बिर्सिएका नायकः शिक्षाका लागि गोली खाने गणेशमान पालिखे

हिमालय टाइम्स
Read Time = 31 mins

-दुर्गा रानामगर

पोखरा एक्कासि घर बाहिर गोली चलेको पट पट आवाज आयो। हो हल्ला भयो। एकैछिनमा आफ्नो श्रीमान् गणेशमान पालिखेलाई गोली हानी मारिएको गंगादेवीले थाहा पाउनुभयो।

साँझ करिब ५ बजेको समय थियो। दिन थियो २०६२ जेठ २९ गते। दिनभरसँगै बसेर केही बेर अघिमात्रै छुट्टिनु भएको थियो भाइ विश्वशंकर पालिखे। महेन्द्रपुलमा रहेको पालिखे ढाका टोपी पसलको अघिल्तिर गाडी रोकेर बुवा गणेशमान पालिखेले मुस्कुराएर हेर्दा बुबासँगै घर जाउँ जाउँ की लागेको थियो धर्मछोरा देवी पनेरूलाई, तर जानुभएन। यता श्रीमती गंगादेवी पालिखे पोखरा नागढुङ्गामा रहेको घरको बारीमा काम गर्दै हुनुहुन्थ्यो। घरमा भोलिको लागि कुल पूजाको तयारी चलिरहेको थियो।

बुबालाई गोली हानिएको खबर सुन्न साथ कान्छा छोरा राजेश पालिखे पसल बन्द गरेर घर आउनुभयो। बुबालाई अस्पताल लगेको थाहा पाउनुभयो। उहाँलाई मनमा लागेको थियो अस्पताल लगिसकेको रहेछ, बा ठीकै हुनुहुन्छ होला। तर घरको गेट अगाडि एक्कासि तीन तिरबाट योजनाबद्ध रुपमा आएका माओवादी हतियारधारीहरूले गाडीबाट ओर्लनासाथ घेरेर उहाँको टाउकोमा हानेको गोलीले घटनास्थलमा नै निधन भइसकेको रहेछ। उहाँको सुरक्षार्थ खटिएका दुईजना सुरक्षाकर्मीलाई पनि गोली हानेर मारिएको थियो। त्यस दिन पोख्रेली स्तब्ध भएका थिए। त्यसदिन पोखराले एक नायक गुमाएको थियो।

-श्रीमान्‌सँगको पुरानो तस्बिरका साथमा श्रीमती गंगादेवी-

यसपालि जेठ २९ आयो गयो। क्याम्पसको एउटा नियमित श्रद्धाञ्जली सभा र सामाजिक सञ्जालमा केही पोष्ट आए गणेशमान पालिखेको सम्झनामा तर खासै चर्चा भएन। पोखरेलीले र सायद समग्र नेपालीले गणेशमान पालिखेलाई बिर्संदै गएका हुन्रु तर गणेशमान पालिखे बिर्सन हुने नाम चाहिँ होइन। केटाकेटीलाई शिक्षा दिलाउनका लागि माओवादी आतंक र बन्दुकका अगाडि छाती चौडा पारेर उभिन सक्ने बहादुरको नाम हो गणेशमान पालिखे।

 बरु मर्छु तर यो क्याम्पस बाँच्नुपर्छ

गणेशमान पालिखेले भन्नुभएको नै थियो, “म बाँचेर यो क्याम्पस जल्यो भने बाँचेको के अर्थ भयो र ? बरू म मर्छु तर यो क्याम्पस बाँच्नुपर्छ।” जनप्रिय बहुमुखी क्याम्पस पोखराका संस्थापक क्याम्पस प्रमुख रहनुभएको उहाँले भनेजस्तै भयो। क्याम्पस र विद्यार्थीका लागि उहाँ मर्नुपर्‍यो र आज जनप्रिय बहुमुखी क्याम्पस बाँचिरहेको छ। उहाँको नेतृत्वमा २०४८ मा स्थानीयको जनसहभागितामा स्थापना गरिएको थियो जनप्रिय बहुमुखी क्याम्पस। सुरुमा पोखरा वडा नं ८ सिमलचौरमा रहेको जनप्रिय उच्च माध्यमिक विद्यालयमा नै क्याम्पस राखेर अध्यापन सुरु गरिएको थियो। पछि गणेशमान कै पहलमा तल्लो सिमलचौर हालको एयरपोर्ट नजिकै रहेको सार्वजनिक जग्गामा भवन निर्माण गरि क्याम्पस स्थानान्तरण गरिएको थियो। उहाँ क्याम्पसको जग्गादेखि भवन निर्माणका लागि चन्दा संकलन गर्ने सबै कामका लागि दिनरात खट्‍नु भएको थियो।

