लागू भएन मतदाता शिक्षा, अन्योलमा मतदाता

Read Time = 4 mins

कृष्ण विष्ट/हिटा
बैतडी । निर्वाचन आउन जम्मा ६ दिन बाँकी हुँदा पनि मतदाता शिक्षा कार्यक्रम सुरु हुन सकेको छैन । मतदाता शिक्षा घरघरमा पुर्‍याउन नसके बदर मत संख्या बढ्नसक्छ । निर्वाचन आयोगले प्रचार सामग्री नपठाएकाले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न नसकेको बताइरहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले अब भने मतदाता शिक्षा नै नहुने बताएको छ । जसले मतदातामा झनै निराशा पैदा भएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षा लागू नगर्दा मत बदर जान सक्ने आशंका मतदाताको छ । तर, राजनीतिक दलहरूले भने आ-आफ्नै नमुना मतपत्र लिएर भोट गराउन सिकाइ रहेका छन् । गठबन्धन भएका दलहरूले नमुना मतपत्र लगेर मतदाताहरूलाई आफ्नो निर्वाचन चिन्ह देखाएर मतदान गर्न सिकाइ रहेका छन् । दैनिक फरक-फरक दलका प्रतिनिधिहरू चुनाव प्रचारमा गएर आफ्नो चिन्ह देखाएर मतदान गर्न सिकाउँदा मतदाताहरू झनै अन्योलमा परेका छन् ।

‘दलका नेताहरू आफ्नो निर्वाचन चिन्हमा मतदान गर्न सिकाइ रहेका छन् । सिगास-२ का टेकेन्द्र धामीले हिमालय टाइम्ससँग भन्नुभयो, फरक–फरक दलका प्रतिनिधिहरूले दिनैपिच्छे फरक-फरक ठाउँमा भोट गर्न भनेपछि मतदाताहरू अन्योलमा छन् ।’ निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगर्दा मतदाताहरूमा अन्योलता भएको धामीले बताउनुभयो ।

यस्तै, राजनीतिक दलहरूले आ-आफ्नै चिन्हमा मतदान गर्ने तरिकाले मतदाताहरूमा झन् अन्योल थपिएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक केशवबहादुर चन्दले बताउनुभयो । ‘मतदाता शिक्षा कार्यक्रम गरेको भए सबैलाई सहज हुन्थ्यो, यता त राजनीतिक रूपमा सिकाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘यसरी झन् मत बदर जान सक्ने आशंका छ ।’

निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालका अनुसार यस वर्ष जिल्लामा मतदाता शिक्षा लागू हुनेछैन । ‘यसवर्ष मतदाता शिक्षा लागु हुँदैन, मतदाता शिक्षा कार्यक्रममा बजेट नै समावेश छैन,’ उहाँले भन्नुभयो ।

बैतडीमा गत स्थानीय तहको निर्वाचनमा तीन प्रतिशत मत बदर भएका थिए । गत स्थानीय तह निर्वाचनमा मतदातालाई ३० दिन शिक्षा दिइएको थियो । त्यति गर्दा पनि मतदाता शिक्षा नपुगेर देशभर गरी हजारौँ मत बदर भएका थिए ।

२०७४ सालमा भएका स्थानीय तह निर्वाचनमा ३.१८ प्रतिशत मत बदर भएको थियो । यसपटक दलहरूले बहुरंगी गठबन्धन गरेका कारण बदर मत झन् बढ्ने अनुमान विज्ञहरूले गरेका छन्  । एउटै मतपत्रमा सातजना उम्मेदवारलाई मत दिनुपर्छ, अझ गठबन्धनको पक्षमा भएका मतदातालाई आफ्नै उम्मेदवार र तिनका चिन्ह भेटाउन गाह्रो छ । कतिपय स्थानीय तहमा प्रमुख/उपप्रमुखमा मात्र तालमेल भएको छ, कतिपयमा त वडाध्यक्ष, दुई खुला सदस्य, एक महिला र एक दलित महिलाका फरक–फरक चिन्ह खोजेर मतदान गर्नुपर्ने हुन्छ । फरक दलका चुनाव चिन्ह फरक लाइनमा हुन्छन् । यसले मतदाता अझ अन्योलमा छन् । जसले मत बदर हुने संख्या बढन सक्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?