लिगमा एपिएफको जित

Read Time = 3 mins

काठमाडौं । नेपाल एपिएफ क्लबले काठमाडौंमा जारी छैटौँ आरबिबि/एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलामा मंगलबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपिएफले नेपाल आर्मीलाई २७-२५, १३-२५, २५-२१ र २५-२३ को सेटमा पराजित गर्‍यो ।

महिलामै एभरेस्ट क्लब, बुटवलले न्यु डायमन्ड एकेडेमीलाई २६-२४, १३-२५, २०-२५, २५-२१ र १५-१३ ले हरायो । नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई १३-२५, २७-२५, २८-२६, १४-२५ र १५-१३ तथा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५-१२, २५-११ र २५-२२ ले पन्छायो ।

यस्तै नेपाल पुलिस क्लबले पुरुषतर्फ लगातार दोस्रो जित निकाल्नेक्रममा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले दोस्रो जित निकाल्यो । पुलिसले ढोरपाटनमाथि २५-११,२५-२० र २५-११ को जित निकालेको हो । जितसँगै पुलिसले दुई खेलमा ६ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा पुलिसले गलकोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

लिगमा पुरुषतर्फ सात टिम र महिलातर्फ पाँच टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेस्ट मावि रहेका छन् । विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?