प्रशिक्षक खेलाडी विवाद : एन्फाद्वारा छानबिन समिति गठन

Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीनसदस्यीय छानबिन समिति गठन गरेको छ ।

आइतबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले नेपाली सेनाका अवकासप्राप्त सहायक रथी भिक्टर राणा, पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य रहेको तीनसदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको छानबिन र आवश्यक सिफारिस गर्ने अधिकार दिइएको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै १० जना खेलाडीहरूले जारी एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो ।

कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो ।

रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीहरूलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका हुन् । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताइरीसँग खेल्न नसकिने बताएका थिए ।

खेलाडीहरूले पत्रकार सम्मेलनसँगै प्रशिक्षकमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग राखेका छन् । खेलाडीहरूले अलमुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बाहिर आएको जनाएका छन् ।

त्यसबारे आफ्नो धारणा राख्दै प्रशिक्षक अलमुताइरीले एन्फालाई पत्रसमेत बुझाउनुभएको थियो । अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरूलाई माफी दिएको र एन्फालाई कुनै कारबाही नगर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले आफू राष्ट्रिय टोलीबाट निरन्तर प्रशिक्षण गर्न चाहेको भन्दै राष्ट्रिय टोलीको अभिभावकका नाताले खेलाडीहरूको तातो रगतबारे जानकारी रहेको बताउनुभएको छ ।

आफूले सदैव नेपाली टोलीको भलो चाहेको बताउँदै पत्रमा अलमुताइरीले खेलाडीहरूले पत्रकार सम्मेलनमार्फत् आफूमाथि सार्वजनिक रुपमा आरोप लगाउँदा चित्त दुखेको उल्लेख गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसैअनुरूप एसियन कप छनोटका लागि भने बन्द प्रशिक्षण छाडेर जाने खेलाडीहरूलाई नसमेट्ने स्पष्ट पार्नुभएको थियो । उहाँले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवार आफू हुने पत्रमार्फत् जनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?