स्थानीय चुनावको रौनक: घरदैलामा उम्मेदवारहरु

हिमालय टाइम्स
Read Time = 7 mins

दाङ । स्थानीय तहको निर्वाचन आउन ८ दिनमात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी रौनक गाउँदेखि सहरसम्म, सहरदेखि टोलसम्म बढिरहेको छ । राजनीतिक दल, दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवारहरूलाई चुनावी चटारो छ ।

उम्मेदवारहरू चुनावी नतिजा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । दल तथा स्वतन्त्र उम्मेदवारका चुनावी सभादेखि घर–घरमा मतदातालाई भेट्ने काम भइरहेका छन् ।सबैले जित्ने दावीसहित मतदातालाई भोट माग्दै हिडेका छन् । कतिपय मतदाताहरू आफूनिकटका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लागिरहेका छन् ।

दाङमा मुख्यगरी ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

केन्द्रको सहमतिअनुसार काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनामोर्चाको गठबन्धन हुने भनिए पनि दुई उपमहानगरका प्रमुख पदका लागि मात्रै गठबन्धन देखिएको छ । घोराहीमा नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र चुनावी तालमेल गरेर अघि बढेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चुनावी तालमेलमा छन् । अन्य पालिकामा भने चुनावी तालमेलमा छैन् । यद्यपि गठबन्धन दलहरू मित्रवत प्रतिस्पर्धा भनेर अघि बढेका छन् ।

गठबन्धनभित्रका दलहरू कतै संयुक्तरूपमा प्रचारप्रसार गरिरहेका छन् भने कतै संयुक्तरूपमा घरदैलो अभियानलाई तिब्रता दिएका छन् । नेपाली काँग्रेसले दुई उपमहानगर–पालिकासहित दशवटै पालिकाका एक सय वडामा चुनावी सभासहित घरदैलो अभियानलाई तिब्रता दिएको नेपाली काँग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिनुभयो । ‘उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई जिताऔँ अभियान चलिरहेको छ’ उहाँले भन्नुभयोे, ‘अन्य पालिकामा मित्रवत प्रतिष्पर्धामा छौँ, मतदाता उत्साहित हुनुहुन्छ, गठबन्धनको पक्षमा मत आउँछ भन्नेमा विश्वस्त छौँ ।’
उहाँले घरदैलो अभियान र चुनावी सभा सँगसँगै भइरहेको बताउनुभयो । ‘काँग्रेसका उम्मेदवारहरू अधिकांस घरदैलोमा पुगिसक्नुभएको छ’ उहाँले भन्नुभयोे– ‘कतिपय उम्मेदवार भने अहिले चुनावी सभामा व्यस्त देखिनुभएको छ ।’ घर–घरमा पुग्दा मतदाताले काँग्रेसका उम्मेदवारप्रति धेरै आशा र भरोसा रहेको बताएका छन् । बैशाख २५ गते तुलसीपुरमा काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले चुनावी सभालाई सम्वोधन गर्ने उहाँले वताउनुभयो ।

गठबन्धनभित्रको दल नेकपा माओवादी केन्द्रले पनि चुनावी गतिविधिलाई तिब्र पारेको छ । केन्द्रका नेता तथा कार्यकतासहित उम्मेदवारहरू सहरदेखि गाउँसम्म तामझामका साथ मतदातासामु पुगिरहेका छन् । घरदैलोमा मतदातालाई भेट्नेदेखि चुनावी सभा गरिरहेको नेकपा माओवादी केन्द्र दाङका जिल्ला संयोजक सुवास पुनले बताउनुभयो । ‘माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत जुटाउनका लागि घर–घरमा मतदाता भेट्ने काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘म पनि बंगलाचुली गाउँपालिकाको अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छु, हामीहरू पनि पालिकाको वडादेखि टोल–टोलमा पुग्न थालेका छौ ।’

एक्लै प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालले पनि जनमत जुटाउन चुनावी सभालाई तिब्रता दिइरहेको छ । नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले बुधबार चुनावी सभालाई केन्द्रीयस्तरका नेता युवराज ज्ञवालीले सम्बोधन गरको बताउनुभयो । ‘घोराही उपमहानगरपालिका वडा नम्बर ११, १२ र १३ मा बुधबार युवराज ज्ञवालले सम्बोधन गर्नुभएको छ’ उहाँले भन्नुभयोे– ‘घरदैलोमा मतदातालाई पनि भेट्ने अभियान चलिरहेको छ ।’

गत चुनावमा घोराही र तुलसीपुरसहित ६ पालिकामा जित हात पारेको एमाले अहिले बिरासत जोगाउने दाउमा छ भने नेपाली काँग्रेससहितका गठबन्धन दलहरू नतिजा उल्टयाउने दाउमा छन् । नेकपा एमालेले गत चुनावमा जस्तै मत परिणाम आफ्नो पक्षमा आउने दावी गरिरहेको छ भने गठबन्धन दलहरू यसपटक आफ्नो पक्षमा मत आउने दावी गरिरहेका छन् । गत चुनावको मत परिणामअनुसार गठबन्धन दलका उम्मेदवार बलियो देखिए पनि नेकपा एमालेका उम्मेदवार एक्लै प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन मिति नजिकिदै जाँदा गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादीले पनि चुनावी गतिविधि बढाएका दाङ जिल्ला प्रचार विभाग प्रमुख दिपक कुमालले बताउनुभयो । ‘गठबन्धन भएका र नभएका सबै पालिकामा चुनावी गतिविधिलाई तिब्र पारेका छौँ’ उहाँले भन्नुभयोे– ‘चुनावी नतिजा गठबन्धनको पक्षमा आउँछ भन्नेमा कुनै दुविधा छैन् ।’ उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाता पनि उत्साहित भएका छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदाता उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ । विशेषगरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?