जनप्रिय क्याम्पसका लागि हालको जग्गा प्राप्त गर्नका लागि ठूलो जोखिम उठाएर संघर्ष गर्नु परेको थियो। उहाँ बिहान देखि बेलुकी र छुट्टिका दिनमा पनि क्याम्पस नै पुग्नुहुन्थ्यो। जनप्रिय बहुमुखी क्याम्पसमा मानविकी, व्यवस्थापन र विज्ञान सङ्कायमा अध्यापन भइरहँदा पछि उहाँको नै विशेष पहलमा बीबीए कार्यक्रम २०६० सालमा ल्याउन सफल भएको थियो। त्रिविविले काठमाडौँ बाहिर बीबीए कार्यक्रमका लागि कतै पनि स्वीकृति दिएको थिएन। तर उहाँको व्यक्तित्व र विशेष पहलमा नै स्वीकृति लिएर जनप्रिय क्याम्पस काठमाडौँ बाहिर बीबीए कार्यक्रम सञ्चालन गर्ने पहिलो क्याम्पस बनेको थियो।

उहाँको विद्यार्थी तथा हालको क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले बीबीए कार्यक्रम काठमाडौँ बाहिर कसैले लैजान नसकेको अवस्थामा उहाँको पहलले नै पहिलोपटक पोखरामा बीबीए कार्यक्रम ल्याइनुले पालिखेको व्यक्तित्व र शिक्षा प्रतिको उहाँको प्रेमलाई दर्शाउने बताउनुभयो। बराल भन्नुहुन्छ, “त्रिविविबाट त्यसपश्चात् १२ वर्षसम्म कसैले पनि बीबीएका लागि अनुमति लिन सकेन। त्यसैले पनि पालिखे सरको त्यतिबेलाको त्यो पहलले आज क्याम्पसले यति प्रगति गर्न सकेको छ।” त्यतिबेलाको विद्यार्थी कल्याणकारी क्लबको अध्यक्ष समेत भएर काम गर्नुभएको उहाँको नजरमा पालिखे विद्यार्थीमैत्री हुनुहुन्थ्यो, अनुशासनमा रहनुपर्ने र सधैँ विद्यार्थीलाई प्रोत्साहन र प्रेरित गर्ने बानी उहाँमा थियो।

क्याम्पसमा सहायक प्रशासक तथा पारिवारिक सम्बन्ध समेत रहेको महादेव पालिखे भन्नुहुन्छ, “उहाँ अरुभन्दा फरक नै हुनुहुन्थ्यो। विद्यार्थी, कर्मचारीलाई एकदमै माया मान्नुहुन्थ्यो। उत्तरदायित्व बहन गर्ने शिक्षकलाई माया गर्नुहुन्थ्यो तर अल्छि गर्ने शिक्षकलाई उहाँले तुरुन्तै बिदा गर्न पनि पछि पर्नु हुँदैन्थ्यो। त्यो अवस्था क्याम्पसमा अहिले छैन।”

उहाँले आर्थिक दृष्टिकोणले कमजोर विद्यार्थीलाई उदारतापूर्वक छात्रवृत्ति प्रदान गर्नुहुन्थ्यो। आर्थिक अवस्था कमजोर भएका कारणले नै पढ्न नपाउने अवस्था विद्यार्थीलाई थिएन। उहाँले गाँसबासको व्यवस्था गरिदिएर भएपनि विद्यार्थीलाई पढ्नका लागि वातावरण मिलाइ दिनुहुन्थ्यो। यसको एक उदाहरण हुन् देवी पनेरु। गोरखाबाट क्याम्पस पढ्न आउनुभएको पनेरुलाई उहाँले आफ्नै घरमा बस्न दिनुभयो। सरबाट उनीहरूको सम्बन्ध बुबाछोरा परिणत भयो। धर्मछोरा बनाउनुभएको उहाँले पनेरुलाई जीवनमा प्रगति गर्नुपर्छ भनेर निरन्तर घचघच्याइरहनुहुन्थ्यो। पनेरुका लागि पनि उहाँ जन्म दिने पिताजीभन्दा कर्म दिने पिताजी बढी महान ठान्नुभएको थियो। बुबालाई सम्झदै उहाँ भन्नुहुन्छ, “बुबाको मन निकै कमलो थियो, दुःख परेको देख्न सक्नुहुन्थ्येन। क्याम्पसका विद्यार्थीका लागि आफैले खर्च गरेर सहयोग गर्नुहुन्थ्यो। म यहाँसम्म आउनुमा बुबाको ठूलो देन छ।” हाल क्याम्पसका परीक्षा शाखा प्रमुख तथा जनप्रिय क्याम्पस कर्मचारी संघको अध्यक्षसमेत रहनुभएको पनेरुलाई बुबाले सँधै अरुलाई सहयोग गर्नुपर्छ भनेको याद आउने गरेको छ।

