तलकोट १ सुनिकोट बझाङका गणेश ऐडी २४ वर्षदेखि अल्लोको व्यापारमा हुनुहुन्छ । ललितपुरको चाकुपाटबाट उहाँले सुरुवात गर्नुभएको व्यापार अहिले फैलिँदैछ । हाल उहाँले सञ्चालन गर्नुभएको बूढानीलकण्ठस्थित फरेस्ट्री हेम्प व्याग उद्योगले ४६ जनालाई रोजगारी प्रदान गरेको छ । राष्ट्रिय अल्लो व्यवसायी संघ, काठमाडौंका उपाध्यक्षसमेत रहनुभएका गणेश अल्लो खेतीलाई प्रवद्र्धन गर्न र व्यापार विस्तार गर्न सधैं समर्पित रहनुभयो । २०७७ को अन्तिमतिर २ सय २८ स-साना उद्योगीहरू जम्मा भएर उद्योगी ग्रुप पब्लिक लिमिटेड दर्ता गर्न उहाँको ठूलो भूमिका छ । यस कम्पनीले कृषि र अल्लोको क्षेत्रमा काम गर्दै आएको छ । हिमालय टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको केही अंश :-
अल्लो व्यवसायमा तपाईं कसरी लाग्नुभयो ? यसपछाडिको संघर्षको कथा बताइदिनुस् न ?
बझाङबाट हाजिरीजवाफमा भाग लिन ०५४ सालमा म काठमाडौं आइपुगें । त्यो बेला मैले अल्लोका लुगा लगाएर आएको थिएँ । ०५५ सालमा म दोस्रो चोटी काठमाडौं प्रवेश फर्कें । त्यो बेला अल्लोका दुईवटा रोल बोकेर आएको थिएँ । हनुमानढोकातिर हिंडिरहँदा एकजना खैरेले अल्लोको १ सय डलर दियो । त्यो डलर साट्दा मलाई ६ हजार रुपैयाँ पाएँ । पछि मैले ०५७ मा ललितपुरको चाकुपाटमा साधारण टहरा लिएर उद्योग खोलेँ । गाउँबाट धागो ल्याउने यहाँ लुगा बनाएर बेच्ने काम सुरु गरेँ । पहिला मेरो घरायसी व्यापार थियो । व्यावसायिक रूपमा बजार विस्तार भइसकेको छ । अहिले त आफ्नै कम्पनीले ठूलो आकार लिइसकेको छ ।
तपाईं आफैंले अल्लोको व्यवसाय थाल्नु भएको छ । तपाईंको कम्पनीको व्यापार कस्तो छ ?
म सन्तुष्ट छु । मेरो कम्पनीले मात्रै वार्षिक दुई करोड रुपैयाँ कारोबार गरिरहेको छ । ४६ जनालाई रोजगारी दिलाएको छु । एनएमबि बैंकले विना धितो ऋण प्रदान गरेर सहयोग पुर्याएको छ ।
नेपालमा अल्लोको उत्पादन कुन परिमाणमा भइरहेको छ ? यसको बजार र माग कस्तो छ ?
हाल नेपालमा ८३ लाख किलो अल्लो उत्पादन भइरहेको छ । विशेषगरी बझाङ, बाजुरा, संखुवासभा, रोल्पा, रुकुम र दार्चुलामा अल्लो उत्पादन हुन्छ । हामी व्यवसायीले एक, डेढ लाख केजीमात्र किनेका छौं । उत्पादन भएजति बजारमा सबै खपत गर्न सकिएको छैन । यसमा विविध खालका कठिनाइ छन् । आर्थिक, प्राविधिकलगायत थुप्रै खालका कठिनाइले गर्दा अल्लो उत्पादन भएको ठाउँबाट राजधानीसम्म ल्याउन सकिएको छैन ।
नेपालमा सीमित जिल्लामा अल्लो उत्पादन हुन्छ । यसको भविष्य कस्तो छ ?
नेपालमा उत्पादन हुने अल्लो ९० प्रतिशत विदेश निर्यात् हुन्छ । अमेरिका, बेलायत, जर्मन, फ्रान्स, जापान, दक्षिण कोरिया र युरोपियनलगायत विश्वका ७० वटा देशमा निर्यात भइरहेको छ । यि मुलुकहरूबाट अल्लोको माग एकदम आइरहेको छ । गुणस्तरीय उत्पादन बढाउने हो भने माग धान्न गाह्रो छ । हाल नेपालले वर्षमा दुई अर्ब रुपैयाँबराबरको अल्लो विदेश निर्यात गर्छ । सरकारले हामीलाई सहुलियत दिने हो भने अझ ठूलो रकम भित्र्याउन सकिन्छ ।
यस्तै नेपालमा अल्लोमा आधारित ३ सय ७८ वटा उद्योग सञ्चालनमा आएका छन् । १ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा यो खेती भइरहेको छ । यसमा २ हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । एक लाख ५० हजारभन्दा बढी यसमा आश्रित छन् ।
अल्लोबाट के-के सामग्री बन्छन ? मूल्य कति छ ?
अल्लोबाट झोला, वालेट, जुत्ता, फेसनका आइटमहरू, ज्याकेट, कोट, सर्ट, बेड सिट, पर्दा, सोफा कभर, चप्पल, मोजा, स्वीटर, टोपी, मनि ब्याग उत्पादन भइरहेको छ । बजारबाट प्रतिक्रिया पनि राम्रो आइरहेको छ । हामीले माग अनुसार दिनसकेका छैनौं ।
अल्लोबाट बनेका सामग्रीको मूल्यको कुरा गर्दा पर्दा ४ सयदेखि ७ सय रुपैयाँ पर्छ । जुत्ता १ हजार ५ सय, कोट ५ हजार २ सय रुपैयाँ, जिन्स पाइन्ट एक हजार ६ सय रुपैयाँ, झोला ७ सय ५० रुपैयाँ पर्छ । धेरै महँगो छैन ।
सरकारले अल्लो व्यवसायलाई प्रवद्र्धन कस्तो सहयोग पुर्याइरहेको छ ?
सरकारबाट हामीले त्यस्तो कुनै सहयोग पाएका छैनौं । बरू केही सहुलियतको अपेक्षा गरेका छौं । राज्यबाट हामीले मुख्य गरी चारवटा माग गरेका छौं । अल्लो उत्पादन दुर्गम क्षेत्रमा हुन भएकाले यसको ढुवानी रकम बढी हुन्छ । ढुवानीमा अनुदान दिनुपर्छ । राज्यले अल्लो व्यवसायीलाई आवश्यक औजार दिनुपर्छ । अल्लोको धागोमा सरकारले भ्याट लगाएको छ । त्यो फिर्ता हुनुपर्छ । र, विना धितो हामी अल्लो व्यवसायीलाई लोन प्रवाह गर्नुपर्यो ।
अल्लो व्यवसायलाई फैलाउन र यसको विस्तार गर्न के-कस्तो पहल गर्नुभयो ?
उद्योगी ग्रुप पब्लिक लिमिटेडमार्फत ४० हजार केजी अल्लो उत्पादन गर्यौं । त्यति नै अनुपातमा बिक्री पनि ग¥यौं । नेपाली बजारमा नेपाली उत्पादनले स्थान पाउनु राम्रो कुरा हो । हामीले नेपालमै बढी मात्रामा उत्पादन गर्न खोजिरहेका छौं । उद्योगी ग्रुप पब्लिक लिमिटेडको संरक्षक राष्ट्रिय अल्लो उद्यमी संघ छ । २०६७ मा चौधजना व्यवसायी भेला भएर राष्ट्रिय अल्लो उद्यमी संघ गठन गर्यौं । जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको छ ।
Very good