गाउँपालिकामा माओवादी केन्द्रको घोषणापत्र : सिञ्जा सभ्यताको पहिचान विश्वसामु पुर्‍याउने प्रतिबद्धतादेखि रोजगारीको सुनिश्चिततासम्म

Read Time = 4 mins
A A- A+

विजय रावत/हिटा
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्दै सिञ्जा संग्रहालय स्थापनादेखि रोजगारीको सुनिश्चिततासम्मलाई जोड दिएका छन् । माओवादीले सिञ्जा सभ्यतालाई संरक्षण गर्नका लागि विश्व सम्पदा सूचीमा लिखित दस्तावेज प्रस्तुत गर्नेसमेत उल्लेख गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले सिञ्जा सभ्यताको पहिचान दिलाउन र सभ्यताभित्र भएका हरेक क्रियाकलापको संरक्षण गर्न योजना बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘सिञ्जा आफैंमा एक शक्तिशाली राज्य हो । तर, पछिल्लो समयमा केन्द्रीकृत सत्ताका कारण सधैँ ओझेलमा परिरहृयो । अब स्थानीय सरकारले सिञ्जाको पहिचान दिने खालका नीति कार्यक्रम तर्जुमा गर्नेछ । जसका कारण नेकपा माओवादीको उम्मेदवारी हो ।’

माओवादीले प्रत्येक वडा कार्यालयका केन्द्रहरूमा १० घर नयाँ शहरको स्थापना गर्ने जनाएको छ । उपभोक्ता समितिको मनपरीका कारण अनियमितता मौलाएकाले अब श्रम संगठन बनाउने गरी घोषणापत्र बनाएको छ । श्रमिकका खातामा पारिश्रमिक पठाउने व्यवस्था गर्ने, युवालाई रोजगारीमा प्राथमिकता दिने, नतिजाका आधारमा शिक्षक प्रोत्साहन तथा पुरस्कृत कार्यक्रम ल्याउने, भ्रमणको व्यवस्था गर्ने माओवादीको घोषणापत्रमा उल्लेख छ ।

यस्तै सबै विद्यालयमा इन्टरनेट जडान, पक्की तथा बालमैत्री विद्यालय भवन निर्माणदेखि आधारभूत व्यवस्थापनमा जोड दिइने अध्यक्षका उम्मेदवार धितालले जानकारी दिनुभयो । सिञ्जाका अति विपन्न नागरिकका लागि आवासको व्यवस्था गर्ने, सिञ्जा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाका रूपमा विकास गर्नेसमेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

कृषिमा ‘एक गाउँ एक कृषि’ उत्पादन र सहकारी उत्पादन तथा रैथाने कृषि वस्तुको बजारीकरणमा जोड दिने घोषणापत्रमा समेटिएको धितालले जानकारी दिनुभयो । त्यस्तै हरेक घरको एकजनालाई रोजगारमा जोड्ने नीति अवलम्बन गर्ने माओवादीले जनाएको छ ।

सिञ्जा गाउँपालिकाको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गर्ने, नाग्म-गमगढी राजमार्गदेखि पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने, भेडापालन व्यवसायलाई प्रवद्र्धन गरी ऊन र राडीपाखी उत्पादनमा जोड दिने, जल, जमिन र जडीबुटीबाट प्राप्त लाभलाई राजस्वको दायरामा ल्याइने घोषणापत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?