम्ने काम भएको छ । मुटुभित्र रहेको रिक्ततालाई पूर्णता प्रदान गर्ने काम भएको छ । यहीबीचमा मेरा चार कृतिको लोकार्पण गर्ने अवसर पनि जुट्यो । यस्तै–यस्तै दिनचर्या छ यतिबेलाको नेपाल बसाइमा ।
साहित्य लेखन कहिलेदेखि सुरु गर्नुभयो ?
नेपालको पहाडी जिल्ला अर्घाखाँची यातायातको पहुँचका हिसाबले विकट जिल्ला थियो विगतमा । काठमाडौं आउन गुल्मीको रिडी–पाल्पा हुँदै बाटोमा खाने खर्चसमेत बोकेर हिड्नुपथ्र्यो । काठमाडौं आउनुभएको परदेश जत्तिकै थियो । जुन समय पैसाको महत्व धेरै थियोे । तसर्थ काठमाडौं प्रवेशका लागि पापड बेल्नुपथ्र्यो । गाउँघरबाट धेरै टाढा भएको अनुभूति हुन्थ्यो । सायद त्यसैले जन्मस्थान र जन्मदिने मेरी आमालाई सम्झेर मैले एउटा हृदय छुने गरी ‘आमा’ कविता लेखेको थिएँ । त्यही मेरो पहिलो लेखनीको यात्राको बिन्दु थियो ।
हालै यहाँले फरक/फरक विधाका चार कृति सार्वजनिक गर्नुभएको छ । यसरी एकैसाथ चार कृति सार्वजनिक गर्नुको पछाडि केही कारण छ कि ?
म सन् २००८ मा अमेरिका गएँ । यसमा स्वभावले काम गर्यो भन्ने लाग्छ । म अलि स्थिर स्वभावको छु । मलाई विषयवस्तुले राम्रोसँग छुन्छ । उद्देश्यबिना म कतै हिँड्दिनँ । धेरै विचार गरेर मात्र निर्णय लिने गर्छु । सुखदुःख भनेका एउटा सिक्काका दुई पाटा हुन् । दुःख लाग्छ तर संयमताले निकास दिन्छु । माटोको ममतामा आँखाहरू वर्षिन्छन् एकान्तमा । अनि शान्त हुन्छु । त्यो कुरा मेरो मुटुले पनि चाल पाउँदैन । यस्तै सुखानुभूति र दुखानुभूतिको संगममा जन्मदिन पुगेँ चार संग्रहहरूलाई । उद्देश्य थियो पूरा भयो । अनि सन्तानरूपी कृतिहरू एकैचोटि सार्वजनिक गर्न आइपुगेको हुँ ।
साहित्य लेखनको पहिलो सिर्जना ‘आमा’ कविता भएको यहाँले बताउनुभयो, लेखन यात्राचाहिँ कसरी सुरु भयो र लेख्ने प्रेरणा कसरी जाग्यो ?
मेरो लेखनको बानी गोरखापत्रको जागिरे जीवनले बसालेको हो । किनकि मेरो पाठशाला गोरखापत्र नै थियो । जहाँ प्रायः लेखक कविहरूसँग सम्पर्क हुन्थ्यो । त्यसैले पनि लेख्ने प्रेरणा जाग्यो होला ।
यहाँका प्रकाशित कृति कति छन्, अर्को कुन-कुन विधाका कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
मेरा हालसम्म प्रकाशन भएका कृतिमा ‘धर्तीका माकुरा’ कविता संग्रह २०४३, ‘नारी संसार’ प्रधान सम्पादक, ‘अनेक डायस्पोराका कवितासंग्रह’ (प्रधानसम्पादक), ‘आस्थाका प्रतिबिम्बहरू’ कवितासंग्रह, ‘पागल साथी’ कथासंग्रह, ‘मनका तरंगहरू’ गीतसंग्रह र ‘पश्चाताप’ लघुकथासंग्रह रहेका छन् । यस्तै प्रकाशोन्मुख कृतिमा कवितासंग्रह, ‘तक्दिर’ उपन्यास र पद्यसंग्रह रहेका छन् ।
तपाईंलाई आफ्ना कृति निकालेपछि कस्तो अनुभूति हुने गर्दछ ?