तत्कालीन जनप्रिय उच्च माविका अध्यक्ष एवं जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य रहनुभएको बीरेन्द्रनारायण बिजुक्छेसँग क्याम्पस प्रमुख गणेशमान दिनहुँ भेटिरहनु हुन्थ्यो। राजनीतिक सम्बन्ध, पारिवारिक, विद्यार्थीको नाताले नजिक रहेको उहाँहरूको बीचमा क्याम्पसको प्रगति तथा विकासको सन्दर्भमा छलफल चल्थ्यो। बिजुक्छे भन्नुहुन्छ, “घरपरिवारबाहेक उहाँको सबैभन्दा मिल्ने मान्छे थिए म। उहाँसितको सङ्गतले धेरै कुरा सिक्न पाएँ।” २०५४ सालमा वडा नं ८ का वडा अध्यक्ष निर्वाचित भएपछि अझै नजिक भएर बिजुक्छेले उहाँसँगै काम गर्नुभयो। क्याम्पस तथा विद्यालय, राजनीतिक गतिविधि, समसामयिक विषयहरू, क्याम्पसका लागि भावी कार्यक्रमहरू जस्ता गम्भीर विषयमा गणेशमान छलफल गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्छ, “घरभन्दा बढी माया क्याम्पसको थियो उहाँलाई। सो घटनाले शैक्षिक जगतमा ठूलो क्षति पुर्‍यायो ”

परम्परासँग विद्रोह शिक्षण पेसा

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको तीनजना श्रीमतीमध्येकी जेठी श्रीमती दिलमाया पालिखेको छोरा हुनुहुन्थ्यो गणेशमान पालिखे। पालिखेहरूको बस्ती, उतिबेलाको साँघुको मुख र हालको पोखराको पालिखे चोकमा, उहाँ वि.सं १९९९ जेठ २२ गते जन्मनुभएको थियो। काँग्रेस परिवारमा हुर्कनु भएकाले उहाँ प्रजातन्त्रवादी र काँग्रेसप्रति प्रतिबद्ध हुनुहुन्थ्यो।

उहाँ वि. सं २०२२ सालमा कास्कीमा एमकम गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो। त्यसलगत्तै २०२३ मा जर्मनीबाट उहाँले डिप्लोमा इन इन्डष्ट्रियल म्यानेजमेन्टको शैक्षिक उपाधि हासिल गर्नुभएको थियो। उहाँले सोही वर्षदेखि पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापकको नियुक्ति लिएर पूर्ण रूपमा प्राध्यापन पेसाको सुरुवात गर्नुभएको थियो। उहाँले २०३० सालदेखि २०३२ सम्म पृथ्वीनारायण क्याम्पसको प्रमुखको रुपमा नियुक्त हुनुभयो। ३१ वर्षको उमेरमा नै उहाँले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालि सक्नुभएको थियो। २०४६ मा क्याम्पसबाट स्वेच्छिक अवकाश लिएपछि २०४८ मा जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख भएर काम गर्नुभयो। त्यस पश्चात अनवरत रुपमा क्याम्पसका लागि नै काम गर्नुभयो।

