कराँते र बक्सिङको छनोट जारी

Read Time = 4 mins

काठमाडौं । चीनमा हुने एसियाडका लागि कराँते र बक्सिङ खेलका लागि खेलाडी छनोट जारी रहेको छ । कराँतेको जारी छनोटबाट तीन स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको नेपाल कराँते महासंघले जनाएको छ । बाँकी पाँच स्पर्धाका लागि खेलाडीको छनोटसमेत जारी रहेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपिएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोस्रो तथा नेपाल प्रहरीका महसुस मोक्तान र बागमती प्रदेशका यानुज महर्जन तेस्रो हुनुभयो । सो स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो, प्रहरीकी चञ्चला दनुवार दोस्रो तथा प्रहरीकी सरु कार्की र गण्डकी प्रदेशकी संगीता मगर तेस्रो हुनुभयो ।

नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ८४ केजीमुनि/८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठ, बागमतीका आशिष थापा तथा प्रदेश १ का रोजन खड्का र आर्मीका विपिनराज सिंह जर्जी क्रमशः शीर्ष तीन स्थानमा रहनुभयो ।

यस्तै बक्सिङको प्रारम्भिक छनोटअन्तर्गतका फाइनल खेलहरूमा ५७ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी सुरज महर्जनले सशस्त्र प्रहरीका खेलाडी पुरन राईलाई ५ः० अंकका आधारमा पराजित गर्दै जित हासिल गर्नुभयो ।

पुरुषतर्फ ५२ केजी तौल समूहमा प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशका खेलाडी लक्ष्मण राईलाई ५ः० अंकका आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गर्नुभयो ।

पुरुषतर्फ ६३ केजी तौल समूहमा नेपाल प्रहरीका खेलाडी भुपेन्द्र थापाले सशस्त्र प्रहरी ‘ए’ का खेलाडी सोनाम सार्कीलाई वाकओभरका आधारमा जित हासिल गर्नुभयो । पुरुषतर्फ ७५ केजी तौल समूहमा नेपाल आर्मी ‘ए’ का खेलाडी श्रेष्ठले नेपाल आर्मी ‘बी’ का खेलाडी दिपेश लामालाई वाकओभरका आधारमा जित हासिल गर्नुभयो ।

यसैगरी महिलातर्फ ५१ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी सुस्मा तामाङले नेपाल आर्मी ‘ए’ का खेलाडी मिनु गुरुङलाई वाकओभरका आधारमा पराजित गर्नुभयो । महिलातर्फकै ५७ केजी तौल समूहमा नेपाल आर्मी ‘बी’ का खेलाडी विमला श्रेष्ठले ४ः१ अंकका आधारमा बागमती प्रदेशका खेलाडी हेमा राईलाई हराउँदै अघि बढ्नुभयो ।

महिलातर्फ ६० केजी तौल समूहमा सशस्त्र प्रहरी ‘ए’ की खेलाडी संगीता सुनारले नेपाल आर्मी ‘बी’ की खेलाडी वर्षा श्रेष्ठलाई एबिडीका आधारमा पराजित गर्नुभयो । महिलातर्फ ६९ केजी तौल समूहमा सशस्त्र प्रहरी ‘बी’ की खेलाडी सरस्वती रानाले नेपाल आर्मी ‘ए’ की खेलाडी सविना श्रेष्ठलाई ५ः० अंकका आधारमा जित हासिल गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?