काठमाडौंमा पूर्वाधारको विकास हुनु धेरै जरुरी छ: सुनिता डंगोल (एमाले उपमेयर उम्मेदवार )

Read Time = 15 mins

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ ।
महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिनुअघि उहाँले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा दाबेदारी प्रश्तुत गर्नुभएको थियो । त्यसले पनि उनको चर्चा चुलिएको थियो । पछि एकाएक एमालेबाट टिकट पाउनुले उहाँको चर्चा झनै बढ्यो । त्यसो भनिरहँदा राजनीतिमा आउनुपूर्व पनि उहाँ चर्चामा नै हुनुहुन्थ्यो । मिस नेवा २०११ की विजेता भएर पनि उहाँले चर्चा बटुल्नु भएको थियो । साथै सञ्चारकर्मबाट पनि उहाँले आफ्नो चर्चा कमाउनु भएको छ । उहाँको परिचय यतिमा मात्रै सिमित छैन । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन लागि पर्नु भएको युवा हुनु हो । उहाँले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम गर्दै आउनु भएको छ ।

उहाँको चर्चा अहिले फेरि बढेको छ । उहाँ नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार हुनु हो । अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उहाँलाई धेरैले चासोसँग हेरेका छन् ।

नेकपा एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्युनिकेशन मिलाउने कुरामा चुनौति छ । त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ । डंगोल आफैँ पनि आफ्नो पक्षमा स्पष्ट जितका लासिग चाहिने भोट आउनेमा विश्वस्त हुनु हुन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले घरदैलो कार्यक्रमहरु भइरहेको छ । काठमाडौंको जुनकुनै ठाउँमा गएपनि राम्रो रेस्पोन्सहरु आइरहेको छ ।’

काठमाडौं महानगरवासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक हीतका कुराहरुलाई बचाउने छन् भन्ने उहाँको विश्वास छ । उहाँले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताउनु भयो । काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उहाँको बुझाइ छ । काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरुमा अडिएकोले यसलाई संरक्षण गर्न सकेमात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने बताउनु भयो । उहाँले काठमाडौंलाई अन्य शहरसँग तुलना गर्न जरुरी नरहेको भन्दै साँच्चीकै कान्तीपुर नगरी बनाउन काठमाडौंलाई पुननिर्माण गरेर यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
बहाःबहीःको संरक्षणका लागि अब संवद्र्धन समिति बनाइनु पर्ने बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकाभित्र ४ वटा विश्व सम्पदा सूचिमा सूचिकृत भएका स्थानहरु रहेको र त्यो बाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्नुपर्ने बताउनु भयो । कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवद्र्धन हुने बताउनु भयो ।

उपमेयरकी दाबेदार डंगोलले आफू महानगरपालिकाको उपमेयर बनेपछि महानगरीय संग्रहालय बनाउने र त्यसमा काठमाडौंका मौलिकता झल्किने कुराहरुलाई राख्ने बताउनु भयो । उहाँले यहाँको भाषा, रितिरिवाज, संस्कृति, भेषभुषालगायतका काठमाडौंका मौलिकता झल्किने कुराहरु संग्रहालयमा राख्दा काठमाडौंको बारेमा बुझ्न चाहनेका लागि सहज हुने बताउनु भयो । उहाँले उपमेयर बनेपछि यहाँको स्थानीय भाषालाई जोड दिने पनि बताउनु भयो । यी सबै काम गर्नका लागि भावनासँगै नीति, नियम र योजनाको खाँचो रहेको र त्यसलाई स्थानीय सरकारको रुपमा महानगरले गर्न सक्ने स्पष्ट पार्नुभयो ।

उपमेयरकी प्रत्यासी डंगोलले भन्नुभयो, ‘त्यतिमात्रै नभइ महानगरभित्र नै एउटा महानगर संग्रहालय बनाउन सक्यौँ । त्यसमा हामीले काठमाडौंसँग जोडिएका इतिहास, किंवदन्तीहरु राख्नुपर्छ र मात्र काठमाडौंलाई नजिकबाट हेर्न सकिन्छ । अहिले पनि राम्रो काम भएको छ । विद्यासुन्दर शाक्यको पालामा एकदमै राम्रो काम भएको भनेको स्कुल स्कुलमा लोकल करिकुलम, लोकल भाषा राख्नुभएको हो । जति धेरै ल्याङ्ग्वेज एण्ड स्क्रिप्ट हुन्छ आफ्नो त्यति नै आफ्नो पहिचान झल्किन्छ म त्यसमा काम गर्न चाहन्छु । इना, ढुंगेधारा, पोखरीहरु मासिँदै गएको छ, यसलाई संरक्षण गर्न जरुरी छ । काठमाडौंलाई रिभाइभ गर्ने हो । पुराना राम्रा कुराहरुलाई फेरि हामीले लाइमलाइफमा ल्याउने हो र काम गर्ने हो भने भावना चाहिन्छ । भावनाले मात्र पनि हुँदैन योजना ल्याउनु पर्छ । यसको लागि स्थानीय सरकारले काम गर्न सक्छ ।’