घरको जेठो छोरा भएकाले बुबा दयाशंकरलाई आफ्नो व्यापार व्यवसाय छोराले धानेर अघि लगिदिए हुन्थ्यो भन्ने आश थियो। तर यसको ठीक विपरीत उहाँले सुरुमा आफ्नो परिवारको व्यापार व्यवसायमा रुचि देखाउनु भएन। भाइ विश्वशंकर पालिखे भन्नुहुन्छ, ‘हामीहरूको पहिलेदेखि घरको छोरा अझ जेठो छोराले बाउबाजेको व्यापार धान्ने चलन थियो। तर दाइले चाँहि शिक्षण पेशा रोज्नुभयो र पैतृक पेशालाई चटक्क बिर्सनुभएको थियो। तर योसँगै उहाँमा केही गर्नुपर्छ भन्ने नयाँ उद्यमशीलताको सोच पनि थियो।’

आमा दिलमाया पालिखे सानै छदाँ निधन भएकाले बुबा दयाशंकरलाई अरुभन्दा बढी आफ्नो जेठो छोराप्रतिको चिन्ता पनि थियो। भाइ विश्वशंकर भन्नुहुन्छ, ‘नेवार समुदाय हामी अलिकति कन्जरभेटिभ भएको हुनाले दाइ पोखराबाट बाहिर काममा जाने क्रममा त्यतिबेला परिवार र आफन्तबाट त्यति धेरै माया र सहयोग मिलेन। यसले गर्दा बालाई मेरो छोराले दुःख पायो भनेर चिन्ता थियो। त्यसैले नै उहाँले दाइलाई पढ्नका लागि काठमाडौँ पठाउनुभयो।’अध्यापन पेसामा रहदा नै पछि गएर गणेशमानले आफ्नै परम्परागत पेसा पालिखे ढाका टोपी उद्योग सञ्चालन गरी व्यापार र राजनीतिमा सक्रिय भएर अघि बढ्नुभएको थियो। उहाँले भाइ विश्वशंकरलाई निरन्तर प्रोत्साहन गर्नुहुन्थ्यो। भाइ विश्वशंकर सम्झदै भन्नुहुन्छ, “दाइले हामी पालिखेहरूको इज्जत छ, तिमी टाठाबाठा पनि छौ, तिमीले अझ बढी गर्नुपर्छ भन्नुहुन्थ्यो। अझ बढी गर्न प्रोत्साहन गर्नुहुन्थ्यो।”

बाहिर कडा भित्र दयालु

पालिखे चोकमा मथुरा श्रेष्ठको कपडा पसल थियो। बुबालाई सहयोग गर्न गंगादेवी पसलमा आउनुहुन्थ्यो। पसलमा आउनेजाने क्रममा नै गणेशमानको आँखामा पर्नुभयो गंगादेवी। त्यस पश्चात गणेशमान र गंगादेवीबीच चिठ्ठी आदानप्रदान भयो। परिवारले चाल पाएपछि दुवैको परिवारले खुसी भएर उनीहरूको सम्बन्धलाई स्वीकारे। २०२३ सालमा दुवैको धुमधामले बिहे भयो। गंगादेवी बिवाहका दिनहरू सम्झदैँ भन्नुहुन्छ, “उहाँ मान्छे हेर्दा एकदमै राम्रो। गोरो, अग्लो। बिहेपछि हामी दुईलाई सबैले कस्तो चन्द्र सूर्यजस्तो भन्नुहुन्थ्यो।” गणेशमानले देशविदेश जहाँ जाँदा पनि गंगादेवीलाई सँगै लैजानुहुन्थ्यो। घुम्न, फोटो खिच्न, कपडा र खानामा गणेशमान सौखिन हुनुहुन्थ्यो। उहाँको फोटोका मात्र १२, १३ वटा एल्बम छन् घरमा। ती फोटोहरूलाई बेलाबखतमा आज पनि हेर्नु हुन्छ गंगादेवी। भावुक हुँदै गंगादेवी भन्नुहुन्छ, “जति पुरानो भएपनि याद आउने रहेछ।” उहाँहरूको तीन सन्तान दुई छोरा रमेश र राजेश र एक छोरी जन्मिए। उहाँले भन्नुहुन्छ, “बाहिर जति कडा भएपनि भित्र उहाँ निकै दयालु हुनुहुन्थ्यो। अर्कोको दुःख देख्ने बित्तिकै सहयोग गरिहाल्नुहुन्थ्यो।”

