पाँचको परिधि र प्रकृतिक प्रकोप

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की
सनातनमा पञ्चमहाभूत या पञ्चतत्व भनेर पाँच कुरालाई पाँच तत्व मानिन्छ । प्रकृति भनेको नै यही पाँच तत्व हो र सम्पूर्ण श्रृष्टि यसैको आधारमा भएको छ । यो मान्यता करिब-करिब सबै प्रकृतिपूजक परम्पराको हो । रासायनिक विज्ञानमा गरिएको तत्वको परिभाषा अनुसार भने यो तत्व होइन । किनभने रासायनिक विज्ञानमा मानिने हरेक तत्वको परमाणु अलगअलग गुणधर्मको हुन्छ । तर ती पनि न्युट्रन र प्रोटोनको विभिन्न समुच्चयलाई त्यति नै संख्याको इलेक्ट्रोनले परिक्रमा गरिएको तत्वको परमाणु हुन्छ । त्यसैले पञ्चतत्वलाई अलौकिक तत्व भनेर बुझ्दा भयो ।

यिनै पाँच तत्व वा कारकले प्रकृतिको निर्माण गरेको हुन्छ । पहिलो आकाश त्यसको रूप अन्तरिक्ष, दोस्रो पृथ्वी त्यसको रूप जमिन तेस्रो अग्नि वा तेज त्यसको रूप सूर्य, चौथो वायु त्यसको रूप हावा अनि पाँचौ जल त्यसको रूप पानी । यी कारकहरूको सौम्य प्रस्तुति आनन्ददायी अनि रौद्र प्रस्तुति प्राकृतिक प्रकोपका अनेक रूपहरू । अर्थात जवजव हालत प्रकृतिको अँगालो सरहको पाँचको परिधिभन्दा बाहिर जान्छ प्रकृतिक ताण्डव सुरु हुन्छ ।

प्रकृतिको पुरानो मेटेर नयाँ सिर्जना गर्ने चक्र त्यो ताण्डव हो । माक्र्सवादी दार्शनिकहरूले द्वन्द्वात्मक भौतिकवाद भन्ने गरेको दर्शन यसको धेरै नै सूक्ष्मरूप हो । सनातनमा श्रृष्टि, स्थिति, संहार भनेर अनादिकालदेखि नै यो दर्शनको अस्तित्व छ । केवल सनातनमा मात्र होइन हरेक धर्ममा, हरेक मतमा श्रृष्टि, स्थिति र संहारको चक्रको अवधारणा रहेको छ । इस्लाम मतालम्वीहरूको ‘कयामत’, इसाईको ‘जजमेन्ट डे’ यसै चक्रको भाग हुन् अर्को सुरु हुनुभन्दा पहिलेको चक्रको समापन भाग । यसलाई द्वन्द्वात्मक भौतिकवादको उदाहरणमा बिउ समाप्त हुने चरण मान्न सकिन्छ । त्यसपछि बिउबाट निस्केको नयाँ बिरुवाले नयाँ चक्र सुरु गर्दछ । भन्न खोजिएको के हो भने प्रकृतिले आफ्नो योग्य छान्ने क्रममा प्रकोप पैदा गर्ने गर्दछ ।

विज्ञान र प्रविधिको घमण्डमा मान्छे प्रकृतिलाई जितेको अनुभव गर्दछ । नक्कली विकासको घमण्डमा हरेक प्राकृतिक संसाधनलाई आफ्नो नाफा घाटामा हेर्न थाल्छ । त्यस बेला प्रकृतिको नियमित चक्र अन्तर्गतको अलि कडा रूप पनि प्रलयमा बदलिन्छ, रौद्ररूप लाग्छ । नत्र भने सामन्यतया वर्षाको, हावाहुरीको, बाढी परिहरोको एक निश्चित चक्र हुने गर्दछ । हरेक प्राकृतिक घटनाहरूको आफ्नो अलग अलग समयचक्र हुने गर्दछ । केही दशक कतै पहिरो गएन भने त्यहाँ पहिरो रोक्न प्रकृतिले गरेको उपायलाई मान्छेले आफूलाई घाटा देख्न थाल्छ, अनि त्यो उपाय भत्काउँछ । केही वर्ष कुनै खोलामा बाढी नदेख्ने बित्तिकै त्यो खोलाको चौडा बगर त्यत्तिकै खेर गएको लाग्छ । अनि सुरु हुन्छ त्यो बगरमा बस्ती बसाउने विकास (?) ।