उहाँले अहिले बाध्यताले नेपाली युवाहरु विदेशीन बाध्य भइरहेको बताउँदै महानरगमा जितेपछि आफूले महानगरभित्र नै उच्च रोजगारीका कार्यक्रहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले पहिलो प्राथमिकतामा आफूले काम गर्ने ठाउँमा योजना बनाउन र कस्तो रणनीतिका साथ शहरको विकास गर्ने भन्ने कुरा युवाहरुको सोचका आधारमा नै हुने दाबी गर्नुभयो । उहाँले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरु मिलेर काम गर्नुपर्ने भन्दै यहाँ रोजगारी सिर्जना गर्न इनोभेशन हब र सेन्टरहरु स्थापना गर्नुपर्ने बताउनु भयो । अहिले धेरै युवाहरुले रुचाएको क्षेत्र आईटी भएकोले त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनु पर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो जितपछि महानगरमा स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीहरुलाई स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्ने बताउनु भयो । यस्ता कामले देशको अर्थतन्त्र र रोजगारी सिर्जना हुने तथा युवा शक्ति विदेश पलायन नहुने उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो, ‘अब काठमाडौं डिजिटल हुनुपर्छ । काठमाडौं डिजिटल भनेको काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक छ । जसमा केएमसी एपको अवधारणा छ । त्यसमा काठमाडौंभित्र गर्ने कामहरु हुन्छन् । त्यो हरेक मोबाइलमा उपलब्ध हुन्छ । त्यसले धेरै कामहरु अनलाइनबाट गर्न सकिन्छ । काम गर्न के प्रोसेस हो त्यो सबै त्यस एपमा हुन्छ । अर्को भनेको हामीले ट्याक्स पनि एपबाट नै तिर्नसक्ने व्यवस्था गर्छौं । अर्को इगभर्मेण्ट्सबाट अहिले भनिरहेको समस्या समाधान हुनसक्छ । यसले सिस्टमलाई एक्चुअल सिस्टममा सेट गर्छ । अर्को धेरै पेपर वर्कहरु हुँदैन । यसले सेवाग्राहीलाई धेरै हदसम्म सजिलो हुन्छ । स्मार्ट सिटी बनाउन जिआइए सिस्टम चाहिन्छ । काठमाडौंमा भएका घरघरका जानकारीलाई डेटा बेसमा ल्याएर कुनैपनि समस्या भए त्यो डेटाले समाधान गर्छ ।’

उपमेयरकी उम्मेदवार डंगोलले आफू उपमेयर भएपछि महिलाहरुको आवश्यक्ताको आवाज बनेर काम गर्ने बताउनु भयो । उहाँले हरेक काममा महिलालाई अघि सारेर समस्या आउनुपूर्व नै हल हुने गरी काम गर्ने बताउनु भयो । उहाँले महिलाहरुलाई रोजगारीमुलक कार्यक्रम, फाइनान्सीयल लिट्रेसी प्रोग्राम, महिलाहरुलाई परेका कुनैपनि समस्या स्थानीय सरकारबाट नै हल गर्ने व्यवस्थाका लागि वुमेन सेल स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले महिलालाई राति हिँड्न समस्या भइरहेकोले अब पूरा काठमाडोंलाई झलमल्ल बनाउने र महिलालाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था गर्ने बताउनु भयो । उहाँले आफू महानगरको प्रतिनिधिमा चुनिएपछि महलिाका लागि काम भएको महशुस दिलाउने तरिकाले काम गर्ने बताउनु भयो ।

उहाँले काठमाडौंवासीलाई सहुलित सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि जानकारी गराउनु भयो । काठमाडौंका स्थानीयहरुलाई सहुलियत कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको बताउनु भयो । उहाँले आफू प्रतिनिधि बनेपछि युवासँगै रहेर काम गर्ने र युवासँगै काठमाडौंको विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले युवाको जोश र जाँगरलाई सही प्रयोग गर्नको लागि म्युजिक, लिट्रेचर आर्ट्समा पनि हामीले प्रमोट गर्ने योजना रहेको बताउनु भयो । उपमेयरकी प्रत्यासी डंगोलले काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रहरु गर्ने, काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउने कुरामा पनि त्यत्तिकै जोड दिने बताउनु भयो । उहाँले सांस्कृतिक कार्यक्रमहरुले पर्यटनलाई पनि टेवा पु¥याउने बताउनु भयो । उहाँले युवाहरुलाई जोडिरहनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने र खेलाडीहरुको उत्पादनमा पनि जोड दिने योजना रहेको बताउनु भयो ।

नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएकी सुनितालाई जित, युवा नेतृत्वलाई वहन गर्ने क्षमताको सदुपयोग र महिला हक अधिकारको लागि लड्ने चुनौति र काम गरेर देखाउने अवसर छ । उहाँलाई युवा पुस्ता र त्यसमाथि पनि महिलाले नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गर्नु महत्वपूर्ण कुरा हुनेछ । जितेपछि उहाँका सामु साथै युवा पुस्ताले गरेका वाचाहरु कार्यान्वयनमा कति आउँछन्, गरेका प्रतिवद्धतालाई पूरा गर्छन् वा पुरानै जनप्रतिनिधिहरु जस्तै बेकाम भएर बस्छन् त्यसको छिनाफानो पनि हुनेछ । पछिल्लो समय राजनीतिक कर्मीहरुले चुनावताका आम नागरिकलाई गरेका प्रतिवद्धता पूरा गर्न नसक्दा आम नागरिकहरुले नेतृत्व वर्गलाई हेर्ने दृष्टिकोण नै फेरिन थालेको छ । नेताहरुको कुरामा अधिकांशले विश्वास गर्न छोडेका छन् । यसलाई चिरेर नयाँ पुस्ताले विकासलाई सार्थक बनाउन सक्छ भन्ने कुराको प्रमाणित गर्नु डंगोलका लागि चुनौतिको विषय हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Padam Bahadur Shrestha’s
Padam Bahadur Shrestha’s
2022-05-10 12:27 pm

सुनिता जी सुन्दर त छदैछिन् उनको विचार पनि सुन्दर नै लाग्यो काठमान्डु महानगरवासीले अवश्यहि जिताउने छन् । तर १४ बर्षको गणतन्त्रको हावा लागेर लुटतन्त्र हुनेहौकि जस्तो लाग्छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?