सचिनको २३ वर्षअघिको गीत पुनः सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । गायक सचिन रौनियारले आफ्नो २३ वर्षअघिको गीत ‘छ भनुँ कि छैन भनुँ’लाई पुनः रेकर्ड गरी नयाँ भिडियो सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा एक समारोहबीच सो गीतको भिडियो विभिन्न अग्रज कलाकारबाट सार्वजनिक गरियो ।

गीतको भिडियोलाई कार्टुन क्रुले बनाएको हो । कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा वियोगान्त कथा छ । नृत्य कलाकारको रूपमा आफूहरूरलाई हेरे यो गीतबाट दर्शकले आफूहरूको मूल्यांकन पूर्ण कलाकारको रूपमा गर्ने विश्वास आस्माले कार्यक्रममा व्यक्त गर्नुभयो ।

अभिनेता मोडल सरोज अधिकारीले आफूहरू नृत्यजस्तै अभिनयबाट पनि दर्शकको मन जित्न सक्छौं भन्ने कुरालाई पुष्टि गर्न यो गीतमा अभिनय गरेको बताउनुभयो । गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गर्नुभएको हो । संकल्प भुजेलको छायांकन र सुरज अधिकारीको सम्पादन रहेको भिडियो त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई द कार्टुन क्रिउको युट्युब च्यानलबाट शुक्रबार रिलिज गरिएको छ ।

सचिनकै स्वरमा २३ वर्षअघि रेकर्ड भएर श्रोतामाझ आएको यो गीतलाई अहिले फेरि उहाँकै स्वरमा रेकर्ड गरिएको हो । पुनः संगीत संयोजन गरेर यो गीतलाई रेकर्ड गरिएको यसका संगीतकार न्हृयु बज्राचार्यले कार्यक्रममा बताउनुभयो । यो गीतलाई अहिले प्रकाश मिश्रले मिक्सिङ र अजय कार्कीले रेकर्डिङ गर्नुभएको हो ।

सो गीतबारे बोल्दै बज्रचार्यले भन्नुभएको छ, ‘अहिले गम्भीर भावको गीत के चल्लार जस्तो लागेको थियो । तर यो गीत पुनः रेकर्ड गरेर भिडियो बनाएपछि यति राम्रो भयो कि सबैले मन पराउनुभएको छ ।’ अग्रज गीतकार भीम विरागले लेखेको यो गीतको संगीत आफूले १० मिनटमै त्यतिबेला ट्युनिङ गरेको उहाँले सुनाउनुभयो ।

तीन दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय सचिनले यो गीतको बारेमा भन्नुभयो, ‘हुन त म सँग डान्सिङ प्याटनको रोमान्टिक नयाँ गीत थियो, तर पनि सरोज र आस्माले यो गीत सुनेपछि यसमै भिडियो बनाउने चाहना व्यक्त गरे ।’ सोही कारण २३ वर्षपछि यो गीतलाई पुनः संगीत संयोजन र रेकर्डिङ गरेर श्रोतामाझ ल्याएको गायक रौनियारले बताउनुभयो ।

गीतको भिडियो रिलिज समारोहमा बोल्दै अग्रज गायक सञ्जय श्रेष्ठले धेरैअघि सुनेको यो गीत अहिले फेरि रेकर्ड भएर आउँदा अझ मीठो बनेको बताउनुभयो । गायनमा सचिनले दिएको निरन्तता लोभलाग्दो भएको उनले प्रकाश पार्नुभयो ।

सो समारोहमा वरिष्ट संगीतकार शुभबहादुर सुनाम, ड्रमर देव राना, अग्रज गायिकद्धय सुक्मित गुरुङ, देविका बन्दना, नायिकाद्वय शनी रौनियार, रोशनी केसी, गायकहरू जेम्स प्रधान, गणेश थापा, सुनिल उप्रेती, कविन्द्र श्रेष्ठ, शशी गुरुङ, चलचित्र निर्देशक मिलन चाम्स, सुब्रतराज आचार्य, एरेन्जर भुपेन्द्र बज्राचार्यलगायत विभिन्न अतिथिको उपस्थिति थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?