गठबन्धनको ललीपपमा रमाएको कांग्रेस र आगामी बाटो

Read Time = 19 mins

-युवराज पौडेल

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल मानिन्छ । १०३ वर्षे जहानिया राणाशासनको अन्त्यका लागि मुक्ति सङ्घर्ष गरेको यो दल वैचारिक दृष्टिले विश्वव्यापी प्रजातान्त्रिक मूल्य मान्यताहरुलाई आत्मसात् गरेर अगाडि बढेको दल हो । वीपी कोइराला, सुवर्ण शमसेर कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता युग हाँकेका नेता भएको दल हो काङ्ग्रेस । विश्वव्यापी रूपमा स्वीकार्य राजनैतिक विचार र पहिचान बनाएको काङ्ग्रेस यतिबेला आएर वैचारिक रूपमा स्खलित बन्दै गइरहेको त होइन भन्ने प्रश्नहरू भने उठिरहेका छन् । मूलतः फरक ‘आइडोलोजी’ का माओवादी र नेकपा एससँगको घाँटी जोडाइपछि यस खालका प्रश्नहरू नेपाली राजनैतिक वृत्तमा उठिरहेका छन् ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेले तत्कालीन नेकपा माओवादीसँग गरेको सहकार्यका कारण ठूलो सङ्ख्यामा मत परिणाम आफ्नो पोल्टामा पारेको थियो । त्यही सिकाइबाट यतिबेलाको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा लगायतका पाँचवटा दलहरूका बिचमा गठबन्धन गर्दै चुनावमा होमिएको छ । देशभरिका महानगरपालिकादेखि वडा तहसम्म गठबन्धन गरेर साझा उम्मेदवारी दिने काममा काङ्ग्रेसको नेतृत्व कस्सिएर लागेको छ ।

कांग्रेसको गठबन्धन बाध्यता
कांग्रैसलाई गठबन्धनको अवस्थामा पु¥याउने अरु कोही नभएर तत्कालीन दुई तिहाई सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली नै हुन् । एकीकृत कम्युनिष्ट पार्टी बनाउने प्रचण्ड महत्वाकांक्षा, दुई तिहाइ सरकारको बलियो प्रधानमन्त्री बन्ने ओली इच्छाका बिचमा माओवादी र नेकपा एमालेका बिचमा एकीकरण भएको थियो । तर त्यो एकीकरण तलबाट नभई माथिबाट लादिएको भएकाले छोटो समयमा नै भत्कियो । केपी ओलीले दुई पटकसम्म संसद विघटन गरे । संसद विघटनको मुद्दामा ओलीसँग काङ्ग्रेस पनि असहमत थियो । काङ्ग्रेस एक्लैले ओलीको बढ्दो दमनात्मक शैलीलाई निस्तेज पार्न सक्ने स्थितिमा थिएन किनभने काङ्ग्रेस संसद र सडक दुवैमा खुम्चिएको अवस्थामा थियो ।

यता एउटै दल बनाएर पटक पटक ओलीसँग सम्झौता गरेका प्रचन्ड र ओलीको शक्ति सङ्घर्ष पनि चुलिँदो थियो । ओली र प्रचण्डको व्यक्तित्वको टकरावले पनि बेलाबेलामा असन्तुष्टी जन्मिरहेकै थियो । प्रचण्ड पनि ओलीको शैलीबाट आजित भइरहेका थिए । माधव नेपाल पनि ओलीबाट कर्नरमा परिरहेका थिए । यही समयमा पार्टीको अन्तरकलहको अन्तिम निष्कर्षस्वरुप ओलीले संसद विघटन गरे । ओलीले राष्ट्रपतिको साथ पाए । ओलीले आफ्ना विपक्षीलाई भित्तामा पु¥याउने काम गरिरहेपछि सबै ओलीपीडितहरुको कित्ता तयार हुँदै गयो । यहीँबाट ओलीको शासनबाट प्रताडित पात्र प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र देउबा एक ठाउँमा आउने स्थिति बन्यो । प्रधानमन्त्री पदको त्यति ठूलो अपेक्षा नगरेका देउबालाई अदालतले नै प्रधानमन्त्रीको रुपमा फैसला गरिदिएपछि पाँचदलीय गठबन्धनले सार्थकता प्राप्त गरेको हो । यो मूलतः केपी ओलीको दमनात्मक शैली र असहिष्णु व्यवहारले जन्मिएको प्रतिशोधीहरुको गठबन्धन थियो, जसले एकदमै फरक आइडोलोजी भएका पूर्व र पश्चिमका दलहरूलाई एकै ठाउँमा घाँटी जोड्न बाध्य बनाइदियो ।