वास्तवमा लेख्नु भनेको जब विषयवस्तुले आफूलाई छुन्छ, भावनामा मन तरंगित हुन्छ, तब सिर्जनाले नै व्यक्तिलाई लेख्न प्रेरित गर्दछ । कुनै गीत, कविता, कथा या भनौँ अन्य कुनै विधा जसले हृदयलाई ऊर्जाशील बनाउँछ, भाषा सहायक बनेर आउँछ तब व्यक्ति आफूलाई त्यो साँचोमा ढाल्न सरिक हुन्छ । त्यसैमा बग्दा आफूलाई आत्मसन्तुष्टि मिल्छ । त्यही अनुभूति मैले पनि संगालेको छु ।
एकथरी मानिसहरू भन्छन् साहित्यमा यौन चाहिन्छ, अर्काथरी भन्छन् साहित्यमा यौन वर्जित छ, यहाँको विचारमा के होला ?
साहित्य भनेको समाजको दर्पण हो । प्रत्यक्ष वा अप्रत्यक्ष प्रतीकात्मक जुनै कोणले पनि समाजलाई मुखरित पार्ने काम साहित्य सिर्जनाबाट हुन्छ । यौन प्राकृतिक कुरा हो । यो समाज सापेक्ष मुखरित हुनुपर्छ । तसर्थ रमरम हुनुपर्छ जसले समाजलाई विकृतितर्फ उन्मुख नगराओस् । यौनका कुरा साहित्यमा अभिधा, लक्षणा, व्यञ्जना, प्रतीकात्मक प्राकृतिक शाश्वत सत्यको सहारा लिएर लेख्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । जसरी यौनबिनाको जीवन कल्पना गर्न अत्यन्तै कठिन हुन्छ र कालान्तरमा त्यसले राम्रो नराम्रो छुट्ट्याउन सक्दैन । आलिंगनभन्दा आकर्षण हुनु साहित्यमा जरुरी देख्छु ।
तपाईंको लेखनको आधार के हो ?
विशेष गरेर मेरो लेखनको आधार जन्मभूमि हो । त्यसैको सेरोफेरोमा लेखन सुरु हुन्छ । जीवनका भोगाइ, समाजले अरूलाई हेर्ने दृष्टिकोण र प्रकृतिको अनुपम छटा नै मेरो आधारभूमि हो ।
तपाईं डायस्पोरिक साहित्यकारका रूपमा पनि चिनिनुहुन्छ, कति भयो विदेशिनुभएको ?
मैले माथि पनि भनेँ म देश छोडेर बाहिर बस्न थालेको १३ वर्ष भयो । देश छोडेर बाहिर बस्नु कसैको रहर हुँदैन । जब-जब मान्छेमा वैयक्तिक विकासका लागि अनेकन् उपाय खोज्नेक्रममा स्वदेशमा अनेक चुनौती देखा पर्छन् तब उसले आफूलाई परिभाषित गर्न खोज्छ । अनन्त चुनौतीले घेर्न थाल्छन् अनि उसले प्रवासमा राहत महसुस गर्छ र यनकेन प्रकारेण विदेशिन बाध्य हुन्छ । त्यस्तै अवसरहरूको खोजीमा म विदेशिन पुगेको हुँ । रहर भने होइन ।
त्यहाँ के-कस्ता साहित्यिक गतिविधिमा संग्लन हुनुहुन्छ र के-कस्ता साहित्यिक कार्यमा संलग्न रहनुभएको छ ?
त्यस्तो खास केही छैन भन्दा पनि हुन्छ । बचेको समयमा सिर्जनामा नै आफूलाई संलग्न गराएको हुन्छु । दुई वर्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को कार्यसमितिमा रहेर काम गरेँ । सम्भव भएमा साहित्यिक गतिविधिमा सहभागी हुन्छु । विशेषतः आफ्नै सिर्जनामा व्यस्त रहन्छु ।
डायस्पोरा लेखनलाई तपाईंको दृष्टिबाट कसरी मूल्यांकन गर्नुभएको छ ?
डायस्पोरिक लेखन भनेको प्रदेशमा रहँदा देशप्रतिको चिन्तन र त्यहाँको परिस्थितिबाट उत्पन्न भावावेगमा लेखिएको रचना अथवा आफ्नो ठाउँ छोडेर वियोगी मन लिएर जिउनुपर्ने अवस्था, आफ्नै जन्म ठाउँको ममता र स्नेहमा मर्माहत भएर लेखिने रचना नै डायस्पोरिक रचना हो । जसमा आफू बसेको ठाउँभन्दा जन्म ठाउँको स्नेह–ममता वा संगति र विसंगतिबाट उत्पन्न मनोदशाबाट डायस्पोरिक रचनाको सिर्जना हुन्छ ।
वास्तवमा डायस्पोरिक चेतना भएका रचनाहरू नशा-नशामा सिञ्चित भएर लेखिएका हुन्छन्, जहाँ मातृभूमिको सुगन्ध नै मगमगाएको हुन्छ । जसमा आफू बसेको कर्मभूमिको महŒवभन्दा जन्मभूमिको महŒव अविरलरूपमा गंगा बगेझैँ बगेको हुन्छ । डायस्पोरामा यस्ता रचनाकारहरूको बाहुल्यता छ ।
डायस्पोरा साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?
