अर्थविद्द्वारा गभर्नर अधिकारीको निलम्बनप्रति आपत्ति

Read Time = 6 mins

रिता बस्नेत/हिटा
काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सवमा पूर्वगभर्नर तथा अर्थविद्हरूले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बन सम्बन्धमा आपत्ति जनाएका छन् । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको कार्यक्रममा गत चैत अन्तिममा सरकारले केन्द्रीय बैंकका गभर्नर अधिकारीलाई गरेको निलम्बनप्रति उनीहरूले आपत्ति जनाएका हुन् ।

मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई गत चैत २४ गते निलम्बन गरेको थियो । गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको थियो । गभर्नर अधिकारीले वैशाख ४ गते सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । उहाँको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फँुयालले इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । रिटमाथिको सुनुवाइ भने बिहीबार टुंगिने बताइएको छ ।

कार्यक्रममा अर्थविद् तथा पूर्वगभर्नर डा. तिलक रावलले २० वर्षअगाडि आफू जुन मारमा परेर अदालतले राहत दिई पुनः राष्ट्र बैंकमा फर्काएको थियो सोही अदालतले वर्तमान गभर्नरलाई पनि फर्काएको भन्दै बधाई दिँदै जोस जाँगरसहित राष्ट्र र राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्न गभर्नर अधिकारीलाई सुझाउनुभयो । कोरोनालगायत अन्य कठिन परिस्थितिमा उद्यमी, व्यापारी, कृषक, आमजनताको आशा र अपेक्षाअनुसार सरकारले बजेट वा अन्य प्याकेज ल्याएर काम गर्न नसकेका बेलामा बरू गभर्नर अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएर उद्यमी, व्यापारी, कृषक, वित्तीय क्षेत्रलाई केही राहत पु¥याउने काम गरेको बताउनुभयो । साथै, बजेटले केही गर्न नसकेको बेलामा अर्थात् शिथिल वा घाउचोट लागेको अर्थतन्त्रलाई हालको मौद्रिक नीतिले पनि आफ्नो सीमाभित्र बसेर केही गर्न नै खोजेको संकेत डा. रावलको थियो । सो वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्र बैंकका ११औँ गभर्नर डा. रावललाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजीव रेग्मीले सरकारले गरेको गभर्नर निलम्बन र राष्ट्र बैंकविरुद्ध सामाजिक सञ्जालमा अतिरञ्जित समाचार प्रचारप्रसार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिमिल्सिनाले सरकारले राजनीतिक आडमा राष्ट्र बैंकलाई बेलाबेलामा प्रहार गर्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले गभर्नरको निलम्बन स्वायत्तता निकायमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले अर्थतन्त्र पुनरुत्थान र बाहृय क्षेत्रमा परेको दबाब व्यवस्थापनमा नेपाल राष्ट्र बैंकको प्रयास, कानुनी तथा कार्यविधि तर्जुमा र सुधार, विश्व अर्थतन्त्रको समष्टिगत आर्थिक तथा वित्तिय स्थिति, आन्तरिक आर्थिक तथा वित्तीय स्थिति, सरकारी वित्त स्थिति, प्रदेश वित्त स्थिति, वैदेशिक व्यापार तथा शोधनान्तर स्थिति, मौद्रिक स्थिति तथा तरलता व्यवस्थापन, सहुलियतपूर्ण कर्जा पुनर्कर्जा तथा अनुदान, आन्तरिक ऋण व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, मुद्रा व्यवस्थापन, सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय जानकारी, बैंकिङ कारोबारमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय सम्बन्धबारे प्रष्ट्याउनुभएको थियो ।

कार्यक्रममा पूर्वगभर्नरहरू भेष बहादुर थापा, गणेशबहादुर थापा, दिपेन्द्र पुरुष ढकाल, दिपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडालगायतको उपस्थिति थियो । सो अवसरमा ०७८ वैशाख १४ गतेसम्ममा राष्ट्र बैंकमा २० वर्ष सेवा पूरा गरेका चारजना कर्मचारीहरू र ०७९ बैशाख १४ गतेसम्ममा २० वर्ष पूरा गरेका एक सय चारजना कर्मचारीलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?