धानविज्ञ स्वर्गीय बस्नेतको धानसम्बन्धी पुस्तक विमोचन

Read Time = 4 mins

काठमाडौं । धानविज्ञ स्वर्गीय भोलामान सिंह बस्नेतद्वारा लिखित ‘धानमा आत्मनिर्भरताको पाटो, बाली विज्ञानको व्यावहारिक बाटो’ नामक पुस्तक विमोचन गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक दीपककुमार भण्डारी, वरिष्ठ अर्थविद् डा. माणिकलाल श्रेष्ठ, पुस्तक सम्पादक गोविन्द लुईंटेल र लेखक स्वर्गीय बस्नेतकी सुपुत्री प्रज्ञा बस्नेतलगायतले संयुक्तरूपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा कृषिमन्त्री यादवले कृषि नै विकास र समृद्धिको आधार भएकाले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रविधिको अधिकतम् प्रयोगगरी उत्पादन बढाउन सकिने उहाँको भनाइ थियो । नेपालको प्रमुख खाद्यान्न बाली धानको अनुसन्धान, विकास र उत्पादनमा स्वर्गीय बस्नेतको योगदानको चर्चा गर्दै मन्त्री यादवले विमोचित पुस्तक बस्नेतले देश र किसानका लागि उपहारका रूपमा छाडेर जानुभएको बताउनुभयो । पुस्तक किसान, विज्ञ, नीति निर्माता सबैका लागि निकै उपयोगी हुने पनि उहाँले बताउनुभयो । साथै मन्त्री यादवले धानविज्ञ स्वर्गीय बस्नेतको योगदानको कदरस्वरूप उहाँका नाममा स्थापना हुने कृषि पत्रकारिता पुरस्कारका लागि पनि मन्त्रालयको सहयोग रहने आश्वासन दिनुभयो ।

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक श्रीराम सिंह बस्नेतले स्वर्गीय बस्नेत मिडियामैत्री पनि रहेकाले उहाँका नाममा कृषि पत्रकारिता पुरस्कार स्थापना गर्न उपयुक्त हुने बताउनुभएको थियो । सोही प्रसंगमा मन्त्री यादवले पनि सहयोगको आश्वासन दिनुभएको हो ।
कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा. भण्डारीले स्वर्गीय बस्नेतले धान उत्पादन बढाउन चैते धानमा जोड दिनुपर्ने बताउने गरेको भन्दै नार्क चैते धानको जात र प्रविधि विकासमै केन्द्रित रहेको बताउनुभयो । पुस्तक सम्पादक गोविन्द लुईंटेलले आफ्नो क्षेत्रमा स्वर्गीय बस्नेतको समर्पण र सक्रियता उदाहरणीय रहेको बताउनुभयो । असार १५ मा राष्ट्रिय धान दिवस मनाउन उहाँको महत्वूर्ण योगदान रहेको उहाँले बताउनुभयो ।

मिलापद्वारा आयोजित कार्यक्रममा स्वर्गीय बस्नेतकी धर्मपत्नी अञ्जली बस्नेत र सुपुत्री प्रज्ञा बस्नेतले मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकेमात्रै स्वर्गीय बस्नेतको आत्माले शान्ति पाउने बताउनुभएको थियो । कार्यक्रमको सहजिकरण कवि तथा पत्रकार ठाकुर बेल्बासेले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?