पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डलाई महासंघको साथ

Read Time = 5 mins

काठमाडौं । कोरोनाका कारण शिथिल अवस्थामा पुगेको पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सघाउने भएको छ । पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यका साथ बिहीबार महासंघ र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै दुवै संस्थाले पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन् । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले महासंघ सचिवालयमा हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तिनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने बताइएको छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाको क्षमता विकास, सम्भावित पर्यटन उत्पादन (हिल स्टेसन, पार्कलगायत अन्य पर्यटकीय गतिविधि) मा सहकार्य हुनेछ । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन सहमति कोशेढुंगा हुने विश्वास व्यक्त गर्दै सहमतिको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कोरोनाले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाको सहभागितामा छिट्टै एउटा बृहत् कार्यक्रम आयोजनाको प्रस्तावसमेत गर्नुभयो ।

पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारीसाधन एवं स्थानको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने, भैरहवा विमानस्थललाई नेपालकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुुुपर्ने, गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ पहल हुनुपर्ने, काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुुधारमा जोड दिनुुपर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले छिट्टै नेपाल-भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सोक्रममा भारतीय शहरमा रोड शो गरिने योजना रहेको जानकारी गराउँदै पर्यटनलाई पनि सँगै लैजान सकिने बताउनुुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै पर्यटन विकासमा महासंघका अध्यक्षका सुुझाव कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाउनुुभयो । पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अघि बढाउन उहाँले आग्रह गर्नुभयो । सो अवसरमा दुवैजनाले भारतीय र चिनियाँ पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुुपर्नेमा जोड दिनुुभएको थियो ।

महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटनलाई माथि उठाउन यस्तो सहकार्य गरिएको बताउनुुभयो । महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले समझदारीअनुसारका कामलाई छिट्टै अघि बढाइने प्रतिबद्धता जनाउनुुभयो । कोरोनाबाट सबैभन्दा बढी प्रभावित नेपालको पर्यटनले विस्तारै गति लिन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक नेपाल भ्रमणमा आउनेक्रम बढेको पर्यटन व्यवसायीले बताएका छन् । जसका कारण अधिकांश होटलमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटनलाई पुनः गति दिन पाटा नेपाल च्याप्टरलगायत पर्यटन क्षेत्रसँग सम्बद्ध संघसंस्थाहरूले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?