चोरी र लुटपाट रोक्न सुनचाँदी व्यवसायीको माग

Read Time = 2 mins

काठमाडौं । देश निर्वाचनमा होमिएका बेला चोरी र लुटपाटका घटना बढ्न थालेको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले चिन्ता प्रकट गरेको छ । गत सोमबार राती बुटवल उपमहानगरपालिकाको मध्यबजार अमरपथ बीपीचोक-६ स्थित दिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएकोमा चिन्ता व्यक्त गर्दै उसले सुरक्षाको प्रत्याभूतिको माग गरेको छ ।

कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलनजिकैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले उक्त पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेका थिए । पीडितका अनुसार पसलबाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ ।

चोरी गरी फरार व्यक्तिको खोजी गरी कारबाही गर्न महासंघले माग गरेको छ । महासंघका अनुसार सुनचाँदी व्यवसाय आफैंमा संवेदनशील व्यवसाय हो । यस व्यवसायको क्षेत्रमा बारम्बार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । मुलुक नै निर्वाचनमा होमिएका बेला चोरी र लुटपाटका घटना झनै बढ्न सक्नेतर्फ सचेत हुन र शान्तिसुरक्षाको प्रत्याभूति दिन महासंघका प्रवक्ता मनोजकुमार शाहले सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?