विवाद चुलिएपछि फुट्यो नेकपा, असन्तुष्ट बास्तोला-वली समूहद्वारा महासचिव विप्लव निष्कासित, क्रान्तिलाई धोका दिएको आरोप

Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट समूहले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारबाही गरेको छ । चितवनको पर्सामा बुधबारबाट सुरु विशेष भेलाले महासचिव विप्लवलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको हो । विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै निष्कासन गरिएको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ले जानकारी दिनुभयो । उहाँका अनुसार सिद्धान्तबाट विचलित भएर दलाल पुँजीवादी संसद्वादमा पतन हुँदै चुनावमा गएको भन्दै विशेष भेलाले निष्कासन गरेको हो । स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसिसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेकोलगायत आरोप असन्तुष्ट समूहले लगाएको छ । त्यस्तै, पार्टी प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि हटाइएको छ । भेलामा बहुमत केन्द्रीय सदस्य उपस्थित रहेको सो समूहले दाबी गरेको छ ।

केही दिन पहिले विप्लवले सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जम्मेवारीबाट मुक्त गर्नुभएको थियो । चुनावमा भाग लिएको विषयमा पार्टी निर्णयविपरीत वक्तव्य निकालेको भन्दै विप्लवले दुवै नेताको जिम्मेवारी खोस्नुभएको थियो ।

सबैभन्दा पहिले गत वैशाख १२ गते सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टी नीतिविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका कार्यकर्तालाई फिर्ता हुन भन्दै विज्ञप्ति जारी गरेपछि आन्तरिक विवाद चुलिएको थियो । पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यसहित जिल्ला तहका नेताले निर्वाचनमा भाग नलिने, यदि लिएमा पदबाट राजीनामा दिने निर्णय गरे पनि कार्यान्वयन नभएको भन्दै उम्मेदवारी फिर्ता लिन सचिवालयको तर्फबाट वक्तव्य जारी गर्नुभएको थियो ।

पार्टी निर्णय कार्यान्वयन गर्दै स्थानीय तहका उम्मेदवारी फिर्ता लिएर सहज वातावरण बनाउनुपर्ने आशयको विज्ञप्ति बास्तोलाले निकालेपछि विप्लवले वली र बास्तोलालाई कारबाही गर्नुभएको थियो ।

गत चैतमा कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकमै स्थानीय तह निर्वाचनबारे के गर्ने ? भन्ने विषयमा दुई पक्षबीच विवाद भएको थियो । चुनावलाई उपयोग गर्नुपर्ने विप्लवको प्रस्ताव बहुमत केन्द्रीय सदस्यले अस्वीकार गरेका थिए । विप्लवको प्रस्ताव अस्वीकार भएपछि पार्टी निर्वाचनमा भाग नलिने, निर्वाचन आयोगमा पार्टी दर्ता पनि नगर्ने निर्णय गरेको थियो । तर, एमसिसीविरोधी र देशभक्त उम्मेदवारलाई भने निर्वाचनमा सहयोग गर्न सक्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । केन्द्रीय समितिको निर्णयविपरीत प्रवक्ता विश्वकर्मा दल दर्ताबारे बुझ्न आयोग पुग्नुभएको थियो । आयोगले दलदर्ता अस्वीकार गरेपछि देशका विभिन्न ठाउँमा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

संयोजकमा बास्तोला
राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलालाई तोकेको छ । चितवनमा बसेको बास्तोला-वली समूहको भेलाले विप्लवलाई महासचिवबाट हटाएर बास्तोलालाई संयोजक तोकेको हो । वली-बास्तोला पक्षको भेला बिहीबार मात्रै सकिनेछ । एकले अर्को पक्षलाई कारबाही गरेपछि नेकपा अब एक नरहने देखिएको छ । तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति नगरेको भन्दै २०६९ सालमा मोहन वैद्यसहित विप्लवले विद्रोह गरेर नेकपा-माओवादी गठन गर्नुभएको थियो । वैद्यले पार्टी गठन गरेको दुई वर्ष पुग्न नपाउँदै विप्लवले वैद्यबाट क्रान्ति नहुने भन्दै २०७१ नयाँ पार्टी गठन गर्नुभएको थियो ।

विप्लव संशोधनवादी : बास्तोला
भेला आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विप्लव राजनीतिक रूपमा संसदीय संशोधनवादी, संगठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी र बिसर्जनवादी भएको आरोप लगाउनुभयो । त्यस्तै, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई बिसर्जन गर्ने बाटोमा लागेपछि निष्कासनको कारबाही गर्नुपरेको बताउनुभयो । कञ्चनले दलाल संसद्वादी राज्यसत्ताले गराएको चुनाव कार्यनीतिक मात्र नभएर रणनीतिक विषय भएकाले यसको उपयोगले पुँजीवादलाई सहयोग गर्ने बताउनुभयो ।

विप्लवहरूले विचार नै समाप्त पारे : वली
नेकपाका नेता सुदर्शन वलीले क्रान्तिकारी विचारको रक्षाले मात्र क्रान्ति सम्भव हुने प्रष्ट पार्नुभयो । उहाँले विप्लवलगायत नेकपाको एउटा सानो झुण्ड क्रान्तिविरुद्ध दलाल पुँजीवादलाई सहयोग गर्नेगरी गम्भीर रूपमा विचलित भएको बताउनुभयो । विचार त्याग गर्नेहरूलाई कारबाही गरेर क्रान्तिकारीहरूको केन्द्रीकरणमार्फत क्रान्तिलाई सम्भव बनाउनेतर्फ आफूहरू अघि बढेको उहाँको भनाइ छ । क्रान्तिमा विचार प्रमुख हतियार रहेको र विप्लवहरूले विचार नै समाप्त पारेकाले पार्टीको विशेष राष्ट्रिय भेला आयोजना गर्नुपरेको उहाँको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?