राष्ट्रिय लेखा तथ्यांक : आर्थिक वृद्धिदर पाँच दशमलव ८४ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय बढ्यो

Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौंमा आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांकका विषयमा पत्रकार सम्मेलन गर्दै विभागले चालु आर्थिक वर्षको ६ देखि नौ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो । गत आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । उहाँले कृषि क्षेत्रमा अहिलेको आर्थिक वृद्धिदर दुई दशमलव तीन प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको बताउनुभयो ।

बितेको दशकमा औसत चार प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (दुई दशमलव ४२ प्रतिशत) हुन पुगेको थियो । चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत सात प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो ।

नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब, जिडिपी तीन खर्ब ७२ अर्ब पुग्यो
आधार मूल्यका आधारमा नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब पाँच अर्ब ५४ करोड रुपैयाँ र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । चालु आवका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ३८१ अमेरिकी डलर बराबर रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले जानकारी दिनुभयो । फुँयालका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ । गत वर्ष प्रतिव्यक्ति आय एक हजार १९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको हो । त्यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष जिडिपीको आकार तीन खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको उहाँले बताउनुभयो ।

जिडिपीमा सबैभन्दा बढी कृषि, वन तथा माछापालन क्षेत्रको योगदान २३.९५ प्रतिशत बराबर रहेको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापार, मोटरगाडी तथा त्यसका मर्मत सम्भारसम्बन्धी क्षेत्रको जिडिपीमा योगदान १६.४० प्रतिशत बराबर योगदान छ । घरजग्गा क्षेत्रले आठ दशमलव ७९, शिक्षा क्षेत्रले आठ दशमलव १०, सार्वजनिक प्रशासन तथा सामाजिक सुरक्षा क्षेत्रले सात दशमलव ७३, वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापले ६ दशमलव ८६, निर्माण क्षेत्रले ६ दशमलव १७, औद्योगिक उत्पादनले पाँच दशमलव ६५ र यातायात तथा भण्डारण क्षेत्रले पाँच दशमलव ९८ प्रतिशत योगदान गरेको छ ।

आयात २० खर्ब पुग्ने प्रक्षेपण
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात तीन खर्ब २० अर्ब पुग्ने अनुमान गरेको हो । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ ।
विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा व्यापार घाटाको आँकडा १३ खर्बभन्दा माथि छ । भन्सार विभागको तथ्यांकअनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात भने एक खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?