विचार बेच्नेहरू बढे

Read Time = 5 mins

✍️ प्रा. पुरुषोत्तम दाहाल
बोक्ने विचारका काँध झुकेसुके कठैबरी
बेच्ने वणीकको खाल बजार बढ्छ बेस्सरी
बीज विचारको मर्छ झेल हुन्छ सधैँभरि
हाँसो राक्षसको जस्तो क्रेता हाँस्छ मरी मरी ।।
(१)
गोडा फुटे, छुट्यो साथ, सम्पत्ति त कता भयो
विचार बोक्नेको बाटो लथालिंग सबै भयो
हराए दुःखका साथी सुख खोज्नेहरू जुटे
देशको अस्मिता तिन्ले दिन रात सधैँ लुटे ।।
(२)
खेती आदर्शका ध्वस्त चाण्डाल मतिको भर
सत्ता मात्रै छ गन्तव्य बल शक्ति छ निर्भर
वय, वयस्कको पीडा, दुःख कष्ट कता गए ?
टुप्पोमा फल टिप्नेका कमारा बन्ने झैँ भए ।।
(३)
कहाँ जमीनको टेको जरा कसोरी जीवित
छैन चासो र चिन्ताती रूखमा छन् प्रकल्पित
स्वयंभू सोच्दछन् आफैं हात बन्कर झैँ चले
साथी बन्करकै साथ विचार ध्वंशमै बढे ।।
(४)
श्रमको बारीमा जस्को पसीना तप्तपी चुहृयो
ङिच्च दाह्रा र नंग्राले कोतर्ने भीड त्यो बन्यो
बन्धकीमा परेका छन् विवेकका कला सबै
न निस्कन चाहन्छन् तीन सोच भिड्नमा सँगै ।।
(५)
सोध्छन् ती घरका मान्छे तिम्रो झोला कता गयो
खाली खाली सधैं खाली तालीमै जिन्दगी गयो
बग्यो रगतको धारा, श्रम, बुद्धि र तागत
रसविहीन खोस्टा झैँ मूल्य खोज्नु निरर्थक ।।
(६)
मरे कति, कति बिग्रे नासे यौवनका क्षण
सबैका सपना हुन्थे शान्त सुन्दर लक्षण
विपन्न घरमा आगो बलेको हेर्न पाउने
रोगीको देहले राम्रो औषधि पनि पाउने ।।
( ७)
घरमा सपना बाँड्थे गाउँमा सपना थियो
न्याय अन्याय छुट्टिन्छ सुशासन हुने भयो
शिक्षाको दीप बल्ने छ खेतीले देश चल्दछ
डाँडा काँडा उज्यालिन्छन् मनमाफिक बन्दछ ।।
(८)
मान्छे सबै हुने मान्छे साथी मात्र सबै हुने
आस्था समान बोल्नेछन् सहयात्रा सधैं हुने
न स्वामी झैँ हुने कोही न नोकर कतै हुने
अंकमा अंक मिल्नेछन् पदमा पद नै हुने ।।
(९)
पाखण्डी ढेडुको खेल बिगार्छ सपनाहरू
यत्रतत्र झुकेको छ जीर्ण देखिन्छ त्यो तरु
गुहू गोबरमा भेद नजान्ने भीड मस्त छ
खाने, लुट्ने, चिथोर्ने कि विनासमा ऊ ब्यस्त छ ।।
(१०)
जस्को खेती लुटिँदैछ उठ साँझ हुनु अघि
आततायी ती ढेडुले सक्नुभन्दा निकै अघि
वृक्ष छाड कि एकान्त गुफा पस्ने भए उता
नत्र तोड कि पाखण्ड साँच्चै बस्ने भए यता ।।
(११)
चोर पालेहरू पाल्यौं मोटा घाटा तिनै भए
भुइँबाटै झट्टीले हाने फल खाए कपाकप
सहोदर तिनैका छन् नातानालाहरू जुटे
सबै जंगल मास्दैछन्, पालुवा तोड्न ती जुटे ।।
(१२)
पाकेको फल खाँदैछन् गर्छन् ताण्डव नृत्य ती
नभर्ने घाउको चोट दिँदैछन् बुझ नित्यती
कति खप्छौ सधैं तिन्को दास जस्तो बनेर खै
रोप अर्को कुनै रूख किचढ वटवृक्षमै ।।
(१३)
हेर जरा ती छन् स्वस्थ कि छन् जीर्ण सडेगले
विचारशून्यका मान्छे टुप्पोमा कसरी पुगे
पुग्यो वन्करको भीड फल खान कसो गरी
छुट्याऊ कि तिमी छोड फलको सपना तल ।।
(१४)

भर्जिनिया, अमेरिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?