गठबन्धन काङ्ग्रेसको भन्दा बढी ओलीको पेलाईमा परेर अपमानको अनुभूतिले रन्थनिएका माधव नेपालका लागि आवश्यक थियो । ओलीको पेलाइ र माओवादीको विघटनको चिन्ताले रुमलिएका चतुर प्रचण्डको रणनीति थियो । यी दुवैका लागि ओलीइतर राजनैतिक शक्तिको निर्माण परिवेशगत बाध्यता थियो, जसका लागि उनीहरू मुलुकको पुरानो र भरपर्दो शक्ति काङ्ग्रेसलाई नै रोज्नुपर्ने अवस्थामा पुगे । सरकारको चास्नीमा सधैँ तर मारिरहेको काङ्ग्रेस लगातार ओलीले दुई वर्षभन्दा बढी सरकारमा राइँदाइँ गरिरहेको देखेर पानीविनाको माछाजस्तो छटपटाइरहेको थियो । आफू सत्ता र शक्तिको केन्द्रबाट परिधितिर फालिएको बेलामा कम्युनिष्टहरू नै एकआपसमा फुटेर सरकारको नेतृत्व गर्न आग्रह गर्दै बुढानिलकण्ठ धाइरहेको सुवर्ण अवसरलाई सत्ताका कुशल खेलाडी देउबाले खेर फाल्ने कुरै थिएन । अन्ततः पाँचदलीय गठबन्धनको सरकार बन्यो भने यही गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनेमा पाँचदलका नेता पुगे ।

गठबन्धनको शक्ति
नेपालको संविधानको व्यवस्थाले नै एउटै दलको स्पष्ट बहुमत आउन कठिन हुने स्थितिको निर्माण गरेको छ । यसैको कारण पनि दलहरू गठबन्धनको साङ्लोमा बाँधिनुपर्ने स्थिति सिर्जना भएको हुन सक्छ । यतिबेला सत्ताधारी दलको पाँचदलीय गठबन्धनबाट निर्मित एकीकृत शक्तिले निर्माण गर्ने राष्ट्रिय माहोलले राजनीतिलाई एकप्रकारको स्थिरता दिने विश्वास उनीहरूले गरेका छन् । केपी ओलीको एकलौटी सङ्घ, प्रदेश र स्थानीय तहमा जुन बर्चस्व थियो, गठबन्धनबाट निर्मित शक्तिले त्यसलाई भने छियाछिया पारिदिएको छ । प्रदेशहरूमा गठबन्धन सरकारहरू निर्माण भएका छन् । राष्ट्रिय सभामा गठबन्धन शक्तिको प्रभावकारी उपस्थिति बनेको छ । नेपाल बार एसोसिएसनको हालै सम्पन्न निर्वाचनमा गठबन्धनले नेकपा एमालेलाई धुलीसात् पारेको छ । निश्चित रूपमा स्थानीय निर्वाचनमा गठबन्धन मिलेर जाँदा त्यसबाट सबैलाई फाइदा हुन्छ तर यसमा पनि काङ्ग्रेसलाई भन्दा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका लागि गठबन्धनको रस बढी गुलियो हुने छ । काङ्ग्रेस आफै पनि यस निर्वाचनमा पहिलेको तुलनामा बलियो शक्ति बनिरहेको हुनाले उसलाई नतिजाकै हिसाबले ठूलो फाइदा त नहोला तर कम्युनिष्टहरूको बिचमा बसेर उनीहरूलाई कमजोर बनाउन सक्ने हैसियतमा भने काङ्ग्रेस सशक्त बनिरहने छ ।

गठबन्धनको ललीपपमा कांग्रेस
नेपाली कांग्रेसको नेतृत्व गठबन्धनको ललीपपमा रमाएको छ । केही सीमित नेताको स्वार्थका लागि सिङ्गो काङ्ग्रेसको वैचारिक ‘स्कुलिङ’ र ‘आइडोलोजी’ लाई तिलाञ्जली दिँदै क्षणिक पदको बिलोमा रमाइरहेको काङ्ग्रेसले भूँइ तहका कार्यकर्ताको कुरा सुन्न चाहन्न भन्ने सन्देश स्पष्ट दिएको छ । बाध्यात्मक परिवेशमा गठबन्धन सरकारको नेतृत्व गर्नु परे तापनि स्थानीय चुनावमा गठबन्धन गर्नु आवश्यकता हो कि होइन भन्ने विषयमा आम काङ्ग्रेस कार्यकर्ताको विचार सुन्ने कुरामा काङ्ग्रेस नराम्ररी चुक्यो । माथिका केही सीमित नेताको पारिवारिक अभिष्ट र क्षणिक स्वार्थमा सबैभन्दा ठुलो विरासत बोकेको ऐतिहासिक पार्टीको आजसम्मको वैचारिक पूँजीलाई धरापमा राखेर नेकपा माओवादी जस्ता दलसँग घाँटी जोड्नु वर्तमान नेतृत्वको सबैभन्दा ठुलो अदुरदर्शी निर्णय हो ।

