परिपक्व पुँजी बजारका लागि सहकार्यमा जोड

Read Time = 6 mins

काठमाडौं । धितोपत्र बजारलाई परिपक्व बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित परिपक्व पुँजी बजार सम्मेलनमा सहभागीले यस्तो बताएका छन् । बजार परिपक्व बनाउन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको सहकार्य आवश्यक रहेको पनि उनीहरूले बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारसँग जोडिएका सबै पक्षले खोजेको धितोपत्र बजारको परिपक्वता रहेको भन्दै धितोपत्र बजारको परिपक्वतालाई सबै सम्बद्ध पक्षले गहनरूपमा लिनुपर्ने बताउनुभयो । । धितोपत्र बजारलाई परिपक्व बनाउन धितोपत्र बोर्डबाटै सुरु हुनुपर्ने उहाँको भनाइ छ । धितोपत्र बजारमा आउने ठूला संस्थाले सर्वसाधारणलाई गलत प्रयोग गरेको भन्ने बुझाइ चिर्दै बुक बिल्डिङ विधिलाई पारदर्शी र प्रभावकारीरूपमा प्रयोगमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । धितोपत्र बजारको विस्तार गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयरमा छुट्याइने कोटा आगामी तीन महिनासम्ममा कार्यान्वयनमा आउने हमालले दाबी गर्नुभयो । त्यस्तै साना तथा मझौला उद्योगका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छुट्टै प्लेटफर्म दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । साथै कृषि क्षेत्रका साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेर पुँजी तथा ज्ञान दिने गरी भेञ्चर क्यापिटल सञ्चालनको काम पनि अघि बढेको उहाँले जानकारी गराउनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले परिपक्वता सबै क्षेत्रमा आवश्यक हुने बताउनुभयो । धितोपत्र बजारमा इथिक वाइज, ट्रान्जेक्सन वाइज, टेक्नोलोजी वाइज, पोलिसी वाइज र बजारमा सहभागी क्षेत्रअनुसार परिपक्वता आवश्यक रहेको उहाँको भनाइ छ । पूर्वअर्थसचिव शंकर अधिकारीले नियामक निकायको नकारात्मक मनोविज्ञान र अज्ञानताका कारण पुँजी बजार असफल भएको आरोप लगाउनुभयो । राष्ट्र बैंकले ४ र १२ को अनुपातको अध्ययन नै नगरेको उहाँको भनाइ छ । अधिकारीले भन्नुभयो, ‘पुँजी बजारको नीति हचुवामा आयो, मार्केट बढ्यो भने नियामक चिन्तित हुन थाले । घट्दा चिन्तित भएनन् । अर्थ मन्त्रालयमा पुँजी बजारको सिन नै आउँदैन । केही क्रिटिकल केस भयो भनेमात्र छलफल हुन्छ ।’ केही मान्छेले कमाए भनेर सरकारमा बस्नेहरूको स्कुलिङ नै गलत भएको उहाँको भनाइ थियो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले ५० लाख जनताको चासो र चिन्ताको विषयमा छलफल भएको बताउनुभयो । कोरोनापछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढे पनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो । पछिल्लो समयमा अर्थतन्त्रमा परेको दबाबको असर धितोपत्र बजारमा पनि देखिन थालेको भन्दै उहाँले पुँजी बजारलाई देशको अर्थतन्त्रको ऐनाका रूपमा हेरिने गरेकाले पुँजी बजारको विकास र विस्तारमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । धितोपत्र बजारको परिपक्वता र स्थिरताका लागि विदेशी कम्पनीले नेप्सेको सेयर खरिद गर्ने, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेल, संस्थापक सेयरलाई साधारण सेयर सरहको कारोबार आवश्यक रहेको गोल्छाले बताउनुभयो ।

शुक्रबार पनि सेयर कारोबार हुने
आगामी जेठदेखि शुक्रबार पनि सेयर कारोबार खुला हुने भएको छ । धितोपत्र बोर्डले नेप्सेलाई आगामी जेठ १ देखि शुक्रबार पनि सेयर कारोबार खोल्न निर्देशन दिएको छ । सरकारले परीक्षणका लागि भन्दै आगामी जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोहीअनुसार अब शुक्रबार सेयर बजार खुल्ने र शनिबार र आइतबार बन्द रहने गरी निर्देशन दिइएको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिनुभएको छ । शुक्रबार महासंघद्वारा आयोजित कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?