प्रधानमन्त्रीको अभिव्यक्ति र सकस

हिमालय टाइम्स
Read Time = 7 mins

हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिनुभएको छ । तथापि उहाँले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै आफूले त्यो नभनेको र आफ्नो भनाइलाई तोडमोड गरेर विवादमा तान्ने प्रयास भएको बताउनुभएको छ । उहाँले विवादास्पद अभिव्यक्ति दिएको हो कि होइन भनेर बहस गरिरहनुपर्ने आवश्यकता भने देखिँदैन । किनभने अहिले प्रविधिको जगत छ, सार्वजनिक रूपमा दिएको अभिव्यक्ति भनेकै थिइनँ भनेर प्रधानमन्त्रीले प्रष्टीकरण दिइरहनु पर्दैन र प्रतिपक्षीहरूले पनि उहाँले यसो भन्नु भएकै हो भनिरहनु पर्दैन । उहाँले बोलिरहँदाको रेकर्ड हेर्दा वा सुन्दा त्यो प्रष्ट हुन्छ ।

प्रमुख प्रतिपक्षी दल तथा अन्य केही प्रतिपक्षी दलका सांसदहरूले यसैलाई विषय बनाएर प्रतिनिधिसभामा अवरोध गरिरहनु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर प्रतिनिधिसभामा अवरोध पुर्‍याउनुभएको छ भने उहाँको अभिव्यक्तिलाई आधार बनाएर राष्ट्रियसभामा पनि अवरोध भएको छ । प्रधानमन्त्री प्रचण्डको हालको अभिव्यक्ति नै पहिलो चाहिँ होइन । राजनेताहरूका यस्ता अभिव्यक्ति बेलाबेलामा विवादमा पर्ने गरेका छन् । तीमध्ये केही अभिव्यक्तिले त उहाँहरूको उचाइ अझै बढाएको पाइन्छ भने कतिपयले पदबाटै हात धुनुपर्ने खालको अवस्था देखिँदै आएका छन् ।

पञ्चायतको अन्तिम समयमा नेपाली कांग्रेसका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले चितवनको भरतपुरमा ‘यो राजाको बुद्धि नै छैन नत्र जनतालाई प्रजातन्त्र दिनुपथ्र्यो’ भन्नुभएको थियो । जनआन्दोलनको तयारीको सन्दर्भ थियो, उहाँ पक्राउ पर्नुभयो पछि उहाँले बठ्याइँका साथ तिमी पञ्चहरूका झैँ लेखेर बोल्ने बानी छैन नलेखी बोलेको हुँ, मैले त्यसो भनेको जस्तो लाग्दैन भनेर प्रष्टीकरण दिनुभयो । त्यसबेला हालको जस्तो प्रविधिको विकास भइसकेको थिएन । उहाँले के बोल्नुभयो भन्ने प्रमाण नभएका कारण केही समयपछि रिहाइ गरियो । पञ्चायतका अधिकारीलाई पनि अब प्रजातन्त्र आउँछ जस्तो लागेको हुनसक्छ । माहौल नै त्यस्तै बन्दै गइरहेको थियो, त्यसैले उहाँलाई छोडिएको हुनसक्छ । सो अभिव्यक्तिले उहाँको कद अझै बढेको थियो ।

प्रजातन्त्र बहालीपछि कृषिमन्त्री बन्नुभएकी शैलजा आचार्यले कृषि मन्त्रालयमा कमिसनको जालो रहेछ म त्यसलाई हटाउने प्रयास गर्दैछु भनेपछि उहाँ विवादमा पर्नुभएको थियो । त्यसपछि उहाँले आफ्नो कृषिमन्त्रीको पदबाट राजीनामा दिनुभयो । त्यस्ता दृष्टान्त अनेकौं हुनसक्छन् । नेकपा एमालेका प्रधानमन्त्री केपी ओली सरकारमा रहेका बेला सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत बन्नुभएका गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस स्थापनाका लागि सत्तरी करोड कमिसन मागेका कारण विवादमा पर्नुभयो । उहाँले उक्त रकम माग गरेको अडियो नै बाहिर आयो र पदबाट बाहिरिनु पर्‍यो । यसपूर्व नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा जो त्यसबेला प्रतिनिधिसभाको सभामुख रहनुभएको थियो । एकजना महिलाकोमा राति रक्सीसहित पुगेको घटना बाहिरिएपछि उहाँले पदबाट राजीनामा दिनुपरेको थियो ।

भरखरै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेका कारण विवादमा परेपछि सांसद र पार्टीको सदस्यतासमेत गुमेको थियो । हालका प्रधानमन्त्री प्रचण्ड पनि बेलाबेलामा आफ्ना अभिव्यक्तिबाट विवादमा आउनुहुन्छ । धेरै पटक उहाँ यस्तै अभिव्यक्तिले विवादमा आउनुभएको छ । भारतलाई कम्फर्ट हुनेगरी सरकार बनाउने अभिव्यक्ति दिँदा उहाँको विरोध भएको थियो । उक्त अभिव्यक्ति विरोध हुने खालकै हो । उहाँको हालको अभिव्यक्तिमा पनि मैले त्यसो भनेको होइन त भन्नुभएको छ तर भनेको हो कि होइन भनेर प्रमाणित गर्न सकिने भएकाले हो भने त्यो सरासर गलत अभिव्यक्ति हो ।

एउटा स्वतन्त्र सार्वाभौमसत्ता सम्पन्न राष्ट्रले आफ्नो सरकारसमेत आफैं बनाउन नसक्ने रहेछ र यसका लागि भारतसँग सहयोग लिनुपर्ने रहेछ भन्ने देखिन्छ । यस अर्थमा उहाँको विरोध हुनु स्वाभाविक हो । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्रीको अभिव्यक्ति आलोचनायोग्य छ भन्नुभएको छ भने उदयशमशेर राणाले पनि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भन्नुभएको छ । यी सबै कुराहरूलाई विश्लेषण गर्ने हो भने प्रधानमन्त्रीले बोलेको त्यो विषयको अभिव्यक्ति अति नै आपत्तिजनक हो । नभनेको भए प्रधानमन्त्रीले त्यसो भनेको होइन भनेर प्रविधिसमेत झिकाएर त्यसको प्रष्टीकरण दिनु उचित हुन्छ । गलत अर्थ लाग्ने विवादास्पद अभिव्यक्तिबाट आपूm जोगिनु पदीय हैसियतमा रहेकाहरूको प्रमुख दायित्व नै हो । यस्तो दायित्व सबैले पालना गर्नै पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?