गठबन्धनका कारण चितवनका काङ्ग्रेसले दशकौंदेखि आफ्नो दलको चुनाव चिह्नमा मतदान गर्न पाएनन् । आफ्नो आस्थाको झण्डा बोकेर स्वाभिमानका साथ छाती दह्रो गरी उभिन पाएनन् । हिजो लोकतान्त्रिक विचार बोकेका कारणमात्र जसबाट आफ्ना हात काटिए आज तिनैको पक्षमा काटिएका ठुटा हात आकाशतिर उठाउँदै ‘लालसलाम’ को भाका गाउनुपर्दा तिनलाई कति पीडा भएको होला ? आज तिनै काटिएका हातले हात काट्नेहरुका विचारमा लाहाछाप लगाउनु पर्दा उनीहरुभित्र आक्रोश र प्रतिशोधको ज्वालामुखी दन्किएको छ । फेरि प्रचण्डहरुको उग्र कम्युनिजमको विचारका कारण नेपाली धरतीमा मारिएका निहत्था नागरिकमध्ये काङ्ग्रेस कार्यकर्ताको ठूलो पङ्क्ति पर्दछ । थुप्रै कार्यकर्तालाई तत्कालीन माओवादीले हत्या गरे, अङ्गभङ्ग बनाए । वीपीको समाजवाद बोकेको भनेरै पढाइरहेका शिक्षकलाई कक्षाकोठाबाट निकालेर जङ्गलमा लगी रुखमा बाँधेर परिवारकै आँखा अगाडि निर्ममतापूर्वक मारियो । यस्ता अनेकन पीडाबाट गुज्रिएका आम कार्यकर्ता तथा ती पीडालाई आफ्नै आँखाले देखेका काङ्ग्रेसका नयाँ पुस्ताका नयाँ सन्ततिहरूलाई हसियाँ हतौडामा भोट हाल्न नेतृत्वले ऊर्दी जारी गर्नु विचारको भयङ्कर ठुलो अपमान मात्र होइन, अन्ततगोत्वा वैचारिक, सैदधान्तिक र नैतिक हिसाबले काङ्ग्रेस स्खलित भइरहेको छ भन्ने सबैभन्दा ठुलो प्रमाण पनि हो ।

यसकारण चितवनमा जगन्नाथ पौडेलले ती सक्कली काङ्ग्रेसको आवाजको प्रतिनिधित्व गर्न बाध्य भए । देशभरि लाखौं जगन्नाथहरू थिए तर तिनीहरूलाई जबर्जस्ती शक्तिका आडमा तत्कालका लागि थामथुम पार्ने प्रयत्न भयो । आफ्नै विचार र सिद्धान्तमा स्खलित हुँदै गएको काङ्ग्रेसको साखलाई चितवनका जगन्नाथहरूले बचाउने प्रयास गरिरहेको तथ्यलाई शक्तिले अन्धो भएका धेरै काङ्ग्रेसीले बुझ्दैनन् वा बुझ्न चाहन्नन् । गठबन्धनबाट काङ्ग्रेसले तत्कालका लागि केही बढी सिट जित्ला वा केही स्थानीय तहको जित सङ्ख्यामा वृद्धि पनि होला तर त्यो ठुलो कुरा होइन । चुनावमा केही सिट कमबेसी हुँदैमा केही फरक पर्ने थिएन । बरु गठबन्धनको संस्कारले काङ्ग्रेसको आफ्नै पहिचानका साथ उभिने भविष्यसम्मको यात्रालाई निरन्तर विचलित बनाइरहने छ । काङ्ग्रेसका सक्कली कार्यकर्ताको मनमा यसबाट जन्मिने निराशाले ल्याउने परिणाम अवश्य पनि काङ्ग्रेसको भविष्यका लागि सुखद् हुने छैन । देउबाले आरजुलाई सांसद बनाउलान् वा प्रचण्डले रेणुलाई चितवनको मेयर बनाउलान् तर काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादसहितको विचारको पक्षमा उभिएका लाखौं आस्थाका कार्यकर्ताको मनमा आफ्नो पार्टीप्रतिको गौरव र सम्मान भाव यसबाट मरेर जाने छ भने भविष्यमा काङ्ग्रेस ‘ककटेल’ चरित्रमा देखिने छ । प्रचण्डको बुद्धिमा डोरिएको प्रजातान्त्रिक समाजवादको घोडाले देउबाको स्वार्थ त पूरा गर्ला तर समग्र काङ्ग्रेस र लोकतन्त्रको स्वार्थ पूरा गर्ने छैन । ‘काले काले मिलेर खाउँ भाले’ प्रकृतिको राजनीतिले विचारलाई त समाप्त पार्छ पार्छ, सिद्धान्तलाई खोलामा बगाउँछ र नैतिकतालाई लिलाममा खरिदबिक्री गर्छ । विचार स्खलित काङ्ग्रेस मणि हराएको नागजस्तो हुनेछ । गठबन्धनको संस्कारले भविष्यमा काङ्ग्रेसभित्र धेरै कम्युनिष्टको गन्ध आउने छ ।
एउटा देशको नागरिकले आफूले रोजेको दलको झन्डा बोक्न पाउँदैन । आफ्नो आस्थाले रोजेको चिह्नमा भोट हाल्न पाउँदैन । माथिबाट एक दुई जनाले थोपरिएको शक्तिका आडमा आफ्नो इच्छा नभएको अमूक दलको नरुचाएको चिन्हमा भोट हाल्नुपर्ने विवशतामा जकडिएको निरिह नागरिक बनाउने नेतृत्वलाई काङ्ग्रेसका भोलिका नयाँ पुस्ताले धिक्कारिरहने छन् ।

