उम्मेदवारहरूले गरिरहेको अनुमानित खर्च पठाउन आयोगको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले गरिरहेको खर्च अनुमान गरी पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ । ‘निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रूपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सोसमेत गरी मतदान हुने दिन यही वैशाख ३० गतेभन्दा अगावै गोप्य रूपमा आयोगमा पठाउन’ निर्देशन दिएको हो ।

निर्वाचन प्रचारप्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै संकलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले त्यस्तो विवरण पठाउन निर्देशन दिइएको शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यसबाहेकका तयारीलाई पनि तीव्र रूपमा अघि बढाइएको आयोगको भनाइ छ । आचारसंहिता विपरीतका गतिविधि रोक्न सक्रियतापूर्वक काम गरिरहेको आयोगले जनाएको छ ।

यस्तै, मतदान हुने दिन सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार पास विनाका सवारीसाधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको हो । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य पास लिनुपर्नेछ ।

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा विद्युत् सेवाजस्ता अत्याश्यक क्षेत्र र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनु पर्दैन ।

आयोगले शारीरिक अपांगता भएका व्यक्तिलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । शारीरिक अपांगता भएका व्यक्तिको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थल र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ । त्यस्तै, अन्य सवारी साधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको जनाइएको छ ।

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ ।
वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न आयोगले भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?