काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कर्णाली प्रदेशले नगद पुरस्कारको घोषणा गरेको छ । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्जेलले खेलाडीको प्रोत्साहनका लागि उक्त रकम घोषणा गरिएको जानकारी दिनुभयो । सदस्य-सचिव विश्वामित्रले स्वर्ण विजेता खेलाडीलाई जनही दुई लाख, रजत विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रदान गरिने जनाउनुभयो । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५६० जनाको सहभागिता रहनेछ ।
कर्णालीले जेठ २ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ । खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले ३८ खेलमा ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुनेछ ।
नवौँ खेलकुदमा ३६ खेलको प्रतियोगिता र दुई प्रदर्शनी खेलसहित ३८ खेल समावेश हुने भएका हुन् । आठौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिँदै रग्बी सेभेन ए साइड थपिएको छ । प्रदर्शनी खेलमा छेलो र क्यानोइङ रहेका छन् । सदस्य-सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार आठ सय खेलाडीसहित एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक, ११४ संघका प्रतिनिधि र एक हजार निर्णायक सहभागी हुने जानकारी दिनुभयो ।
नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।
नवौँ खेलकुदमा भाग लिनका लागि जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने मिति राखेपले तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो । यसमा केही बजेट गण्डकी प्रदेशले पनि थप्नेछ । अपुग रकमका लागि सरकारसँग माग गरिने सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्न्याास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच