श्रीलंकाको कुल जनसंख्याको कम्तीमा २६ प्रतिशतलाई मानवीय सहायता आवश्यक : राष्ट्रसंघ

Read Time = 3 mins

कोलम्बो । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)ले श्रीलंकामा जारी आर्थिक संकटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलंकावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलंकाको कुल जनसंख्याको २६ प्रतिशत हो ।

ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रणाली, सेवा र सुविधाको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो संख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ ।’ ‘आर्थिक संकटका कारण खाद्य सुरक्षा र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ भने अस्पतालको प्रसूति सेवा, यौन तथा प्रजनन् स्वास्थ्य सेवालगायत शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाको पहुँच र उपलब्धतामा बाधा पुगेको छ’, विज्ञप्तिमा भनिएको छ ।

जैविक खेतीमा असफल कृषि अभ्यासले ल्याएको घरेलु कृषि उत्पादनमा आएको गम्भीर गिरावटले संकटलाई गहिरो बनाएको ओसिएचएले जनाएको छ ।

श्रीलंकामा खाद्यान्न, इन्धन, खाना पकाउने ग्यास, औषधि र अन्य आवश्यक वस्तुहरूको गम्भीर अभावको साथ समष्टिगत आर्थिक संकटले जटिल मानवीय आपत्कालीन स्थिति ल्याएको र लाखौं मानिसहरूले बढ्दो रूपमा कष्ट भोगिरहेका छन् । सर्वेक्षणमा सहभागी ९६ प्रतिशत घरधुरी हालको संकटका प्रभावित भएका छन् र घरेलु स्तरमा मुख्य प्राथमिकताका तीन आवश्यकता खाद्यान्न, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित रहेका देखिएको छ ।

विदेशी मुद्राको अभावको सामना गरिरहेको, अत्यावश्यक आपूर्ति र खाद्य वस्तुहरूको समेत अभाव भएकोले श्रीलंकाले आफ्नो देशको इतिहासमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?