पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा आफ्नो अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल हुनुहुन्छ माइकल चन्द । टिकापुरको कैलालीमा बुबा प्रेमबहादुर चन्द र माता झनकदेवी चन्दका ६ सन्तानमध्ये छोराहरूमा ज्येष्ठ सुपुत्र माइकल सानैदेखि नाच्न भनेपछि हुरुक्क हुनुहुन्थ्यो । सानोमा गाउँघरमा हुने बिहे तथा अन्य कार्यक्रममा उहाँको नृत्यका पारखी धेरै थिए । यस्ता कार्यक्रम उहाँ कहिल्यै छुटाउनुहुन्नथ्यो र सबैको वाहीवाही पाउनुहुन्थ्यो । कसैसँग औपचारिक प्रशिक्षण नलिए पनि उहाँले माइकल ज्याक्सन, जावेद जाफरी, प्रभुदेवालगायत प्रख्यात नृत्यकारका नृत्य हेर्नुहुन्थ्यो र त्यसलाई आफ्नै स्टाइलमा ढाल्नुहुन्थ्यो । सानो उमेरदेखि नै नृत्य प्रशिक्षकका रूपमा आफूलाई उभ्याउनुभएका उहाँले टिकापुरका स्कुलहरूमा नृत्य सिकाउनुहुन्थ्यो । पछि भारतको मुम्बईमा नृत्य सिकाउन थाल्नुभयो । मुम्बईमा उहाँले एक दर्जन बढी नृत्य प्रशिक्षण केन्द्र खोलेर नृत्य सिकाउनुभयो । उहाँका नासिक, पुना, मुम्बई, पिपरी, स्वारगेट, चर्नी रोड, बोरीवोलीलगायत ठाउँमा नृत्य सेन्टर थिए । नेपालबाट त्यहाँ जाने कलाकारहरूसँग उहाँले ८० भन्दा बढी स्टेज कार्यक्रमको निर्देशन पनि गर्नुभएको छ । यस्तै कलामार्फत् उहाँले पचास बढी अन्तर्राष्ट्रिय संस्थाहरूसँग जोडिएर काम पनि गर्नुभएको छ । ‘तपाईंजस्तो यस्तो प्रतिभा यहाँ बस्नुभन्दा नेपालमै गएर केही गनुहोस्,’ भन्ने मुम्बई जाने नेपाली कलाकारको सल्लाहले आफू नेपाल आएको बताउनुहुने चन्द सन् २०१२ मा नेपाल आउनुभयो । पछिल्लो समयसम्म दुई सयको हाराहारीमा म्युजिक भिडियोमा कुशल निर्देशन गर्नुभएका माइकल चन्द (महेन्द्र चन्द) सँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
यतिबेला के गर्दै हुनुहुन्छ ?
आफ्नै विभिन्न कार्यमा आफूलाई व्यस्त राख्दै आएको छु । डिल्लीबजारमा माइकल स्टेप अप आर्टस एकेडेमी छ । त्यहाँ नृत्यका विभिन्न कक्षा भइरहेका छन् । सात-आठजना प्रशिक्षक हुनुहुन्छ । मेरी श्रीमती श्वेता विमली पनि राम्रो नृत्यकार हुनुहुन्छ । उहाँले यस एकेडेमीमा हेर्नुहुन्छ । म पनि सक्दो समय दिन्छु । तर, म विभिन्न गीतको भिडियो निर्देशनमा अलिक बढी व्यस्त हुने गर्दछु ।
नृत्यसम्बन्धी औपचारिक कक्षाहरू लिनुभयो कि ?
म सानैदेखि नृत्य गर्थें । कति वर्षको उमेरदेखि नृत्य गर्न थाले भन्ने म आफैंलाई थाहा छैन । मलाई थाहा हुन थालेदेखि नै नाच्ने गर्थें । पछि माइकल ज्याक्सन, जावेद जाफरी, प्रभुदेवालगायत नृत्य हस्तीका सिडी ल्याएर खुब हेर्ने गर्थें । र, आफ्नै शैलीमा नृत्य प्रस्तुत गर्थें ।
पछि मुम्बई जानुभयो होइन ?
हो, सन् २००२ दुईतिर मुम्बई गएँ हुँला । फिल्मक्षेत्रको सबैभन्दा ठूलो प्लेटफर्म मुम्बईमा गएर केही गरौँ भन्ने उद्देश्यले त्यहाँ गएँ । मैले त्यहाँ धेरै राम्रो पनि गरिरहेको थिएँ । त्यहाँ मैले नृत्य सिकाउन थालेँ । मुम्बईमा एक दर्जन बढी आफ्नै नृत्य प्रशिक्षण केन्द्र स्थापना गरेँ । मैले नासिक, पुना, मुम्बई, पिपरी, स्वारगेट, चर्नी रोड, बोरीवोलीलगायत ठाउँमा नृत्य सेन्टर खोलेको थिएँ ।
त्यहाँ राम्रै गरिरहेको मान्छे नेपाल कसरी आउनुभयो ?
