एमाले-राप्रपाको महत्वाकांक्षी घोषणापत्र : जलविहारदेखि औद्योगिक ग्राम सञ्चालनसम्म

Read Time = 5 mins

डम्मर बुढामगर/हिटा
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘समृद्ध बागलुङ नगर–सुखी नगरबासी’ नगरको आकांक्षा पूरा गर्नको लागि आगामी पाँच वर्षमा बागलुङ नगरपालिकालाई पर्यटकीय, व्यापारिक एवं सांस्कृतिक नगरको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७४ मा पनि एकसाथ निर्वाचनमा गएका एमाले राप्रपाले तालमेलको आधारमा उम्मेदवार उठाएका थिए । संयुक्त रूपमा मेयरको उम्मेदवार बनेका नेकपा एमालेका जनकराज पौडेल पुनः मेयरको उम्मेदवार बन्नुभएको छ । स्थानीय तह निर्वाचन २०७४ मा राप्रपाले उपमेयरमा सुरेन्द्र खड्कालाई उम्मेदवार बनाएको थियो भने, अहिले राप्रपाको तर्फबाट सञ्जय खड्का उपमेयरको उम्मेदवार बन्नुभएको छ ।

मेयरका उम्मेदवार जनकराज पौडेल, उपमेयरका उम्मेदवार सञ्जय खड्का, नेकपा एमालेका पोलिटब्युरो सदस्य मनकुमारी केसी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इञ्चार्ज गोविन्द नेपालीले संयुक्त रूपमा सार्वजनिक गरेको घोषणा पत्रमा बागलुङ नगरपालिकामा एकीकृत शहरी विकास योजना लागू गरिने, नगरपालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म जोड्न सुरु गरिएका सडकका योजना पूरा गरिने, बालबालिकाको लागि निर्माण सुरु गरिएको बाल उद्यानलाई पूर्णता दिइने, बालबालिकाको शिक्षा, स्वास्थ्यलाई ध्यानमा राखेर चाइल्ड केयर सेन्टर स्थापना गरिने उल्लेख छ ।

औद्योगिक ग्राम सञ्चालनमा ल्याइने, काठेखोलामा जलविहार परियोजना सञ्चालनमा ल्याइने, जनमैत्री स्वास्थ्य नीति अवलम्बन गरिने, धौलागिरि उप-प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्न पहल गरिने, गम्भीर प्रकृतिका रोगहरू (मुटु, मिर्गाैला, क्यान्सर, पाठेघर) को उपचार नगरबाटै गर्ने व्यवस्था गरिने, विपन्न नागरिकको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइने, ५० वर्षभन्दा माथिका नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रमा शिक्षा, सूचना र सञ्चारतर्फ व्यावसायिक, व्यावहारिक, रोजगारमूलक, प्रयोगात्मक, प्राविधिक शिक्षाको आधार तयार गरी लागू गरिने, आगामी पाँच वर्षभित्र प्राविधिक धारतर्फको क्याम्पस स्थापनाको विशेष तयारी गरिने उल्लेख गरिएको छ । एमाले राप्रपाले आगामी पाँच वर्षभित्र बागलुङ नगरपालिकामा गर्ने कामलाई पूर्वाधार, स्वास्थ्य, सरसफाइ तथा खानेपानी, शिक्षा, सूचना तथा सञ्चार युवा तथा खेलकुदतर्फ, पर्यटन, कृषि, सुशासन, सूचना तथा सञ्चार, विविधता लगायतका शीर्षकमा छुट्टाछुट्टै प्रतिबद्धता व्यक्त गरेका छन् ।

घोषणा पत्रमा ‘अन्याय र उत्पीडनका विरुद्ध हाम्रो अभियान, आवाजविहीनको आवाजलाई गर्छौं सम्मान’ भन्ने मूल नाराको साथ महिला हिंसा, छुवाछुतजन्य विभेद र सामाजिक विभेदलाई अन्त्य गर्ने गरी काम गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?