बनेन रङ्गशाला : पूर्वाधारको रडमा लाग्यो खिया

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । क्रंक्रिटको ५० मिटरको पर्खालबाट छरपष्ट निस्किएका रडमा खिया लाग्न थालेको छ । पर्खाल वरपरको क्षेत्र झाडीले पुरिएको छ । पाँच वर्षअघि निर्माणहुँदाहुदै बीचमै रोकिएको बागलुङको बाङ्गेचौर खेल मैदानको पूर्वाधारले खेल क्षेत्रलाई गिज्जाइरहेको छ ।

रङ्गशाला बिस्तार गर्न हाल भैरहेको खेल मैदानभन्दा ५० मिटर तल क्रंक्रिटको पर्खाल लगाउन थालिएपनि बीचमै अलपत्र पर्दा कंक्रिटबाट निस्किएका रडमा खिया लागेका छन् । रामरेखा सामुदायिक वन भित्र पर्ने उक्त पूर्वाधारको अघि र पछि सल्लाका रुख हटाउन नसक्दा जंगलको बीचमा ठडिएको पर्खाले जो कोहीलाई अचम्मित पार्ने गरेको छ ।

बागलुङको बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउनका लागि थालिएको पूर्वाधार निर्माण अहिले पाँच वर्षदेखि अलपत्र बनेको छ । खेलमैदान भन्दा ५० मिटर तलबाट निर्माण थालिएको क्रंक्रिटको पर्खालमा ठडिएका रडमा खिया लागेको छ भने पर्खालको अघि र पछि झाडीले पुरिएको छ ।

पाँच वर्ष अघि मात्रै संघीय सरकारको रु. ५० लाख र गण्डकी प्रदेश सरकारको रु. ३० लाख गरी ८० लाखको लगानीमा निर्माण थालिएको पूर्वाधार बिग्रन थालेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । रङ्गाशाला बनाउन उक्त शिर्षकमा रकम आएर, पूर्वाधार विस्तारगर्न रुखहरु बाधक बनेपछि अहिले पूर्वाधारहरु विग्रन थालेको हो ।

“रङ्गशाला बनाउन धेरै पहिला पहल भएको थियो, बजेटले निरन्तरता पाउन सकेन, पहिला बनाएको पूर्वाधार समेत जीर्ण बन्न थालेको छ, रडमा खिया लाग्न थालेको देख्न सकिन्छ, पूर्वाधार निर्माणका लागि पछिल्लो समय बागलुङ नगरपालिका र संघीय सरकारले साझेदारीमा बजेट विनियोजन गरेको थियो” खड्काले भन्नुभयो “खेल क्षेत्रमा राज्यको दृष्टिकोण कम छ, बजेट आएपछि रुख काट्न नसक्दा अहिले काम हुन सकेन, भएका पूर्वाधारलाई समेत जोगाउन अब समस्या हुन्छ ।”

संघीयता पछिनै दुई पटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना पुरा नभएको खेलप्रेमीहरु बताउछन् । तत्कालिन समयमा पूर्वाधार निर्माण गरिएको योजनामा बजेट नआएपनि स्थानीय र संघको साझेदारीमा बहुवर्षे योजनामा रु. ८ करोड बजेट सुनिश्चितता भएपनि १५० रुख काट्न नसक्दा उक्त समेत बजेट फ्रिज भइसकेको छ ।

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाङ्गेचौर खेलमैदानलाई रङ्गाशाला बनाउनका लागि डिपिआर बन्यो, निर्माणको काम थालियो तर पूर्वाता भने पाउने सकेन । रङ्गशालाको डिपिआर अनुसार खेलमैदानको पूर्वपट्टी गरिएको ८० लाख लगानी खेर जाने अवस्थामा पुगेको छ ।

डिपिआर अनुसारको रङ्गशाला बनाउन पूर्व पट्टी मात्रै रु. ८ करोड खर्च गर्ने भनिए पनि बजेट कार्यान्वयन गर्न नसक्दा यसै वर्ष देखि साझेदारीको बजेट आउन छोडेको हो । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपुरक योजनामा समावेश गरेकै चार वर्ष भयो भने लगातार बजेट आउदा समेत बजेट कार्यान्वयन हुँन नसकेको हो ।

आधारभूत रङ्गशाला निर्माणका लागि आवश्यक रु. ८ करोड २२ लाख बजेट समेत विनियोजन भयो, तर रङ्गशाला विस्तारमा वन बाधक बनेपछि कार्यान्वयनमा आउन नसकेको हो । त्यही वनमा निर्माण गरेको पूर्वाधारहरुभने जीर्ण बन्न थालेको छ भने रडमा खिया लाग्न थालेको छ ।

बागलुङ नगरपालिकाको रु. चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रु. चार करोड ११ लाख बजेट तीन वर्ष लगातार आएपनि कार्यान्वयन गर्न नसकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

डिपिआरमा उल्लेख भएअनुसार रङ्गाशाला निर्माण गर्नका लागि रामरेखा सामुदायिक वन भित्रको झण्डै १५० रुख फडानी गर्न आवश्यक रहेपनि वनले समन्वय गर्न नसक्दा करोडौँको बजेट कार्यान्वयनमा नआएको हो ।

बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन भए पनि संक्षिप्त वातावरणीय मुल्याङ्कनले रुख कटान गर्न नदिने भन्दै वातावरणी प्रभाव मुल्ल्याङ्कन गर्न एक वर्ष लाग्नेभएपछि बजेट कार्यान्वयनमा अनाएको हो । तत्कालीन खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) रु. ३० लाख खर्चेर तयार गरिएको थियो । डिपिआरमा रङ्गाशाला बनाउन रु. ३० करोड भन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको छ ।

डिपिआर अनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लोभागमा मैदान बढाउनुपर्ने र मैदान बढाउदा १५० भन्दा बढी सल्लाका रुखहरु कटान गर्न आवश्यक देखिएको छ । त्यहीअनुसार पूर्वमा पाँच वर्ष अघिनै पूर्वाधार निर्माण गर्न थालिएको भएपनि तत्कालिन समयमा रुख कटान गर्न नसक्दा पूर्वाधार निर्माण बीचमै रोकिएको थियो । वातावरणीय प्रभाव मुल्याङ्कन नगरी रुख काट्न नगरपालिकाले नसक्ने बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो ।

खेलमैदानको पूर्वतर्फ प्याराफिटलगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुखद् रहेको बताउदै घर्तीले वन मान्त्रालयमा फाइल डुल्दाडुल्दै बजेट फर्केको बताउनुभयो । घर्तीले पहिलै पूर्वपट्टी संघ र प्रदेशको योजनामा केही क्रंक्रिटको पर्खाल लगाइएकोमा उक्त पर्खालबाट निस्किएका रडमा खिया लागिसेको जानकारी दिनुभयो । करिब ३५ रोपनी जग्गामा फैलिएको खेलमैदानमा रङ्गशाला बनाउन समन्वयको अभाव रहेको पाइएको जिल्ला फुटवल संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?