पहिले संयुक्त परिवारमा पालिखे चोकमा बस्नुहुन्थ्यो गणेशमान र उहाँको परिवार। पछि छुट्टिएर पोखरा नागढुङ्गामा घर बनाएर आफ्नो श्रीमती र बच्चासँग यतै बसोबास गर्न थाल्नुभयो। यो घटना सम्झदै गंगादेवी भन्नुहुन्छ, “घरमा अलिअलि वादविवाद हुन्थ्यो। खाना खाने क्रममा उहाँले मेरो आँखामा आँशु देख्नुभयो। त्यसपछि उहाँले म हुँदाहुँदै तिमीले अब खाना खाने बेलामा आँशु लिएर बस्नुपर्ने भयो भन्नुभयो। कसले के भन्यो भनेपछि त्यति कुरामा छुट्टिएर हामीलाई नागढुङ्गा ल्याउनुभयो।”

सधैँ बिहान ३ बजे नै उठेर नुहाएर, तयार भएर क्याम्पस पुग्ने र बेलुकी १० बजेमात्र घर आउने उहाँको दिनचर्या थियो। “क्याम्पसका लागि जे पनि गर्न तयार हुनुहुन्थ्यो। आफैले बनाएको भएर पनि क्याम्पसको माया धेरै थियो। १०, १५ जना विद्यार्थीहरू हाम्रै घरमा खाना खान्थे। कति यही घरमा बसे। दीन दुखी देखेपछि सहयोग गर्नुपर्छ भन्ने मनमा थियो। घरका लागि बरु त्यति धेरै गर्नुभएन। नाम कमाउनुभयो तर आफ्नो घरको भविष्यका लागि बन्दोबस्त केही पनि गर्न सक्नुभएन” गंगादेवी सम्झदैं भन्नुभयो। उहाँ गरिब र परिश्रमीलाई औधी माया गर्ने तर अल्छि गर्नेका लागि उहाँ खरो भएर उभिने खालको हुनुहुन्थ्यो, गंगादेवी सम्झनुहुन्छ।

उहाँको जेठो छोरा ब्रेन ह्यामरेजका कारण घरमा नै आराम गर्नुहुन्छ। कान्छा छोरा राजेश अहिले पनि बुबाले सुरु गर्नुभएको महेन्द्रपुलको पालिखे ढाका टोपीलाई सञ्चालन गर्नुहुन्छ भने छोरी विदेशमा हुनुहुन्छ। कान्छा छोरा राजेश पालिखेलाई अझै पनि बुबाले पढ्नुपर्छ भनेर दिएको सल्लाह नमानेको पछुतो लाग्छ। उहाँले भन्नुहुन्छ, “छोरा पढ्नुपर्छ भन्नुहुन्थ्यो। मेरो दाइले पढ्नुभयो। म पढ्न सकिन। बुबाले भनेको नमानेकोले आज पनि पछुतो लाग्छ। पढाइ नभएपछि गाह्रो हुने रहेछ।” उहाँको नजरमा बुबा गणेशमान निडर र नेतृत्व लिन सक्ने व्यक्तित्व हुनुहुन्थ्यो। “राम्रो काम गरेपछि कसैले केही गर्न सक्दैन भन्ने विश्वास थियो बाबालाई। घरमा दुईवटा ओछ्‌यान पनि देख्न हुन्थेन, बुबाले कोही विद्यार्थीलाई दिनुपरे लगि हाल्नुहुन्थ्यो। क्याम्पसका लागि आफूसँग भएको सबै थोक दिनुभएको हो” छोरा राजेशले भन्नुभयो। २०४२र४३ सालतिर गणेशमानले अर्को विवाह नरमाया पालिखेसँग गर्नुभयो। जसबाट उहाँको दुई छोरी छन्। उहाँ पहिलेदेखि नै अलग्गै बस्नुभयो। गंगादेवी भन्नुहुन्छ, “हाम्रो कहिल्यै झगडा परेको थिएन। उहाँले अर्को बिहे गरेपछि भने हाम्रो झगडा भएको थियो। उहाँले मसँग माफी पनि माग्नुभयो।”