वर्षाको पानी पहाडमा रोकेर पूरै वर्ष जरुवा वा मूलको पानी दिने संरचना सिम मान्छेलाई फोहर लाग्न थाल्छ । प्रकृतिले भूमिजल निषेचनको निमित्त बनाएका ताल, जब्दी, होचा भूतलहरू पुरेर समतल बनाउन विकास लाग्छ । त्यो अवस्थामा पहिले पहिलेको सामान्य बर्साद पनि बस्ती शहर डुबाउने बर्सादको रूपमा बदलिन्छन् । अनि कुनैपनि प्रकृतिक प्रकोपले दिने कष्ट वास्तविकभन्दा कैयौं गुणा कष्टकर हुन्छन्, ज्यान धनको ठूलो क्षति हुन पुग्छ ।

यो अवस्था विगतका केही वर्षदेखि लगातार देखिँदैछ । खोला वा नदिको बांगोटिंगो बगाइले त्यसको धार या बगाइको गति कम गर्ने गर्दछ । जति धेरै घुमेर जान्छ त्यति नै धेरै पानी त्यहाँबाट भूमिगत जलभण्डार फेरि भर्न पुग्छ । तर, प्रकृतिलाई बुझ्न नखोज्ने पहुँचवालाहरू त्यो घुमेको खोला सिधा बनाएमा उकास हुने जमिनमा मानव बस्ती बसाउन पाउने सम्भावना देख्छन् ।

पाँचको परिधिको सम्मान गर्दैमा वा प्रकृतिलाई जित्ने मुर्खतापूर्ण प्रयत्न नगर्दैमा प्रकृतिको यो चक्र रोकिने होइन भने होइन । भुइँचालो आउने नै छ, आँधीबेहरी पनि रोकिने छैन, बाढी पहिरो पनि आउने नै छ । विसंको २० को दशकमा अरुणमा पहिरो खसेर करिब आधा महिना पानी थुनिएको थियो । करिब ४, ५ सय फुटमाथि पानी आएको थियो । त्यो पहिरोले थुनेको माटो एकाएक बग्यो । त्यो अचानक आएको अत्याधिक पानीको धारले वर्तमानमा कति क्षति गर्न सक्छ त्यो अकल्पनीय छ । त्यसबेला पनि क्षति त भयो नै, केही घर बगे त्योसँगै ज्यानघनको पनि क्षति भयो । यदि वर्तमानमा त्यही घटना दोहोरिएको अवस्थामा चतरा के होला ? त्यहाँदेखि कोसी ब्यारेजसम्म कुन अवस्था होला ।

प्रकृतिले आफ्नो प्रकोपको हानी कम गर्न रचना गरेका संरचना संसाधनहरूमा मानव अतिक्रमण हुँदा हानी त मानवलाई नै हुने हो । मानवको यो अपराधको दण्ड पाउने मानवमात्र हुँदैन । प्रकृति तथा पाँचको परिधी डाइनासोरको युगमा पनि थियो । वर्तमानमा डायनसोर छैनन तर प्रकृति छ पञ्चमहाभूत पनि छन् । केही वर्षको अन्तरालमा खोला नदी आफ्नो भोगचलनको हकदावी गर्न आउँछन् । कहिले पश्चिम नेपाल, कहिले पूर्व नेपाल खोला नदीले आफूमाथि भएको अतिक्रमणको विरोध गरेका छन् ।

ज्ञात भएको समयखण्डमा ७६ सालमा काठमाडौंमा पनि खोला नदीहरूले आफ्नो हकदावी गरेको छन् । बाँकी नेपालले भोग्ने गरेको बाढीको कष्ट काठमाडांैले पनि भोग्नु परेको छ । मुलुकको कुनै पनि भागमा हुने यस्ता घटनाहरू अत्यन्त दुःखदायी हुन्छन् । काठमाडौंले भोग्दा पनि, दार्चुलाले भोग्दा पनि उत्तिकै दुःखदायी हो ।

