फेरि पनि उही गठबन्धनकै चर्चा

Read Time = 14 mins

✍️ इन्द्रबहादुर बराल
राजनीतिक दलहरूमा स्थानीय तहको निर्वाचनले छपक्कै छोपेको छ । लगभग सबैजसो पार्टी कतै एकल त कतै तालमेल गर्दै भोट माग्न व्यस्त छन् । यसैबीचमा चुनावी तालमेललाई लिएर नेपाली कांग्रेसका एकथरि नेताहरू गठबन्धन बिथोल्नेसम्मका हर्कतमा लागेको प्रष्ट देखिन थालेको छ । गठबन्धनको संस्कृति कुनै नयाँ र नौलो कुरा होइन । जसका बारेमा संस्थापक नेता हामी सबैको आस्थाको केन्द्रका ढुकढुकी बीपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलाप तथा एकताको सन्देश स्मरण गरे गठबन्धनको आवश्यकता र औचित्य आफैं सावित हुन्छ ।

तर, स्वयं बीपीकै बिरासतबाट नेपाली कांग्रेसको राजनीतिमा उदायका नेताका गतिविधिले कांग्रेसमा विभाजनको रेखा त कोर्न खोज्यो खोज्यो साथसाथै सिंगो राष्ट्रिय राजनीतिलाई समेत धमिल्याउने संकेत देखाउँदै छ । कुनै पनि ठूला राजनीतिक दलहरूमा देखा पर्ने असन्तुष्टि र विभाजनको प्रभाव पूरै मुलुकलाई पार्न सक्छ । जस्तै हिजो नेकपाले प्राप्त गरेको बहुमतको कदर र रक्षा गर्न नसक्दा आज देश गठबन्धनको सरकार बन्न बनाउन बाध्य भयो ।

नेपाली कांग्रेसको चहाना थियो नेपाली जनताले प्रतिपक्षमा बस्ने जनादेश पाएकाले सोहीअनुरूप प्रतिपक्षमै बस्ने अडान लिएका थिए सभापति शेरबहादुर देउवाले । तर, परिस्थिति यस्तो भइदियो कि विभिन्न कालखण्डमा भएका जन-क्रान्ति, जन-आन्दोलन र जन-युद्धको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भीर खतरा देखिएपछि गठबन्धन निर्माण नगरी नहुने स्थिति आइलागेको तथ्य सबैका सामु जगजाहेर नै छ ।

त्यसैले परिस्थितीजन्य परिणामलाई सहज रूपले लिनुपर्ने अवस्थामा नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा पछाडि परेकै कारण गठबन्धनमा आँच ल्याउने काम गर्नु दुर्भाग्य हो । हरेक चुनावमा पार्टी-पार्टीबीच एक्ला एक्लै वा तालमेल तथा गठबन्धन गर्दै मित्रवत् प्रतिस्पर्धा गरिने एउटा सामान्य नियम हो । यी सबै परिस्थितिलाई नजरअन्दाज गर्दै कार्यकर्तालाई दिग्भ्रमित गराउनु निसन्देह अनुत्तरदायिता हो । हो पार्टी सभापतिबाट पनि केही कमिकजोरी भएको छैन भन्न सकिँदैन । तथापि अनिच्छा हुँदाहुँदै सरकारको नेतृत्वमा पठाएपछि त केही कुराको अधिकार दिनुपर्छ ।

केन्द्रमा संयुक्त सरकार हुने तल कार्यकर्ता मारामार गर्नु पनि भएन । साथै गठबन्धनका सहयात्रीको लाज छोपिदिनुपर्ने यथार्थ पनि आत्मसात गर्नुपर्ने हुन्छ । आजको स्थानीय निर्वाचनमा भए गरेका गठबन्धन वा तालमेल त्यसैको परिणाम हो । यसर्थ यो स्थानीय निर्वाचनबाट गठबन्धनमाथि कहीँ कतै आँच नपुगोस् भनी सावधानी हुन जरुरी देखिन्छ ।

स्थानीय चुनावको घोषणासँगै राजनीति सरगर्मी यसरी हृवात्तै बढ्यो कि मानौं साउने भेललाई बिर्साइदिएको भान हुनथालेको थियो । नेपालको संविधान २०७२ जारीपछि साँच्चै नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभव विगतको पाँच वर्षले दिएको छ । त्यसैले स्थानीय निर्वाचनमा विभिन्न पार्टीका कार्यकर्ता र स्वतन्त्र नागरिकमा पनि अनपेक्षित आकांक्षा देखियो । धेरैजसो पार्टीमा कार्यकर्ताको उर्लँदो इच्छा र चाहनालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको यथार्थ हामी सबैको सामु छर्लंगै छ ।

