प्राज्ञ तथा साहित्यकार दधिराज सुवेदीको निधन

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिनुभएका उहाँका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो । उहाँका छोरा शरदराज सुवेदीका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उहाँको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिनेछ ।

नेपाली भाषा र साहित्यमा योगदान दिनुभएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय हुनुहन्थ्याे । कर्मशील ब्यक्तित्वका रूपमा परिचित उहाँले खोज तथा अनुसन्धानमुलक दर्जनौं ऐतिहासिक पुस्तक लेख्नुभएकाे छ । विराटनगरको इतिहास उधिनेर पुस्तकको रुप दिनुभएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँनुहुन्थ्याे ।

उहाँका भाइ दिनेशराज सुवेदीकाअनुसार नगरपञ्चायतमा बहिदार पदबाट उहाँको जागिरे जीवन सुरु भएको थियो । पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर उहाँ निवृत्त हुनुभएकाे थियाे । विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ उहाँले केही वर्ष पढाउनुभएकाे थियाे ।

पछि पूर्वाञ्चल विश्वविद्यालयमा सूचना अधिकृतको रूपमा उहाँले १२ वर्षसम्म काम गर्नुभयाे । सुवेदीका मौलिक कृति एक दजर्न, सम्पादित कृति १५०, उहाँकै विशिष्ट सम्पादनमा बरगाछी भन्ने पुस्तक प्रकाशन भयो । त्यो प्रतिबन्धित समय थियो । वीपी कोइरालाको सानिध्यमा रहेर उहाँले बरगाछी प्रकाशन गर्नुभएकाे थियाे ।

सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ । विभिन्न लेखकहरूको दुई सय किताबमा उहाँले भूमिका लेख्नुभएकाे छ । उहाँ ढेड सय संस्थामा आजीवन सदस्य रहनुभएकाे थियाे । मोरङमा साहित्यको उत्पति र विकास पछिल्लो पटक प्रकाशन भएको उहाँको कृति हो ।

भाइ दिनेशराजले भन्नुभयाे, “आफ्नो सम्पूर्ण जीवन नेपाली साहित्य र सामाजिक कार्यमा समर्पण गर्नु भएका दाजुले अन्य साहित्यकारहरूको संस्मरण समेटिएका दर्जनौं पुस्तक प्रकाशन गर्नु भएको छ । उहाँ साहित्यमा मोफसलकै खम्बा हुनुहुन्थ्यो ।” सुवेदीले जीवनकालमै आफ्नो नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार स्थापना गराइ हरेक वर्ष वितरण गर्दै आउनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?