रेसुंगावासीको शिर झुक्न दिने छैन

Read Time = 5 mins

खिलध्वज पन्थी, प्रमुख पदका उम्मेदवार, रेसुंगा नगरपालिका

रमेश विश्वकर्मा/गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थीले स्थानीय तहको निर्वाचनमा विजयी भए रेसुंगावासीको शिर नझुक्ने गरी विकास गर्ने बताउनुभएको छ । आफूलाई रेसुंगावासीले विजयी बनाएमा रेसुंगावासीको शिर नझुक्ने गरी विकास गर्ने नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार पन्थीले बताउनुभएको हो ।

नेपाली कांग्रेस गुल्मीका सभापतिसमेत रहनुभएका पन्थीले आफूले सार्वजनिक गरेको संकल्प पत्रमा उल्लेखित प्रतिबद्धता पूर्णरूपमा पालना गर्ने बताउनुभयो । ‘मलाई विजयी बनाउनुहोस्, रेसुंगावासीको शिर झुक्न दिने छैन । पाँच वर्षमा कुनै दिन पछुतो मान्ने दिन आउने छैन ।’ उहाँले भन्नुभयो, ‘सर्वसाधारणको आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै दिगो विकासका कार्यक्रमहरू अगाडि बढाउनेछु ।’ पन्थीले आफ्नो पाँच वर्षे कार्यकालमा रेसुंगा नगरलाई विकास निर्माणमा अब्बल बनाउने बताउनुभयो ।

पन्थी अहिले घर–घरमा मतदातालाई भेट्न निकै व्यस्त हुनुहुन्छ । जनताका साना-साना समस्यादेखि गौरव गर्नलायक विकासका एजेण्डा संकल्प पत्रमा समावेश गर्नुभएका पन्थी रेसुंगा नगरपालिकालाई इन्द्रेणीको सात रंगजस्तै गरी चम्काउने सपना र योजनासहित जनतामाझ पुग्नुभएको छ ।

पन्थी भन्नुहुन्छ, ‘रेसुंगा नगरपालिकामा न्याय, सुशासन र विकासको अनुभूति गराउनेछौँ । कहि–कतै पनि रेसुंगाबासीको शिर झुक्न दिने छैन् । ठाडो शिर बनाएर हाम्रो रेसुंगा नगर भन्न गौरव गर्न लायक बनाउनेछौँ ।’ सत्ताबाहिर रहेर पनि जिल्लामा ठूल्ठूला विकासका योजना भिर्याउन सफल पन्थी सुन्दर, शान्त, समृद्ध र समुन्नत रेसुंगा नगरपालिका निर्माणका लागि मिहिन सोचका साथ अगाडि बढ्ने उहाँको भनाइ छ ।

हालै सार्वजनिक गरेको संकल्प पत्रमा जनताले अत्यन्त अपेक्षा गरेका र अति-आवश्यक कुराहरूले प्राथमिकता पाएका छन् । बितेको पाँच वर्षमा बसाइँसराइबाट प्रताडित रेसुंगा नगरपालिकालाई विकास र अवसरको सिर्जना गरी बसाइँसराइलाई रोक्ने प्रमुख ध्येय रहेको बताउनुभयो । ‘शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई फर्काउनेछौँ, रेसुंगा नगर छोडेर बसाइँसराइको जमर्को गरेका नगरवासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गरेर यही अडाउनेछौँ ।’ उहाँ भन्नुहुन्छ, ‘ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्ने संकल्पका साथ चुनावी मैदानमा होमिएको हुँ ।’

पन्थी गरिब, विपन्न, असहाय, दलित परिवारका दुःखमा साहारा बन्दै आउनुभएको छ । विजयी भए उनीहरूको आर्थिक, सामाजिक रूपान्तरणका लागि दिगोमुखी कार्यक्रम बनाएर समस्याहरूको समाधान गर्ने उहाँ दाबी गर्नुहुन्छ । आफ्ना कार्यक्रममार्फत सम्मुनत रेसुंगा नगरपालिका निर्माणको योजनाका साथ अघि बढ्नुभएका पन्थी, सम्मुनत नगरपालिकाभित्र सुन्दर र सुखी परिवारको पनि कल्पना गर्नुहुन्छ ।

‘सुन्दर र सम्मुनत नगरपालिकाभित्र सुखी र खुसी परिवारको बसोबास हुनेछ । उनीहरूका लागि आवश्यक आधारभूत सुविधाको ग्यारेन्टी गर्नेछौँ ।’ उहाँले भन्नुभयो, ‘संकल्प पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाइ तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र संकल्पित सपनाहरूलाई पूरा गरेरै छाड्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?