वास्तवमा आफ्नो कार्यव्यस्तताका बाबजुद पनि साहित्य लेखन जिउँदोजाग्दो छ । उर्वर देखिन्छ । तर, जन्मभूमिले ओझेलमा पारेको देख्दा भने मन उदासिन्छ ।
साहित्यमा रहेका गुट/उपगुटलाई कसरी लिनुहुन्छ ?
साहित्यमा गुट-उपगुट हुनु दुर्भाग्य हो । सिर्जनाको गुट कहिल्यै हुन सक्दैन । व्यक्ति गुटमा हुन सक्छ । गुट–उपगुटबाट कालजयी रचना हुन सक्दैन ।
नेपाली साहित्य अन्य देशको साहित्यमा यहाँ कहाँनेर पाउनुहुन्छ ?
हामी संसारमै सर्वप्राचीन ग्रन्थकार हौँ । हाम्रा पूर्वजहरूले दिएको सम्पत्तिको संरक्षण र संवद्र्धन गर्न नसकेका कारणले हाम्रो नेपाली साहित्य संसारको तुलनामा बामे सर्दैछ ।
नेपाली साहित्यलाई अनुवाद गरेर विश्वस्तरमा लैजान किन नसकिएको होला ?
साहित्यलाई सरकारले अनुत्पादक सम्झनु नै मुख्य कारण हो भन्ने मलाई लाग्छ । जनसाधारणमा लेखेर के हुन्छ भन्ने भावना हुनु पनि एक हो । यस्तै गैरसरकारी संस्थाले बढी मुनाफा क्षेत्र खोज्नु र लगानी गर्नुको कारण पनि हो भन्ने लाग्छ ।
उत्तर आधुनिकता भनेको के हो ? तपाईंको विचारमा नेपाली साहित्यमा यसको प्रयोग कसरी भइरहेको छ ?
उत्तर आधुनिकता भनेको अन्तरविषयचेतना हो । यसलाई वैज्ञानिक/प्राविधिक विशेषताले परिभाषित गर्दछ । पुरानो भोगिएको भन्दा आधुनिक भन्नाले आजको नयाँ विश्वास वा चेतना हो । उपभोक्तावादी दृष्टिकोण र आइटीको विकासले यसलाई परिभाषित गर्दछ । एउटा युगबाट सरेर अर्को युगमा प्रवेश गर्नु भन्दा मिल्छ ।
यसको विकास डोरिडाको उत्क्रमण चिन्तनबाट भएको हो । यस दर्शनले ईश्वरवादी चिन्तन, इतिहास र महाआख्यानलाई समाउँछ । यसलाई प्राज्ञिक अभ्यास पनि भन्न सकिन्छ । कृष्णजी तपाईंको प्रश्नमा ज्यादै प्राज्ञिक विषय छ । यो हिँड्दा हिँड्दैको कुराकानी र सानोभन्दा सानो आलेखले यसलाई प्रष्ट्याउन सकिँदैन ।
नेपाली साहित्यमा गोपाल पराजुलीको नयाँ ईश्वरको घोषणा, सरुभक्तको इतर समयलगायतका कैयौं सिर्जनाकारहरूका चेतनाले प्रवेश पाएको छ ।
घरपरिवारबाट तपाईंको लेखनमा कत्तिको सपोर्ट मिलेको छ ?
मेरा सिर्जनालाई पाठकमाझ पु¥याउन उहाँहरूको साथ सहयोग रहँदै आएको छ । कुनै अवरोध छैन । परिवारको साथ सहयोगले नै मेरा सिर्जना यहाँहरूसमक्ष प्रस्तुत गर्न सकेको छु ।
लेखन यात्रामा आउँदै गर्नुभएका नयाँ स्रष्टालाई कस्तो सुझाव दिनुहुन्छ ?
लेख्नुभन्दा पहिला समाज र विषयवस्तुको गहिरो अध्ययन गर्नु आवश्यक हुन्छ । अध्ययन, निरन्तर अध्ययनले नै सफलताको ढोका खोल्छ । असफलता नै सफलता हो भनेर अनवरतरूपमा साधनामा लाग्नुहोस् भन्न चाहन्छु ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच