भरतपुरमा गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक : दक्षिण एसियाकै नमुना शहर बनाउने र सम्पूर्ण सुविधा उपलब्ध गराउने योजना

Read Time = 4 mins

भरतपुर । भरतपुर महानगरपालिकामा लोकतान्त्रिक-वाम गठबन्धनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार भरतपुरमा आयोजित एक कार्यक्रमबीच प्रमुख पदकी उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । भरतपुरलाई दक्षिण एसियाकै नमुना शहर र नगरबासीलाई सम्पूर्ण सुविधा उपलब्ध गराउने विशेष योजनासहितको प्रतिबद्धता पत्र पाँच दलीय गठबन्धनले ल्याएको हो ।

‘विगतको गठबन्धनको गौरवपूर्ण पाँच वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । यो प्रतिबद्धता पत्रमा निर्माणाधीन आयोजना पूरा गर्न, भूमिहीनका समस्या समाधान गर्न, १२ कक्षासम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक बिमा कार्यक्रम, स्थानीय सीप, स्रोत, पुँजी र पहिचानलाई परिचालन गर्दै औद्योगीकरणमार्फत रोजगारी सिर्जना गर्नेसँगै वडामा सुविधासम्पन्न अस्पताल तथा वृद्ध र अशक्तहरूलाई घरघरमै स्वास्थ्य सेवा पुर्‍याउने उल्लेख छ ।

गठबन्धनको प्रतिबद्धता पत्रमा बेरोजगार मुक्त भरतपुरदेखि ७० वर्षमाथिका नागरिकलाई निःशुल्क बससेवा दिनेसमेत उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा सुशासन र सेवा प्रवाह-डिजिटल महानगर, एसियाली मापदण्डका भौतिक पूर्वाधार, सबैका लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटनः स्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम पनि लागू गरिने उल्लेख छ ।
त्यसैगरी, गठबन्धनले बेरोजगारीमुक्त भरतपुर, केही महिनाभित्रै विद्युतीय बस सञ्चालन, वन तथा वातावरण र जैविक विविधता ‘समृद्धिका लागि वन कार्यक्रम’, सक्षम, स्वस्थ र सुरक्षित महिला एवं बालबालिकाको हितका विषय पनि प्रतिबद्धता पत्रमा राखेको छ ।

यस्तै, भरतपुर देशकै खेलकुद केन्द्र, साहित्य, कला र सिर्जना, आदिवासी–जनजातिलाई पहिचान र आत्मसम्मान, भूमिहीनका लागि छत र स्वाभिमान, क्षमता र व्यावसायिकता अभिवृद्धिका लागि आम सञ्चार प्रतिष्ठान, सिञ्चाइको प्रत्याभूति, विद्युतीय चुल्होमा अनुदान, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, बालबालिका लक्षित कार्यक्रम, मजदुर लक्षित कार्यक्रम र भगिनी सम्बन्धबारे पनि गठबन्धन बोलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?