यस्तो अवस्थामा असन्तुष्ट व्यक्ति वा समूहलाई भड्काउन सजिलो पनि हुँदा त्यस्तो स्थितिलाई सम्हाल्नुभन्दा बिगार्नेतिर लाग्नेहरू पनि हरेक पार्टीमा देखिन थाले । यस समस्याबाट कुनै पनि पार्टी अछुतो रहन सकेका छैनन् । तथापि असन्तुष्ट व्यक्ति वा समूहलाई सम्झाउनु, बुझाउनु सट्टा झन् बलेको आगोमा तेल थप्ने काम नेपाली कांग्रेसमा बढी देखिएको छ । विशेष गरेर भरतपुर महानगरपलिका अहिले मुख्य केन्द्रबिन्दुमा छ । सुरुमा सिंगो चितवन कांग्रेस नै विरुद्धमा थियो । मेयरको टिकट रेणु दाहाललाई दिनु हुँदैन भनेर आवज उठेको थियो ।

पछि विस्तारै राष्ट्रिय राजनीतिलाई समेत विश्लेषण गर्दा गठबन्धनका केही बाध्यात्मक अवस्थालाई बुझेपछि स्वयं त्यहाँका जिम्मेवार नेताहरूले आफैं भड्कन लागेका नेता कार्यकर्तालाई सम्झाउन थाले पनि जुन काम अत्यन्तै सकारात्मक थियो । तर, केन्द्रको निर्णयविरुद्ध केही स्थापित नेताहरूले अवज्ञा गर्दा त्यसको प्रतिकूल असरका तरंगहरू यत्रतत्र फैलिन पुगे । यो एउटा विद्रोहले गठबन्धनका सहयात्रीहरूमा अलिकति असहजता पक्कै पनि भएको हुनुपर्छ । चुनाव लड्ने लडाउने स्वतन्त्रता सबै नेपालीलाई नेपालको संविधानले सुनिश्चित गरेको छ ।

त्यसैले उहाँहरू जसले पार्टीको निर्देशनविपरीत जानुभएको छ निश्चय पनि अनुशासनको कारबाही भोग्नु त पर्छ नै तर त्यो नै समस्याको समाधान भने होइन । मानिसलाई कानुनले मात्रै चलाउनुभन्दा पार्टीका निश्चित बन्दनबाट सञ्चालित हुने एउटा विधि विधानमा हिँड्ने परम्पराको बलियो आधार बनाउन सके भोलिका दिनमा यस्ता अटेरी प्रवृत्तिलाई निरुत्साहित गराउन सकिने देखिन्छ । हुन त मानिस आफैं एउटा नैतिकता र सामाजिक बन्धनमा बस्नुपर्ने प्राणी हो । तथापि यदाकदा वैधानिक बन्धनले अनुशासनको छडी पनि देखाउनु पर्दोरहेछ । आज चितवनको भरतपुरमा जे भएको छ त्यो त्यसैको परिणाम हो भन्ने लाग्छ ।

अब जहाँ-जहाँ पार्टीको परिधि नाघेर बागी वा विद्रोही उम्मेदवार खडा भएका छन् त्यसको अन्यत्र अरू तहमा नकारात्मक प्रभाव पर्नबाट रोक्नु नै आजको कार्यभार हो । नेपाली कांग्रेसले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट सहयोग लिनु छ । काठमाडौं जस्तो महानगरमा एक निष्कलंक महिलालाई मेयरको पदमा प्रतिस्पर्धामा उतारेको छ । जहाँ नेपाली कांग्रेसले उनीहरूको मतबाट चुनाव जित्नु छ । त्यस्तै ललितपुर र विराटनगरमा पनि जित हात पार्नु छ । यस्तै-यस्तै ७ सय ५३ मध्ये धेरै स्थानीय तहमा सहकार्यलाई बलियो बनाएर चुनाव जित्नु छ ।

त्यसैले कुनै एक दुई तहको उम्मेदवारीलाई विवादको विषय बनाएर अरू धेरै तहमा क्षेति नपुर्‍याऊँ । मानिसहरूको ध्यान वडातिर गएको देखिएन । मेयरभन्दा महत्वपूर्ण त वडा हो । आमनागरिकका ९० प्रतिशतभन्दा बढी काम वडाबाटै हुन्छन् । त्यतातिर कमै मानिसले ध्यान पु¥याएको देखिँदैन । प्रत्यक्ष सरोकार राख्ने वडाको चुनावलाई ओझेलमा राखेर ठूलाठूला पदमात्रै आँखा गाडेर हेर्नु वडाध्यक्षको गरिमालाई होच्याउनु हो । मानिसहरूले मुलुक नयाँ संरचना गएर पनि पाँच वर्ष पार भइसक्दा वडाको अधिकारलाई नबुझे झैँ गर्नु दुर्भाग्य हो ।