मृत्युको बीउ

तत्कालीन सशस्त्र द्वन्द्वमा रहेका माओवादीको इगोका कारण मारिएको बताउनुहुन्छ छोरा राजेश। उहाँ भन्नुहुन्छ, “बुबाले आफ्नो मृत्यु आफैले निम्त्याएको जस्तो लाग्छ। उहाँ पछि नहट्ने र यो कुरा माओवादीहरूले इगोका रुपमा लिएपछि बुबालाई मारिएको हो।” पिएन क्याम्पस अगाडि लक्ष्यबहादुर गुरुङलाई माओवादीले गोली हानी सकेपछि प्रहरीले लखेट्ने क्रममा क्याम्पसभित्र भागेका थिए। यसरी क्याम्पसभित्र गएर आफ्ना विद्यार्थीहरूलाई दुःख दिएको भन्दै अखिल क्रान्तिकारीले विरोध गरी शैक्षिक संस्था बन्द गर्न लगाएका थिए। जनप्रिय बहुमुखी क्याम्पस पनि केही समय बन्द नै थियो तर परीक्षा चलिरहेको समय भएकाले गणेशमानले क्याम्पस बन्द गर्न मान्नुभएन। विद्यार्थीको शिक्षणमा असर पर्ने बताउँदै उहाँले क्याम्पस बन्द नगर्ने नै बताउनुभयो। त्यसक्रममा उहाँलाई फोन धम्की आउन थाल्यो। श्रीमती गंगादेवी भन्नुहुन्छ, “रातभरि फोन आउथ्यो उहाँलाई। धम्की दिन्थे।”

त्यस समयमा उहाँसँगै रहनुभएको बीरेन्द्रनारायण बिजुक्छे भन्नुहुन्छ, “उहाँलाई यति धम्की आउँदा पनि उहाँ डराउनुभएन। मैले अन्याय गरेको छैन। म किन डराउने भन्नुहुन्थ्यो।” हालका क्याम्पस प्रमुख कृष्ण बाबु बराल धम्की आइरहेको छ भन्ने थाहा पाएपछि गणेशमानलाई भेट्न क्याम्पस पुग्नुभएको थियो। भेटमा पनि उहाँको अनुहारमा डर कतै नदेखिएको र आत्मविश्वासका साथ उभिएको देखेका बरालले अझै पनि उहाँको त्यो अनुहार सम्झनुहुन्छ।

२०६१ फागुन २४ मा नियमित क्याम्पस चलिरहेको क्रममा दुईजना अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पसभित्र उहाँलाई कार्यकक्षमा लगें। कार्यकक्षमा नै पेट्रोल खन्याएर उहाँलाई आगो लगाउने प्रयास भयो। जसको प्रतिकार गर्दा दुईजना मध्ये एकजना भाग्न सफल भए भने अर्को व्यक्ति नवराज भण्डारीलाई समातेर प्रहरीको जिम्मा लगाइएको थियो। त्यसपछि गणेशमानलाई ज्यान मार्ने धम्कीको सुरुवात भयो। उहाँको अडान आफूले केही अन्याय र गल्ती नगरेको भन्ने थियो। उहाँ सधैँ कडा रुपमा नै प्रस्तुत हुनुभयो। अखिल क्रान्तिकारीले आफ्नो विद्यार्थीको रिहाईको माग गर्न थालेका थिए। भण्डारीको परिवारले पालिखेसँग आफ्नो छोराको अवस्था सार्वजनिक गर्न र रिहाइको माग गर्दै अनुरोध गरिसकेपछि प्रशासनले नै उहाँको स्थिति सार्वजनिक गरेको थियो। गणेशमानले भण्डारीको रिहाईका लागि पहल गर्ने र आफैले जीवनभर पढाइदिने वचन पनि बाबुलाई दिनुभएको थियो।

पहिलेको जनप्रिय क्याम्पस

त्यसक्रममा तत्कालीन कांग्रेस कास्कीका सभापति खेमराज पौडेललाई मानवअधिकारवादीहरूले माओवादीले कुनै पनि हालतमा पालिखेलाई कारबाही गर्ने बताएको छ भन्ने सूचना दिएका थिए। पौडेलले यसबारे गणेशमानलाई अवगत गराएर केही समय विदेश जान सुझाव पनि दिनुभएको थियो। उहाँले भन्नुहुन्छ, “केही हुन्छ कि भनेर हामीले प्रयास गरेका थियौं। उहाँ मान्छे निडर हुनुहुन्थ्यो। उहाँको सुरक्षाका लागि दुईजना सुरक्षाकर्मी पनि थिए। त्यसले पनि हो कि उहाँ मलाई केही हुन्न भन्नेमा विश्वस्त हुनुहुन्थ्यो।” मार्ने योजना छ भनेर थाहा पाउँदा पनि पालिखे निर्धक्क रुपमा हिँडिरहनुभएको थियो। पौडेलले काठमाडौँमा पालिखेलाई भेट्दा सम्झाउनु पनि भएको थियो तर उहाँ आफ्नो अडानबाट हट्नु भएन। क्रान्तिकारीका जिल्ला अध्यक्ष मदन आले जसलाई गणेशमानलाई कारबाहीको जिम्मा दिइएको थियो उहाँ र गणेशमानको व्यक्तिगत रुपमा कुराकानी पनि भएको थियो।

