तिलोत्तमामा गठबन्धनद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

Read Time = 3 mins

दीपक घिमिरे/हिटा
भैरहवा । भ्रष्टाचारमुक्त तिलोत्तमा नगर भन्ने मूल मन्त्रसहित रूपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो ।

नगरमा प्रमुखका उम्मेदवार रामकृष्ण खाँण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आव्हान गर्नुभयो । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग व्यापार तथा पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ ।

तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार रामकृष्ण खाँणले बताउनुभयो । त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाई पाँच वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोत्तमा नगरको भूमिहीन समस्या पूर्णरूपमा निवारण गरिने उहाँको भनाइ छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहने तिलोत्तमा नगरभित्रका नागरिकहरूले नगरभित्रका बैंकहरूमा डलर पठाएमा प्रतिएक हजार डलरमा एक हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ । उम्मेदवार खाँणले जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ भ्यु टावर बनाउने र उपहार शुभकामना, भोजभतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताउनुभयो । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्रामस्थल बनाइने उहाँको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?