प्रकृतिक प्रकोप नियन्त्रण मान्छेको हातमा हुँदैन तर त्यसको असर कम गर्ने वा बढाउने त मान्छेकै कामले गर्ने गर्दछ । प्रकृतिमा बेकार कुनै चिज हुन्न । मान्छे प्रकृतिको प्रतिद्वन्द्वी हुनै सक्दैन । किनभने मान्छे प्रकृतिको हिस्सा हो प्रकृतिभन्दा फरक होइन । त्यसैले विगतका केही वर्षदेखि लगातार भोग्नु परेको प्रकृतिको झापडलाई पुनरावलोकन गर्नै पर्ने चेतावनीको रूपमा लिइनु पर्दछ । दशक पनि होइन केही वर्षमै विकासको भ्रममा कति तहसनहस गरिसकियो त्यो हेरे पुग्छ । पर्यावरण, वातावरण आदि प्रकृतिको मानवप्रतिको अनुकूलता नाप्ने साधन हुन्, मापदण्ड हुन् । तर, तिनीहरूले लगातार नकारात्मक संकेत देखाउँदा पनि घमण्ड देखाएर नमान्ने मुर्खता किन भइरहेको छ ?
इटहरी जस्ता पहाडको फेदका स्थानमा बाक्लै पाइने आर्टिजन कुवा (जमिनबाट आफैँ पानी निस्कने, कुनै कुनै अवस्थामा त फोहरा झैँ) सुक्ने कारण के हुन् ? तराईका फाँटमा जमिनमुनिको पानीको स्तर तल झर्दै जाने कारण के हुन् ? कंक्रिटको जंगल बनाउन जथाभावी खोलाबाट निकालिने गिटी बालुवाले के विपत्ति ल्याउँन सक्छन् ? जस्ता कुराहरू अब चिन्तनमनन गर्न ढिलो गरिनु हुँदैन ।

बगर मिचेर विकास गरिएको स्थानमा घडेरी किन्नु भनेको अकाल मृत्यु नभए पनि जीवनभरको कमाइ गुमाउनु पक्का हो भन्ने सोचिनुपर्दछ । पीडितहरूको पीडामा सहानुभूति हुनै पर्दछ र छ पनि । तर अब खोला नदी आदिलाई अतिक्रमण गरेर उकास गरेको घडेरी त्यो पनि आफ्नो जीवनभरको कमाइ खर्च गरेर थप निश्चित पीडा किन्न जानेक्रम रोकिनुपर्दछ ।

भूमाफियालाई गाली गर्नुभन्दा ती भूमाफियाले गरेका अतिक्रमणलाई त्यसका ग्राहक भएर साथ दिनेलाई भन्नु ज्यादा उचित हुन्छ । यदि तिनका अतिक्रमित घडेरी बिक्री नै भएनन् भने अतिक्रमण पनि बन्द हुन्छ । आफू शक्तिशाली भएको घमण्डमा प्रकृतिमाथि गरिएका सबै अतिक्रमण अब बन्द हुनुपर्दछ ।

प्रकृतिको सामुन्ने कसरी निरिह हुनुपर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको छ । विगतका केही वर्षदेखि प्रकृतिले मानव निर्मित हरेक स्थानमा आफ्नो प्रचण्डता देखाइरहेको छ । मानव निर्मितमा मात्र होइन सबैतिर यो प्रचण्डताको प्रहार भएको छ । तर, कुनै पनि सबै नै प्रकृतिको सामुन्ने निरिह देखिए । बरू जहाँ मानवको प्रविधि र प्रगति पुगेको छैन त्यहाँ भने यो निरिहता छैन । किनभने त्यहाँ प्रकृतिले आफैँ निर्माण गरेको प्रगति छ ।

त्यसैले हरेक विकास, प्रगति पाँचको परिधिभित्र गरिनु आवश्यक छ । प्रविधिले आफूलाई पाँचको परिधिभित्र ल्याउनु आवश्यक छ । यसका निमित्त धेरै कुराको आवश्यकता छैन । मात्र केही कुराको अस्तित्व स्विकार गर्नु हो, केही सोच अपनाउनु हो । तीमध्ये केही उल्लेख गरिएको छ । १. प्रकृतिमा बेकार केही हुँदैन भन्ने बोध गर्नुपर्छ । २. हरेक वस्तु उपभोग्य हो, उपभोक्ता फरक हुन्छन् । एउटाको फोहोरको डंगुर अर्को प्राणीको निवास हुन्छ । ३. एउटाको उत्सर्जन अर्काको भोजन बन्छ । ४. प्रकृतिसँग आवश्यकता अनुसारमात्र लिनुपर्दछ । ५. ज्यादा भएको वस्तु प्रकृतिलाई नै फिर्ता गर्नुपर्दछ । आकाश, पृथ्वी, अग्नि, वायु र जल अर्थात् पाँचको परिधिभित्र मात्र सृष्टिको अस्तित्व सम्भव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?