मुम्बईमा जति राम्रो गरिरहेको भए पनि आफ्नै देशमा नै गएर केही गरौँ भन्ने मेरो अन्तरकुनामा रहिरहेको थियो । म अहिलेसम्म मुम्बई बसेको भए त्यहाँ मेरो अझै राम्रो हुने थियो होला तर म नेपाल फर्किएँ । फेरि नेपालबाट जाने कलाकारले पनि प्रायः सबैले मलाई नेपाल आउन प्रेरित गर्नुहुन्थ्यो । नेपालबाट गएका कलाकारसँग मैले त्यही ८० भन्दा बढी स्टेज प्रस्तुति पनि दिएको छु । नेपालबाट जाने कलाकारले ‘तपाईंजस्तो यस्तो प्रतिभा यहाँ बस्नुभन्दा नेपालमै गएर केही गर्नुहोस्,’ भन्ने सबैको सल्लाहबमोजिम म नेपाल आएँ ।
नेपाल आएपछि कस्तो पाउनुभयो ?
म यस्तै सन् २०१२ मा नेपाल आएँ । ‘नेपाली डान्सिङ स्टार’ को कन्सेप्ट लिएर नेपाल आएको थिएँ । अडिसन भयो, खर्च पनि निकै भयो । तर, त्यो सफल हुन सकेन । मैले जस्तो सोचेर नेपाल आएको थिएँ त्यस्तो पाइनँ । नेपालकै सबैभन्दा ठूलो डान्सिङ स्टार कार्यक्रम थियो त्यो । म मुम्बईमा एकखालको माहोलमा थिएँ, नेपाल आएपछि अलिकति त्यस्तो पाइनँ । हुन त मसँग सुरुमा जोडिनुभएका साथीहरू नै सायद मैले त्यस्तै पाएँ ।
मुम्बई र नेपालमा काम गर्ने तरिकामा कस्तो पाउनुभयो ?
मुम्बई भनेको महासागर हो । त्यहाँ सानो क्रियसनका लागि पनि धेरै जनशक्ति प्रयोग हुन्छ । हामीकहाँ धेरै कुरामा कम्प्रमाइज गर्नुपर्ने बाध्यता छ । त्यसैले आफूले चाहेर पनि भनेजस्तो गर्न सकिएको छैन । त्यहाँ फास्ट लाइफ छ, एउटै कामका लागि धेरै म्यानपावर युज हुन्छ । यहाँ सबै आफैंले गर्नुपर्छ ।
अहिलेसम्म कति जति गीतको भिडियो निर्देशन गर्नुभयो होला ?
यस्तै करिब दुई सयको निर्देशन गरेँ हुँला । ६० वटाभन्दा बढी कोरियोग्राफी गरेपछि मैले निर्देशनमा हात हालेको हुँ । यस्तै विश्व कीर्तिमानी गीतकार डा. डिआर उपाध्यायका विश्व रेकर्डका गीतको भिडियोमा पनि उहाँसँगको सहकार्यमा धेरै निर्देशन गरेको छु ।
यहाँले विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरू पनि गर्नुभयो होइन ?
हो, मैले केही अन्तर्राष्ट्रिय इभेन्टहरू गरेको छु । कतारमा पनि तीनपल्ट सम्पन्न गरेको छु ।
तपाईं आफूलाई सफल निर्देशक मान्नुहुन्छ ?
मैले आफैंले आफैंलाई सफल असफल भन्ने भन्दा पनि मैले निर्देशन गरेका धेरै क्रियसन सफल भए भन्ने कुराले यसको पुष्टि गर्दछ । म आफैंले आफैंलाई सफल भन्दा पनि राम्रो काम गर्ने अर्थात् राम्रो प्रस्तुति पेश गर्ने कोसिस गरेको हुन्छु । मैले निर्देशन गरेका धेरै प्रस्तुतिलाई दर्शकले औधी मन पराएका छन् । केही प्रस्तुति अवार्डहरू पनि दिलाउन सफल भएका छन् । सफल असफल भन्ने जिम्मा दर्शककै हो भन्ने मलाई लाग्छ ।
एक्सन कट कत्तिको गाह्रो काम हो ?
आफ्नो काम हो, त्यस्तो गाह्रो लाग्दैन मलाई । आफ्नो पेशा हो, काम हो, पूजा हो । सुरुका दिनहरूमा अलिक अप्ठ्यारो लाग्थ्यो तर काम गर्दै जाँदा सिकिन्छ, सिक्दै जाने कुरा हो ।
निर्देशन क्षेत्र कत्तिको सहज छ ?
निर्देशन भन्नेबित्तिकै एकदमै गाह्रो क्षेत्र हो । किनभने सामाजिक र राष्ट्रप्रतिको जिम्मेवारी निर्देशकको काँधमा आएको हुन्छ । मैले निर्माण गरेको प्रस्तुतिबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।
निर्देशन के हो ?
निर्देशन आविष्कार हो, क्रियसन हो, नयाँ खोज हो । यसमा आफ्नो माटोको सुगन्ध हुन जरुरी ठान्छु म । कुनै पनि सिर्जनालाई, भन्न खोजेको कुरालाई चित्रण गर्ने नै निर्देशन हो । त्यसमा आफ्नोपन सबैभन्दा महत्वपूर्ण पाटो हो भन्ने लाग्छ ।
अबको लक्ष्य ?
चलचित्र निर्देशनतर्फ आफूलाई अगाडि बढाएको छु । हामी यसै क्षेत्रमा लागेकाले यो क्षेत्रको समृद्धिका लागि पहल गर्ने हो ।
अन्त्यमा ?
यो हिँड्दा हिँड्दैको संवादका लागि हार्दिक आभार व्यक्त गर्दछु । हिजो (शुक्रबार) अप्रिल २९ तारिखमा संसारभरि विविध कार्यक्रम र प्रस्तुति गर्दै विश्व नृत्य दिवस मनाइएको छ । यस दिवसका अवसरमा सबै नृत्यप्रेमीमा हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच