नवौं राष्ट्रिय खेलकुदका लागि सरकार तयार

Read Time = 5 mins

पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सरकार तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री गहतराजले उक्त कुरा बताउनुभएको हो ।

‘अब प्रतियोगिताका लागि ३६ दिन बाँकी छ । यहाँहरूले आफ्नो तयारी सुरु गर्नुहोस् । सरकार यहाँहरूको साथमा छ,’ उहाँले भन्नुभयो, ‘हामीसँग समय छोटो छ । खेलाडी छनौटदेखि प्रतियोगिताको तयारी सुरु गर्नुछ । खेलाडी छनोट प्रक्रिया भोलिबाटै प्रक्रिया सुरु गर्नुस् । सरकार आर्थिक, नैतिक र प्राविधिक रूपमा सहयोग गर्न तयार छ ।’

पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुदले माथि उठाउन सहयोग पुग्ने बताउँदै मन्त्री गहतराजले कोभिड पछि हुनलागेको नवौं राष्ट्रिय खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत प्रवाह हुने बताउनुभयो । गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद आफ्नो ऐतिहासिक बर्चश्व बनाउन सफल हुने भन्दै उहाँले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न यहाँको व्यवस्थापन सफल हुने र अन्य प्रदेशले समेत यहाँबाट सिक्ने अवसर प्राप्त गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री गहतराजले एक अर्को प्रसंगमा युवा तथा खेलकुद मन्त्रालयले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ अघि बढेको बताउँदै विदेशबाट अध्ययन गरेर नेपाल फर्किएका जनशक्तीलाई सम्बोधन गर्नेतर्फ मन्त्रालयले सोच बनाएको बताउनुभयो ।

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै देशैभरी यसले तीव्रता पाएको बताउनुभयो । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलसहित केही खेलहरू प्रदर्शनी खेलका रूपमा रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो महोत्सव हो । खेलकुद र खेलकर्मीका लागि अरू कुरा सहायक हुन् । हाम्रो सम्पूर्ण ध्यान नवौं राष्ट्रिय खेलकुदलाई सफल बनाउनेतर्फ नै हुनेछ ।’

पोखरेलीलाई आफ्नो घरआँगनमा आयोजना हुने खेलकुदलाई सफल बनाउन र यसमा अपनत्व ग्रहण गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले नवौं राष्ट्रिय खेलकुदको तयारी छोटो र व्यवस्थापनमा चुनौती रहे पनि सकरात्मक सोंचका साथ खेलकुदलाई सफल बनाउन सबैको दायित्व रहेको जनाउनुभयो । उहाँले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै सबै उत्साहित भएको जनाउँदै प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक/एक खेल भएमा प्रतियोगिताले थप उचाइ प्राप्त गर्ने बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेगमीले पोखराले पाएको यो अवसर महत्वपूर्ण हुनेमा जोड दिनुभयो । आयोजक प्रदेशको नाताले प्रतियोगिता सफल बनाउने दायित्व प्रदेश सरकारको समेत रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले भने कर्मचारी समायोजनको आवश्यकता रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?