महिला उम्मेदवार उठाउन दलहरूको कन्जुस्याइँ, एमालेका सबैभन्दा धरै महिला उम्मेदवार

Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा कम संख्यामा महिलाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार २०७४ सालको स्थानीय तह निर्वाचनभन्दा यसपटक कम संख्यामा महिलाको उम्मेदवारी परेको हो । दलहरूले गठबन्धन गरेपछि प्रमुख र उपप्रमुख पदमा विगतको भन्दा कम उम्मेदवारी परेको आयोगले जनाएको छ । सत्ता गठबन्धनका तर्फबाट अधिकांश पालिका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार बनाइएको हो ।

आयोगले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरेको बताएको छ । यसपटक दलहरूले २०७४ सालको भन्दा पनि घटाएर महिला उम्मेदवार उठाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयोे । ‘निर्वाचन प्रक्रिया प्रारम्भ हुँदा नहुँदै आयोगले एकपल्ट संविधानको धारा ३८ को उपधारा ४ पढिदिनुहोस् भनेर चिठी लेख्यौँ ।

आयोगले राजनीतिक दललाई संविधानको धारा पढिदिनुहोस् भनेको थियो,’ उहाँले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भन्नुभयो, ‘आरक्षित पदमा त आरक्षण हुन्छ नै । त्योदेखि बाहेकका पदमा पनि कम्तीमा एकतिहाइ महिलाको उम्मेदवारी दिनुहोस् पनि भन्यौँ । उहाँहरूले २०७४ सालको उम्मेदवारीभन्दा पनि घटाएर बहादुरी देखाइदिनुभयो ।’

नेकपा एमालेका तर्फबाट सबैभन्दा धेरै महिला उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार एमालेले देशभरका ७५३ स्थानीय तहमध्ये ७३८ स्थानीय पालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाएको छ । एमालेले जसमध्ये नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएको हो । एमालेले २६० जनालाई नगरपालिका उपप्रमुख तथा ४१० जनालाई उपाध्यक्षको रूपमा उम्मेदवार बनाएको निर्वाचन आयोगलेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)ले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४१७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ । माओवादीले भरतपुर महानगरमा भने मेयरमा महिला उम्मेदवार बनाएको छ ।

राप्रपाले २२७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ । राप्रपाले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई उम्मेदवार बनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १२८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ । १७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएको आयोगको विवरण छ । नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बनाएको छ । कांग्रेसले ७५३ स्थानीय तहमध्ये ६१५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ । कांग्रेसले पनि काठमाडौं महानगरमा मेयरमा महिला उम्मेदवार उठाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले निकै कम संख्यामा महिला उम्मेदवार बनाएका छन् । जसपाले १४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा १५ जना महिलालाई मात्र उम्मेदवार बनाएको छ । १८० जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदा महिला भने १० जना मात्रै उम्मेदवार बनेका छन् । लोसपा नेपालले ८९ जना प्रमुखका लागि पुरुष उम्मेदवार उठाउँदा पाँचजना महिलाले मात्र प्रमुखमा उम्मेदवार बनाएको छ । ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा तीनजना महिला मात्रै अध्यक्षका लागि उम्मेदवार बनेका छन् ।

आयोगले शनिबार निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । दलबाट उम्मेदवार बनेकाहरूले सम्बन्धित दलकै चिन्ह पाएका छन् । निर्वाचन आयोगमा दर्ता ७९ वटा दलमध्ये ६६ वटा दलले मात्रै उम्मेदवारी दिएका थिए ।
स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरूलाई विभिन्न चिन्ह प्रदान गरेको हो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?