यसर्थ तल्लो तह भन्ने बित्तिकै मेयर/अध्यक्षमात्रैलाई सम्झनुले आज यो विद्रोहको समस्या आएको हो । त्यही भरतपुरका सबै वडा जित्ने काम गरौं । त्यो एउटा मेयरले केही गर्नसक्ने अवस्था आउँदैन, नत्थी लाएर पछिपछि लाग्नुपर्ने हुन्छ । तसर्थ अब ठूला पद र ठूला कुराले मात्रै केही हुँदैन, हुन्छ त तलैबाट सानै पद र सानै कामबाट हुन्छ । सधैं र धेरै समय भरतपुर महानगरको प्रसंगमा खेर फाल्नु राजनीतिक मुर्खता हो । अब फेरि पनि उहीँ चितवन भरतपुरको विषय उठाएर आफैंभित्र र गठबन्धनका सहयात्रीबीच सम्बन्ध बिगार्नुभन्दा परिस्थितिलाई जटिल हुन दिनुबाट रोक्नु सच्चा नेता कार्यकर्ताको कर्तव्य हो र नेता कार्यकर्ताको परीक्षण पनि त्यहीँनेर हुन्छ ।

पार्टीबाट एउटा निर्णय भइसक्यो अब त्यसलाई सच्याउने वा परिवर्तन गर्ने कुनै गुञ्जायस नै छैन भने अनावश्यक विवादमा अल्झिनुभन्दा निर्णयलाई सफल बनाउनेतिर लाग्नुमै कल्याण छ । भरतपुर महानगरको मेयरका प्रत्यासीको विरुद्ध खर्चिने ऊर्जा वडाहरूमा लगाउन सके त्यहाँनेर महत्वपूर्ण जित हुनेछ । त्यसैले टिकट प्रकरणमा चितवन भरतपुरको सबाललाई विस्तारै बिर्सेर सम्पूर्ण शक्ति आआफ्ना वडातिर मोड्नुपर्ने दायित्वको ख्याल गर्नुपर्ने देखिन्छ ।

प्रतिशोध वा बदलाको भावनालाई छोडेर सदाशयतापूर्वक गठबन्धनको भावनालाई आत्मसात गर्दै जाँदा भोलिका दिन क्रमशः उज्याला हुँदै जाने छन् । सहमति, सहकार्य र एकताको औचित्य र आवश्यकाता निरन्तर रहिरहनुपर्छ । लोकतन्त्रमा जहिले पनि सहिष्णुताको राजनीति हुन्छ । त्यहाँ कुनै प्रतिशोध वा बदला लिइँदैन । मानिसलाई सच्चिने अवसर दिनु सदाशयता र सहिष्णुताको अनुपम दृष्टान्त हो । नत्र लोकतन्त्रवादी हुनुको कुनै अर्थ रहँदैन । क्षमाशीलता, सदाशयता र सहिष्णुताविना लोकतन्त्रको भविष्य पनि उहीँ तानाशाही बाटोउन्मुख हुन्छ ।

त्यसैले नेपाली कांग्रेस राष्ट्रिय राजनीतिको मूलधार भएकाले अरूको जस्तो असहिष्णु र बदलाको भावना त्याग्नुपर्छ । आफ्नो लोकतान्त्रिक गुण र चरित्रबाट अविचलित अघि बढ्नुको अर्को विकल्प छैन । आफूलाई चित्त नबुझेका निर्णयका विरुद्ध विद्रोह होइन खबरदारी गर्दै पार्टीको सीमाभित्र रहेर काम गर्दा एक दिन सत्यको जित हुन्छ भन्ने विश्वासका साथ अनुशासनको घेरा तोड्ने र पार्टी छोड्ने कार्य आबेग र उत्तेजनामात्र हो । तसर्थ अब फेरि उहीँ गठबन्धनको नकारात्मक चर्चाले कांग्रेसलाई कुनै चामत्कारिता हुँदैन बरू नोक्सान नै नोक्सान हुनसक्छ । अतः धैर्यतापूर्वक टिकट वितरण चित्त बुझ्दो निर्णय नभए पनि सम्हालिनु उपयुक्त हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?