विनोदको गीतमा आर्यन र रोजीको प्रेम

Read Time = 2 mins

काठमाडौं । गायक तथा संगीतकार विनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘सुन सानो कथा’ सार्वजनिक गरिएको छ । विनोदकै शब्द तथा संगीतरहेको गीतको अडियो तथा भिडियो सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम, अभिनेता आर्यन सिग्देल, मोडल रोजी पन्तलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । मोडल रोजी पन्तले यसअघि दुई म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ भने उहाँ अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा छ ।

एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन निर्देशक जनकदीप पराजुलीले गर्नुभएको हो । क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहनुभएको छ । निर्देशक जनकदीप र आर्यन सिग्देलले १८ वर्षपछि सँगै काम गर्नुभएको थियो । त्यो समयमा आर्यन नायक बनिसक्नुभएको थिएन । १८ वर्षअघि ‘घाँस काट्ने’ खुर्केर बोलको रिमिक्स गीतमा सँगै काम गर्नुभएका निर्देशक जनकदीप र नायक आर्यनले गीतमा मिहिनेत गरेको बताउनुभयो ।

निर्देशक जनदीपले आर्यनको काम सुरुवातदेखि नै उत्तिकै राम्रो रहेको भन्दै तारिफ गर्नुभयो । यस्तै आर्यनले जनकदीपको निर्देशन भन्ने बित्तिकै भिडियो राम्रो हुन्छ भन्नेमा विश्वास बढेर काम गरेको बताउनुभएको थियो । भिडियोमा लगानी सरस्वती गौतम, सिर्जना ल्वागुन र भीमराज रसाइलीको छ । सागर प्रधानले छायांकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?