भाइ विश्वशंकर पालिखे त्यसबेलाको घटना सम्झदै भन्नुहुन्छ, “यस विषयमा दाइ र मेरो कुराकानी हुन्थ्यो। अधिकांश क्रान्तिकारीमा दाइको आफ्नो विद्यार्थी भएकाले पनि आफूलाई केही हुन्न भन्ने आत्मविश्वास उहाँमा थियो। मेरै विद्यार्थी हुन्। मैले सबैलाई राम्रो गरेको छु। म भागेर कति भाग्न सक्छु भन्नुहुन्थ्यो। जनतासँग चन्दा लिएर खोलिएको क्याम्पसलाई कसैले जलाउन आउँछ भने त्यसलाई बचाएको हुँ। मैले गल्ती गरेको छैन भन्ने अडान अन्तसम्म लिनुभयो।”

एक नायकको हत्या

नवराज भण्डारीको अवस्था सार्वजनिक गरेको एक साता भइसकेको थियो। घरमा कुल पूजाको तयारी थियो। बिहान खाना खाएर निस्कनुभएको थियो। क्याम्पस पुग्नुभयो। मालपोत काम सकेर साँझ ५ बजेतिर भाइ विश्वशंकर सहित अर्को एकजना व्यक्तिसँग छुट्टिनु भएको थियो। घरअगाडि रोक्नेबित्तिकै एक्कासि उहाँमाथि आक्रमण भयो। गाडीबाट उहाँ लड्दा चोट लागिसकेको थियो र त्यसमाथि नै उहाँलाई घेरेर शहरको बीच सडकमा, मान्छे हिडिरहेको समयमा नै गोली हानेर अपराधी फरार भए। त्यसको एकवर्षमा माओवादी शान्ति प्रक्रियामा गएको थियो।

भाइ विश्वशंकर भन्नुहुन्छ, “घटनामा को संलग्न थियो भन्नेमा हामीलाई आभास छ। तर त्यतिबेला देश शान्ति प्रक्रियामा गइसकेको र द्वन्द्वकालीन अवस्थामा मारिएको हुनाले पनि हामीले अघि बढाएनौ।” यस घटनाले पोखराले राजनीतिक, सामाजिक, शैक्षिक व्यक्तित्व गुमाएको बताउँदै यसले ठूलो क्षति गरेको भाइ विश्वशंकर बताउनुभयो। तत्कालीन कांग्रेस सभापति पौडेलले घटना भइसकेपछि क्रान्तिकारीका जिल्ला नेता मदन आलेसँग कुरा गर्दा उहाँले पार्टीको दबाबले यस्तो हुन पुगेको र नमार्नू पर्ने मान्छे मारिएको बताउनुभएको थियो।

हाल उहाँको स्मृतिमा क्याम्पसले वर्षेनी कार्यक्रम गर्दै आएको छ भने यस वर्ष बीबीए कार्यक्रमको भवनलाई गणेशमान पालिखे स्मृति भवन भनेर नामकरण गरिदिएको छ। यसबाहेक परिवारले क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना गरेको छ। गणेशमान पालिखे एक प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको प्रभाव, लगनशीलता र आत्मविश्वासले नै जनप्रिय क्याम्पस र पोखराको शिक्षा क्षेत्रको विकास सम्भव भयो।

उहाँको जीवन गाथा कुनै एक चलचित्रको फिक्सन कथाजस्तै छ। निडर, स्पष्टवक्ता, हक्की, दयालु, लड्न परे पछि नपर्ने, रोमान्टिक यिनै हुन् उहाँमा भएका गुणहरू। जीवनका अनगिन्ती उतारचढावहरू बीच जुधेर र अन्त्यमा भने खलनायकसँग लड्दालड्दै निर्मतापूर्वक मारिनुभयो। दुखद अन्त्य भयो तर आज १७ वर्षपछि पनि उहाँलाई सम्झनेहरूको मनमा उहाँ एक जीवित नायक हुनुहुन्छ। गणेशमान पालिखे अमर हुनुहुन्छ।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?