राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजश्व संकलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार राजश्व संकलन गरेको छ । खास गरि ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । वि.सं. २०४४ सालमा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकको लागि उत्कृष्ट गन्तव्य मानिदै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन करोड ४८ लाख मात्रै राजश्व संकलन भएकोमा यो आर्थिक वर्षको अन्त्यमा दोब्बर संकलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई सिजन सिकारका लागि खुला गरिन्छ । पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख) हो । यस वर्ष दुई सिजनमा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आर्थिक वर्षमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख राजश्व संकलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट नौ लाख चार हजार र हेलिकोप्टर अवतरण गराए बापत ५७ हजार राजश्व संकलन भएको उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यासमेत बढेको छ । अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकोमा यस वर्ष ९ हजार ४ सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिनुभयो । वन्यजन्तुको सिकार भने पोहोर र यस वर्ष ३०/३० वटानै भएका उहाँको भनाइ छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाको आधारमा सिकारीको टेण्डर खुलाउने खुलाउने र टेण्डर पर्ने सिकार ढोरपाटन आउने गर्छन् । आर्थिक वर्ष २०७८/०७९ मा भने नौ हजार नौँ सय १९ पर्यटक भित्रिएकोमा एक करोड ७५ लाख ७७ हजार मात्रै संकलन भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ३७ लाख र आर्थिक वर्ष २०७७/०७८ मा २० लाख मात्रै संकलन भएको थियो । पछिल्लो दुई वर्ष राजश्व संकलनको दर बढ्दै गएको संरक्षण अधिकृत कँडेल बताउनुहुन्छ ।

कँडेलले भन्नुभयो - “पछिल्लो दुई वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, यहाँ सिकार खेल्नका लागि धेरै जसो विदेशी नागरिकनै आउने गर्छन्, यहाँ आउनेले मन लाग्दी रुपमा सिकार गर्न पाइँदैन, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटा निर्धाण गरेर बोलपत्र आह्वान गरेको हुन्छ, सोही अनुसार जसलाई टेण्डर पर्छ उही कम्पनीमार्फत सिकार आएर सिकार गर्ने हो ।”

ढोरपाटनका होटल व्यवसायी गंगाबहादुर भण्डारीले विदेशी पर्यटक हेलिकप्टरमार्फत आए पनि आन्तरिक पर्यटक गाडीमै आउने बताउनुभयो । सडकको दुरावस्थाका कारण पनि धेरै पर्यटक चाहेर पनि ढोरपाटन आउन नसकेको भन्दै राज्यले यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो । सडक राम्रो भए सिकार आरक्ष कार्यालय धेरै राजश्व संकलन गर्नुका साथै यहाँका धेरै नागरिक व्यापार व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?