धुर्कोटको आवश्यकतामा आधारित दिगो विकास नै मेरो एजेन्डा

Read Time = 7 mins

नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका महेन्द्रप्रसाद भण्डारी २०५० सालमा रेसुंगा बहुमुखी क्याम्पस गुल्मीको स्ववियु सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाल विद्यार्थी संघ गुल्मीको सभापति हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हुनुभयो । नेपाली कांग्रेसको १०औँ महाधिवेशनबाट उहाँ निरन्तर महाधिवेशन र महासमिति सदस्यमा निर्वाचित हुनुहुन्छ ।
भण्डारी नेपाली कांग्रेसमा मात्र नभई अन्य दलसँग पनि सुमधुर सम्बन्ध कायम राख्न सफल नेताका रूपमा परिचित हुनुहुन्छ । राजनीतिलाई समाजसेवाका रूपमा लिएर अघि बढ्ने भण्डारीले निरन्तर समाजसेवामै समर्पित हुने उद्देश्यका साथ अहिले आफू धुर्काेट गाउँपालिकाका लागि अध्यक्षको उम्मेदवार भएको बताउनुभयो । अहिलेको वर्तमान अवस्था, गठबन्धन र धुर्काेट गाउँपालिकालाई अघि बढाउने भावी योजनाबारे हिमालय टाइम्सका बुटवल संवाददाता चन्द्रकान्त खनालले अध्यक्षका उम्मेदवार महेन्द्र भण्डारीसँग गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

  •  धुर्कोट गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिनुभएको छ ? के छन् एजेन्डा ?
    धुर्कोटको आवश्यकतामा आधारित दिगो विकास नै मेरो मुख्य एजेन्डा हो । सर्वसाधारण जनताको प्रतिव्यक्ति आयमा वृद्धि हुने गरी जनताको जीवनस्तरमा समतामूलक विकास गर्नु नै मेरो कर्म हो । धुर्कोट गाउँपालिकाका सातै वडामा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगार, सडक र खानेपानीलाई केन्द्रबिन्दुमा राखी समग्र धुर्कोटको समानुपातिक विकास गर्नु नै मेरो मुख्य एजेन्डा हो ।
  •  तपाईंले जित्ने आधार के-के छन् ?
    धुर्कोटको समानुपातिक विकासको मुख्य एजेन्डा लिएर इमान, निष्ठासहित जनताका माझ आउँदै छु, यही नै मेरो मुख्य जित्ने आधार हो । जनताले मेरो इमान, निष्ठा, विकास उन्मुख राजनीतिलाई नजिकबाट नियालेका छन् । महेन्द्र भण्डारी निर्वाचित भयो भने विकासमा विकेन्द्रीकरण र समानुपातिक विकास ल्याउँछ भन्ने आशा धुर्कोटका नागरिकले राखेका छन् र त्यो नै मेरो जित्ने प्रमुख आधार हो ।
  • यदि तपाईं गाउँपालिका अध्यक्ष जित्नुभयो भने समृद्ध धुर्कोट बनाउन के-के गर्नुहुन्छ ?
    तपाईंलाई मैले अघि पनि भनिसकेँ आवश्यकतामा आधारित दिगो विकास नै मेरो मुख्य मन्त्र हो । जसमा सडक बाटोको समस्या, कृषि तथा पशु समस्या, कृषि अनुदानको चरम दुरूपयोग रोक्नुपर्नेछ, बजारको समस्या समाधान गर्नुपर्नेछ, सिँचाइको अभाव समाधानदेखि प्रभावकारी खोप कार्यक्रम र रोजगारीको समस्या समाधान हुनेछ ।
  • तपाईं गठबन्धनको उम्मेदवार हुनुहुन्छ । केन्द्रमा पाँचदलीय गठबन्धन भए तापनि धुर्कोटमा भएको एमाले माओवादीको गठबन्धनलाई कति मतले जित्छु भन्ने लागेको छ ?
    मतदान भनेको जनताले विवेक प्रयोग गरेर गोप्यरूपमा आफ्नो अधिकारको प्रयोग गर्ने कुरा हो । इमान र निष्ठाका लागि जनताले महेन्द्र भण्डारीलाई राम्रै मतान्तरले विजय गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।
  • अघिल्लो कार्यकालमा तपाईं र माओवादीबीच सत्ता सहकार्यमा सहमति भएको थियो भन्ने सुनिएको छ । तर, कार्यान्वयन भएन, वास्तवमा के भएको थियो ?
    जनप्रिय नेता एवं पूर्वसांसद स्वर्गीय रुद्रमणि भण्डारी, जनप्रिय नेता एवं पूर्वसांसद टंक पोख्रेललगायत दुई पार्टीका नेताहरूबीच अहिलेको अध्यक्ष माओवादीलाई दिने र अर्को कार्यकालमा कांग्रेसले प्रमुख पद पाउने भनी एकखालको सहमति भएको थियो तर हालका प्रत्यासी भुपाल पोख्रेलले पुरानो सहमतिलाई वास्ता गर्नुभएन र उहाँले अरू पार्टीको आडमा सत्तामा रहिराख्ने मनसाय देखाउनुभयो । तर, अहिले सबै पार्टीका साथी एवं अग्रजहरूले इमानको राजनीतिका लागि मलाई मतदान गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।
  • एमाले र माओवादीको गठबन्धन एकातिर रहँदा तपाईं कत्तिको आत्तिनुभएको छ ?
    आधाभन्दा बढी जीवन राजनीतिमा अडिग, निरन्तर र निष्ठाका साथ बिताएको छु । आत्तिने र मात्तिने कुरा छँदैछैन ।
  • अन्त्यमा ?
    मेरा आफ्ना विचार सम्प्रेषण गर्र्ने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद । आवश्यकतामा आधारित समग्र धुर्कोटकै दिगो विकास एवं सेवामुखी इमान र निष्ठाको राजनीति जोगाउनका लागि एकपटक महेन्द्रप्रसाद भण्डारीलाई भोट दिन सबैमा विनम्र अनुरोध गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?