गोविन्दराज जोशी र रामचन्द्र पौडेलको झगडाका कारण सिङ्गो तनहुँका काङ्ग्रेसले दुःख पाए । रामचन्द्र पौडेलको पार्टीमा वर्चस्वका कारण गोविन्दराज जोशीहरूले पाटीमा सधैँ अपमान सहनुप¥यो । खुमबहादुर खड्काले त्यही नियति बेहोरे । के यो देशमा वा काङ्ग्रेसमा खुमबहादुर र गोविन्दराज जोशीले मात्र भ्रष्टाचार गरेको हो त ? के अरू सबै चोखा हुन् ? कि कसैको व्यक्तिगत राजनैतिक स्वार्थ पूरा गर्न यिनीहरूलाई सहिद बनाइएको हो ? यसको उत्तर आजको काङ्ग्रेसको नेतृत्वले दिन सक्ला ? हिजो गोविन्दराज र खुमबहादुरले काङ्ग्रेसलाई ५ वर्षमा गरेको योगदान र काङ्ग्रेस कार्यकर्ताको संरक्षण आजका रामचन्द्र वा देउबाहरुले दशकौंसम्म पनि गर्न सकेका छैनन् र गर्न सक्ने पनि छैनन् । आज तनहुँमा दीपक जोसीले एमालेसँग सम्झौता गर्नुपर्ने स्थिति कसका कारणले सिर्जना भयो ? यसको निर्मम समीक्षा नगरी काङ्ग्रेस अगाडि बढ्न सक्ने स्थितिमा छैन ।

गठबन्धनको विद्रोह गर्ने सच्चा कार्यकर्ताहरूलाई पार्टीले अनुशासनको कारबाही ग¥यो । जगन्नाथ जस्ता सच्चा काङ्ग्रेसहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही ग¥यो । प्रत्येक वडा वडामा काङ्ग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गरिरहँदा पनि कार्यकर्ताको चाहना विपरित शीर्ष नेतृत्वको हठ र दमनात्मक शैलीका कारण गठबन्धनमा समाहित हुन बाध्य भएको निराश काङ्ग्रेस पङ्क्तिले कम्युनिष्टहरूलाई विश्वास गरिरहेको छैन । प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराईहरू अन्ततः कम्युनिष्ट स्कुलिङकै नेता हुन् ।

परिस्थितिले उनीहरू केही समय टुक्रिएर अलग भए पनि फेरि कमजोर हुनासाथ कथित ‘आत्मालोचना’ सहित एउटै चुल्होमा भात पकाउन तयार हुन्छन् भन्ने काङ्ग्रेस कार्यकर्ताको मनोविज्ञान र बुझाइ छ । कार्यकर्ता पङ्क्तिको यो मनोविज्ञान र बुझाइ आजसम्मको राजनैतिक इतिहास र अनुभवलाई हेर्दा अस्वभाविक होइन । भोलि कम्युनिष्ट एक हुँदा आज आफ्नोपन गुमाएर कम्युनिष्टसँग मिल्न गएको काङ्ग्रेसको अलगपन के हुन्छ ? काङ्ग्रेसको आफ्नोपन र अलग पहिचान कहाँ देखिन्छ ? यी प्रश्नहरूले काङ्ग्रेस र लोकतन्त्रको शुभेच्छा राख्नेहरूलाई सधैं घोचिरहने छन् ।

 

 

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rajan Raut
Rajan Raut
2022-05-05 9:30 pm

१०३ वर्ष जहानियाँ शासन बिरुद्ध लडेको काँग्रेस अब उत्तर कोरियाको जहानियाँ शासन ल्याउन उद्धत छ। आगे राम जाने

छुटाउनुभयो कि ?