दलभन्दा सक्षम उम्मेदवारको खोजीमा मतदाता

Read Time = 7 mins

संजीवकुमार मिश्रा/बारा । कलैया उपमहानगरपालिका–१ का संजय कुशवाहा अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गर्नुभएका कुशवाहा यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा हुनुहुन्न । ‘विगतका निर्वाचनमा समुदायको अगुवा नेता तथा कार्यकर्ताले जहाँ भन्यो त्यही भोट हाल्यौँ । एक जनाको पछाडि सिंगो समुदाय लाग्यो । भोट हालेर चुनाव त जितायौँ तर चुनाव जितेका र भोट हाल्न निर्देशन दिएका अगुवाले समेत हामीलाई बिर्से,’ उहा“ले भन्नुभयो, ‘योपटक त्यस्तो गल्ती गर्ने पक्षमा हामी छैनौँ । वर्षौंदेखिको सडक नाला शिक्षा स्वास्थ्य लगायतको समस्या समाधान गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई भोट दिन्छौँ ।’

लामो समयदेखि मिठाई पसल सञ्चालन गर्दै आउनुभएका कलैया उपमहानगरपालिका-१ का सुरेश साहले विगतका निर्वाचनमा कैयौँ राजनीतिक दलहरूले चुनावमा जित्यौं भने कलैयालाई स्मार्ट सिटी बनाउने, बजार व्यवस्थापन गर्ने शिक्षा स्वास्थ्य लगायतका समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउँदै प्रतिबद्धता, प्रतिबद्धतामा मात्र सीमित रह्यो चुनाव जितेकाले कलैया बजारको विकासमा कुनै चासो नलिएको बताउनुभयो ।

‘वर्षौंदेखि बजारको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ । अतिक्रमणको चपेटामा परेको बजारमा हिँड्नसमेत ठाउँ छैन, राम्रो सडक छैन । यस्ता कैयौँ आवश्यकताको पर्खाइमा हामी छौं’, उहाँले भन्नुभयो, ‘यी आवश्यकता पूरा गर्छौं भनेर हामीसँग प्रतिबद्धता गरेर जितेकाहरू कानमा तेल हालेर सुते फेरि कहिले पनि बजार व्यवस्थापन तथा कलैयाको विकासको लागि के गर्नुपर्छ भनी सोध्न पनि आएनन् । तिनै अनुहारहरू फेरि भोट माग्न घरदैलोमा पुगेका छन् । तर, हाम्रा आवश्यकता पूरा गरेर होइन, भोट माग्नको लागि आएका छन् ।’

उहाँले यसपटक भने आश्वासन दिनेभन्दा सम्भावना बोकेको नयाँ व्यक्तिलाई भोट दिने उल्लेख गर्दै हिजोको जस्तो नागरिक अरूको लहैलहैमा लागेर होइन, स्थानीय आवश्यकता र नागरिकको अधिकारलाई सुरक्षित राख्न सक्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो ।

कलैया उपमहानगरपालिका-१६ का रमेश यादवले पनि पार्टीभन्दा व्यक्तिको पर्खाइमा रहेको बताउनुभयो । राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यसपटक पार्टी भन्दामाथि उठेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा आफू रहेको उहाँले बताउनुभयो । ‘म पनि कुनै राजनीतिक दलसँग आबद्ध छु । आस्थाले समुन्नत समाजको निर्माण नहुने रहेछ’, उहाँले भन्नुभयो, ‘समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई पालिकाको नेतृत्वमा ल्याउनुपर्छ ।’ मैले अरूलाई दिने सुझाव पनि त्यही हो । अहिले पार्टी नहेरौँ व्यक्ति हेरौँ, उहाँले भन्नुभयो ।

कलैया उपमहानगरपालिका-१६ का रवि पटेलले किराको प्रकोपले बालीनाली नोक्सान हुँदासमेत पालिकाका जनप्रतिनिधिहरूलाई हेर्नेसमेत फुर्सद भएन । बिघौ जग्गा बर्बाद भए । किसानहरूको दुःख सुन्नु त कता हो कता । आलो घाउमा मलम लगाउनसमेत कोही आएनन् । पटेलको मात्र होइन, खैरो खर्के किराको कारण कलैया उपमहानगरपालिका-१६ का थुप्रै किसानहरूको बाली बर्बाद भयो । तर, राहतको नाउँमा आएको पैसा कहाँ गयो र कसले खायो थाहा भएन । कृषि ज्ञान केन्द्रले समेत बाढीबाट हाम्रोतिर क्षति नभएको हुँदा किराको प्रकोपबाट क्षति पुगेका किसानको डाटा बाढी पीडितमै भरी पठाउन भने पनि जितेका जनप्रतिनिधिहरूले चासो नदिँदा लगानीसमेत डुब्न गएको जानकारी दिनुभयो ।

गरिएका वाचासमेत पूरा गर्न नसक्ने यस्ता जनप्रतिनिधिहरूको के काम ? ‘हाम्रो समस्या जसले बुझ्छ र समस्याको समाधान हुन्छ भनी यकिन गरेर मात्र यसपालि भोट दिन्छौँ’, उहाँले भन्नुभयो, ‘यसपालि नयाँहरू पनि त्यस्तै छन् । तर, पनि समय सापेक्ष जो उचित हुन्छ हाम्रो भोट त्यसमै पर्ने उहाँले जानकारी दिनुभयो । आश्वासनले हामीलाई केही दिन सकेन । हाम्रा पीडाको सम्बोधन कतैबाट पनि भएन, त्यसैले हाम्रो काम गर्ने उम्मेदवारलाई नै भोट दिइने उहाँको भनाइ छ । ‘अब पार्टी नभएर कुनै सक्षम व्यक्तिलाई चयन गर्न सक्यो भने मात्र विकास हुने भन्ने आशा अझै बाँकी छ’, उहाँले भन्नुभयो ।

‘घरघर आए भोट मागे । यो गर्छु त्यो गर्छु भने, चुनाव जिते सरकार चलाए । पाँच वर्षसम्म भोट दिएर जिताएका जनतालाई कुनै नेताले सम्झिएनन् । हाम्रो समस्या बुझ्न कोही आएनन्’, पटेलले भन्नुभयो, ‘अब हामी पनि सचेत भइसकेका छौँ । कसले काम गर्नसक्छ कसले सक्दैन, त्यो छुट्याउन सक्ने क्षमता हामीमा पनि छ । त्यसैअनुसार हामीले पार्टीभन्दा पनि व्यक्तिलाई भोट हाल्ने उहाँले जानकारी दिनुभयो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?