कविता : विचार बेच्नेहरू बढे

हिमालय टाइम्स
Read Time = 4 mins

✍️ पुरुषोत्तम दाहाल

बोक्ने विचारका काँध झुकेसुके कठैबरी !
बेच्ने वणीकको खाल बजार बढ्छ बेस्सरी
बीज विचारको मर्छ झेल हुन्छ सधैंभरि
हाँसो राक्षसको जस्तो क्रेता हाँस्छ मरी मरी ।
(१)

गोडा फुटे, छुट्यो साथ, सम्पत्ति त कता भयो
विचार बोक्नेको बाटो लथालिंग सबै भयो
हराए दुःखका साथी सुख खोज्नेहरू जुटे
देशको अस्मिता तिन्ले दिन रात सधैं लुटे ।
(२)

खेती आदर्शका ध्वस्त चाण्डाल मतिको भर
सत्ता मात्रै छ गन्तव्य बल शक्ति छ निर्भर
वय, वयस्कको पीडा, दुःख कष्ट कता गए ?
टुप्पोमा फल टिप्नेका कमारा बन्ने झैँ भए ।
(३)

कहाँ जमीनको टेको जरा कसोरी जीवित
छैन चासो र चिन्ताती रूखमा छन् प्रकल्पित
स्वयंभू सोच्दछन् आफैं हात बन्कर झैँ चले
साथी बन्करकै साथ विचार ध्वंशमै बढे ।
(४)

श्रमको बारीमा जस्को पसीना तप्तपी चुहृयो
ङिच्च दाह्रा र नंग्राले कोतर्ने भीड त्यो बन्यो
बन्धकीमा परेका छन् विवेकका कला सबै
न निस्कन चाहन्छन् तीन सोच भिड्नमा सँगै ।
(५)

सोध्छन् ती घरका मान्छे तिम्रो झोला कता गयो
खाली खाली सधैं खाली तालीमै जिन्दगी गयो ।
बग्यो रगतको धारा, श्रम, बुद्धि र तागत ।
रसविहीन खोस्टा झैँ मूल्य खोज्नु निरर्थक ।
(६)

मरे कति, कति बिग्रे नासे यौवनका क्षण
सबैका सपना हुन्थे शान्त सुन्दर लक्षण
विपन्न घरमा आगो बलेको हेर्न पाउने
रोगीको देहले राम्रो औषधि पनि पाउने ।
( ७)

घरमा सपना बाँड्थे गाउँमा सपना थियो
न्याय अन्याय छुट्टिन्छ सुशासन हुने भयो
शिक्षाको दीप बल्ने छ खेतीले देश चल्दछ
डाँडा काँडा उज्यालिन्छन् मनमाफिक बन्दछ ।
(८)

मान्छे सबै हुने मान्छे साथी मात्र सबै हुने
आस्था समान बोल्नेछन् सहयात्रा सधैं हुने
न स्वामी झैँ हुने कोही न नोकर कतै हुने
अंकमा अंक मिल्नेछन् पदमा पद नै हुने ।
(९)

पाखण्डी ढेडुको खेल बिगार्छ सपनाहरू
यत्रतत्र झुकेको छ जीर्ण देखिन्छ त्यो तरु
गुहू गोबरमा भेद नजान्ने भीड मस्त छ
खाने, लुट्ने, चिथोर्ने कि विनासमा ऊ ब्यस्त छ ।
(१०)

जस्को खेती लुटिँदैछ उठ साँझ हुनु अघि
आततायी ती ढेडुले सक्नुभन्दा निकै अघि
वृक्ष छाड कि एकान्त गुफा पस्ने भए उता
नत्र तोड कि पाखण्ड साँच्चै बस्ने भए यता ।
(११)

चोर पालेहरू पाल्यौं मोटा घाटा तिनै भए
भुइँबाटै झट्टीले हाने फल खाए कपाकप
सहोदर तिनैका छन् नातानालाहरू जुटे
सबै जंगल मास्दैछन्, पालुवा तोड्न ती जुटे ।
(१२)

पाकेको फल खाँदैछन् गर्छन् ताण्डव नृत्य ती
नभर्ने घाउको चोट दिँदैछन् बुझ नित्यती
कति खप्छौ सधैं तिन्को दास जस्तो बनेर खै
रोप अर्को कुनै रूख किचढ वटवृक्षमै ।
(१३)

हेर जरा ती छन् स्वस्थ कि छन् जीर्ण सडेगले
विचारशून्यका मान्छे टुप्पोमा कसरी पुगे
पुग्यो वन्करको भीड फल खान कसो गरी
छुट्याऊ कि तिमी छोड फलको सपना तल ।
(१४)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?